८ वैशाख २०८१ शनिबार
अर्थ

‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई दाता खोजी’

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले पूर्णक्षमताको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न दातृ निकायको खोजी भइरहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ३९औं महासभाको पूर्वसन्ध्यामा गत सोमबार संगठनको प्रधान कार्यालय मन्ट्रियलमा आयोजित ‘वल्र्ड एभिएसन फोरम’ मा ‘दीगो विकासका लागि नागरिक उड्डयनमा साझेदारी’ विषयक कार्यक्रममा मन्त्री शाहीले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न उपयुक्त खाकासहित दातृ निकायको खोजी भइरहेको बताएका हुन् ।

कार्यक्रममा शाहीलाई वक्ताका रूपमा आमन्त्रित गरिएको थियो । उनले नेपालमा हाल एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेको र त्यसले निरन्तर बढ्दो हवाई ट्राफिकको चाप धान्न नसक्ने भएकाले अन्य विमानस्थल निर्माण गर्न लागिएको जानकारी दिए ।

‘त्यही भएर हामी थप तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने योजना अगाडि बढाइरहेका छौं,’ उनले भने, ‘तीमध्ये मझौला आकारका जेट जहाज सञ्चालन हुन सक्ने दुई विमानस्थलमा दातृ निकायहरूबाट ऋण सहयोग प्राप्त भई निर्माण कार्य भइरहेको भए पनि ठूला जेट जहाज सञ्चालन हुन सक्ने पूर्णक्षमताको विमानस्थलको निर्माण गर्न भने दाता खोजीरहेका छौं ।’

मन्त्री शाहीले भूपरिवेष्ठित राष्ट्रका सन्दर्भमा हवाई यातायातको महत्वबारे बताउँदै नेपालमा पर्यटन विकास र हवाई सेवाको अन्तरसम्बन्धको चर्चा गरेका थिए ।  नेपालमा पर्यटन प्रवद्र्धनका माध्यमबाट दुर्गम पहाडी भेगमा बसोबास गर्नेको सामाजिक तथा आर्थिक उत्थानमा उल्लेख्यनीय योगदान पुग्न सक्ने भएको हुँदा हवाई यातायात क्षेत्रमा आवश्यक पूर्वाधार विकासमा उच्च प्राथमिकता दिइरहेको उनको भनाइ थियो ।

‘अधिकांश दुर्गम पहाडी भूभाग रहेको नेपालका आन्तरिक विमानस्थलमा भौतिक पूर्वाधार विकासको काम अत्यन्तै चुनौतीपूर्ण छ,’ उनले भने, ‘त्यसकारण दुर्गमका विमानस्थलको स्तरवृद्धि गर्ने कामलाई तीव्र गतिमा अगाडि बढाइरहेका छौं ।’

अफ्रिकी मुलुक तान्जानियाका हवाई यातायात मन्त्री, मन्ट्रियलका मेयर, विश्व खाद्य कार्यक्रमका प्रतिनिधिलगायत वक्ता रहेको उक्त कार्यक्रममा उपस्थित सहभागीले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री शाहीले नेपालजस्ता विकासोन्मुख मुलुकलाई हवाई यातायात क्षेत्रमा आवश्यक आर्थिक एवं प्राविधिक सहयोग जुटाउने काममा विकसित मुलुक तथा सम्बृद्ध अन्तर्राष्ट्रिय संघसंगठनले सक्रियताका साथ अगाडि बढ्नुपर्ने बताएका थिए ।

प्रकाशित: १३ आश्विन २०७३ ०३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App