७ वैशाख २०८१ शुक्रबार
समाज

अवरुद्ध बारपाक सडक खुल्यो

डोको र बच्चा बोकेर गन्तव्यतर्फ जाँदै बारपाककी एक महिला। फाइल तस्बिरः नागरिक

गोरखा-गत असारदेखि अवरुद्ध रहेको गोरखा सदरमुकामदेखि बारपाकसम्मको सडक आजदेखि सञ्चालन भएको छ ।

बालुवादेखि बारपाकसम्म करिब १५ किलोमिटर सडक मर्मत गरेपछि बारपाकसम्म साना ट्रक, ट्र्याक्टर तथा जिप सञ्चालन भएका छन् । यद्यपि यात्रुबाहक बस सञ्चालनमा कठिनाइ रहेको छ ।

सडक सञ्चालनमा आएपछि खाद्यान्न र निर्माण सामग्री ढुवानी हुने भन्दै बारपाकवासी खुसी भएका छन् । दसैँको मुखमा सडक सञ्चालनमा ल्याइएको हो । सडक अवरुद्ध हुँदा घरहरु पुनःनिर्माणको काम हुन सकेको छैन । निर्माण सामग्री ढुवानीको कठिनाइले पुनःनिर्माणको कामले गति नलिएको स्थानीयवासी तेजबहादुर घलेको भनाइ छ । बारपाक भूकम्पको केन्द्रविन्दु रहेको ठाउँ हो ।

जिल्लास्थित एघारकिलो-बारपाक सडक कार्यालयले बारपाक सडक मर्मत गरी खुलाएको हो । बारपाकदेखि लाप्राक हुँदै गुम्दासम्मको सडक मर्मतको प्रक्रिया अघि बढेको छ । सडक सञ्चालन भएको भन्दै भूकम्पपीडितले घर पुनःनिर्माणलाई तीव्रता दिने बताएका छन् । यस्तै जिल्लाका ३२ वटा ग्रामीण सडक मर्मतको काम सुरु भएको छ ।

दसैँअघि सबै ग्रामीण सडकमा यात्रुबाहक बस चल्न सक्ने बनाउने स्थानीय विकास अधिकारी नारायण आचार्यले बताए । भच्चेक, पालुङ्टार, आरुघाटलगायत मुख्य व्यापारिक केन्द्र जोड्ने सडक मर्मतको काम अन्तिम चरणमा पुगेको छ । सडक मर्मतका लागि जिविसले आवश्यक बजेट विनियोजन गरिसकेको जनाएको छ ।

सडक कार्यालय र जिविसले ग्रामीण सडक मर्मतमा तीव्रता दिएका हुन् । गोरखादेखि बारपाक, भच्चेक, आरुघाटजस्ता सडक आगामी तीन वर्षभित्रमा कालोपत्रे भइसक्ने भन्दै सडक कार्यालयका प्रमुख प्रेमप्रकाश खत्रीले तीन वर्षमा १५० किमी सडक कालोपत्रे हुने बताए । रासस

प्रकाशित: १३ आश्विन २०७३ ०९:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App