८ वैशाख २०८१ शनिबार
अर्थ

सकसमा सूपका होटल

धनगढी– सात वर्षअघि धनगढीको हसनपुरमा कृष्णबहादुर महराले होटलका लागि ठूलो भवन बनाउन थाल्दा सबैको एउटै प्रश्न हुन्थ्यो, 'यती ठूलो लगानीको होटल यहाँ चल्न सम्भव छ र?' भवन बनाउ दुई वर्ष लाग्यो। डिभोटी होटलका सञ्चालक महरा सम्झन्छन्, 'ठूलो लगानी किन होटलमा भनेर सोध्ने मात्र हुन्थे,' उनले भने, 'पैसा कमाउन मात्र नभई यो ठाउँलाई पनि राम्रो होला भनेर मैले आँट गरेको हुँ।'

होटल सञ्चालनमा ल्याउन त्यतिबेला १० करोड रुपैया लगानी भएको उनी बताउँछन्। अहिले अवस्था फेरिएको छ। धनगढीमा ठूला लगानीका र सुविधासम्पन्न होटल धेरै खुलेका छन्। तारे सुविधाका होटल खुल्ने क्रम तीव्र छ।

धनगढीमात्र होइन सुदूरपश्चिमका विभिन्न ठाउँमा पर्यटकीय स्तरका ठूलठूला होटल सञ्चालनमा छन। तारे होटल ठूला बजारमा मात्र होइनन, राजमार्गस्थित सानासाना बजारमा पनि सञ्चालनमा छन्। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा होटल दिनेशका सञ्चालक गोपाल हमालका अनुसार धनगढीमा विमानस्थल कालोपत्रेपछि होटलमा सुरु भएको लगानी चार अर्ब पुगिसकेको छ। तत्कालीन विद्रोही माओवादी शान्ति प्रक्रियामा आएसँगै स्थानीयको पहलमा विमानस्थल कालोपत्रे गरिएको थियोे। 'विमानस्थल सञ्चालनसँगै होटेलमा लगानी बढेको हो,' उनले भने। त्यस अघिसम्म सुदूरपश्चिमका अधिकाशं कार्यक्रम नेपालगन्ज हुन्थे। राष्ट्रिय स्तरका सभा, सम्मेलन धनगढी हँुदैनथे। होटलमा लगानी बढेसँगै राष्ट्रिय स्तरका कार्यक्रम यहाँ हुन थालेका छन। खाने, बस्ने सुविधा छैन भनेर पहिला यहाँ आउन नचाहाने अहिले आउन थालेका छन।

दशक अघिसम्म सुदुरपश्चिममै खाने र बस्ने राम्रा होटल थिएनन्। पर्यटन व्यवसायी तथा होटल साथीका सञ्चालक सञ्जय चौधरी एक दशक अघि त यहाँ स्तरीय होटल नभएर रात्रिकालीन विश्राम दिने लज मात्र भएको स्मरण गर्छन्। उनका अनुसार एक दशकयता पर्यटक लक्षित स्तरीय होटल खुल्ने क्रम तीव्र छ। 'पछिल्लो दशकमा होटलमा ह्वात्तै लगानी बढेको छ,' उनले भने, 'अहिले सुविधासम्पन्न होटल धैरै छन्।' होटेलमा बढेको लगानी यस क्षेत्रका लागि ठूलो आर्थिक क्रान्ति भएको उनको बुझाइ छ। ठूलो लगानीमा होटल खुल्ने क्रम तीव्र भए पनि आम्दानी भने अपेक्षाकृत हुन नसकेको सञ्चालक बताउँछन्। अपेक्षाकृत पर्यटक तान्न सुदूरपश्चिमले सकिरहेको छैन।

गोराभन्दा भारतीयबाट फाइदा

व्यवसायीले पर्यटकलाई ध्यानमा राखेर होटलमा लगानी गरेका हुन्, गर्दै छन्। सरकारी तथा गैरसरकारी संघसंस्थाका कार्यक्रममा आउने पहुना पनि होटलका ग्राहक हुन्। तर दीर्घकालीन होटल सञ्चालनको मुख्य आधार पर्यटक भएको सञ्चालक बताउँछन्। तर पर्यटक अपेक्षाकृत नआउँदा ठूलो लगानीका होटल सञ्चालक निराश छन्।

दिनेश होटल सञ्चालक हमाल पर्यटक तान्न नसक्दा ठूलो लगानीका होटल संकटमा रहेको बताउँंछन्। 'पर्यटक बढेनन् भने ठूलो लगानीका होटल टिक्न गाह्रो छ,' उनले भने, 'होटल बन्द हुने अवस्था आए त्यसले पछिल्लो १० वर्षसम्म नराम्रो असर पार्छ।'

आन्तरिक भ्रमण वर्षले पनि सुदुरपश्चिमलाई फाइदा नपुग्ने बताउँंछन उनी। उनका अनुसार ठूला होटल टिकाइरहन भारतीय पर्यटक भित्र्याउन प्रयास गरिनुपर्छ। सुदुरपश्चिमवाट आठ/दस घन्टाको सडक दुरीमा भारतका आधादर्जन बढी ठूला सहर भएकाले प्रयास गरे ठूलो संख्यामा भारतीय पर्यटक भित्र्याउन सकिन्छ। राज्यले पनि पर्यटक भित्र्याउन ध्यान दिन नसकेको उनले बताए। 'नाकामा भारतीय पर्यटकलाई बाधा, त्यो हुनु भएन,' उनले भने। कञ्चनपुरका गाविसले कुना छोएको भन्दै भारतीय गाडीबाट मनपरी पैसा लिइरहेकाले पर्यटक बिच्किरहेको उनको भनाइ छ। 'भारतिय एउटै गाडीबाट १६ सय रुपैयाँ लिएको पाइएको छ, अनि कसरी पर्यटक आकर्षित हुन सक्छन्,' उनले भने, 'पर्यटकलाई प्रोत्साहनको सट्टा हतोत्साहित पार्ने काम भएको छ। पर्यटक आएनन् भने ठूला होटेल बन्द गर्नुपर्ने अवस्था छ।'

आकर्षक प्याकेजसहित प्रचारप्रसार गरे लखनऊ, रुद्रपुर, बरेली, डिल्ली, गुडगाउँ, कानपुरलगायत भारतीय सहरबाट सुदुरपश्चिममा पर्यटक आउन सक्छन्। बोर्डर सहजीकरण रसुरक्षा अनुभूति दिलाउन सकेमात्रै पनि भारतीय पर्यटक ओइरिने उनी बताउँछन्। भारतीय गाडी देख्नेबित्तिकै ट्राफिक प्रहरीले सिटी फुक्ने, रिक्सावालाले पनि हेप्ने अवस्था बन्द हुुनुपर्ने हमाल बताउँछन्।

धनगढी आउने भारतीय पर्यटक राति यहाँ बस्दैनन्। उनीहरूलाई बस्ने बतावरण बनाउन सकिएको छैन। सुरक्षानाममा डान्सवारलगायत रात्रीकालीन मनोरञ्जनका व्यवसाय १० बजेभित्रै बन्द गर्न बाध्य पारिँदा पनि उनीहरू बस्ने बतावरण नबनेको हमालको भनाइ छ। तेस्रो मुलुकलाई मात्र पर्यटक मान्ने र भारतीयलाई नमान्ने सोच बदलिनु पर्ने उनले बताए। 'भारतीय पर्यटकसँग मैत्रीपूर्ण व्यवहार हुुनुपर्‍यो,' उनले भने, 'परिवार लिएर यहाँ आउँदा सुरक्षित हुनसक्छु भन्ने महसुस उनीहरूलाई हुुनुपर्‍यो।'

 भारतमा गर्मी छल्न कर्मचारीलाई एक महिना बिदा हुन्छ। त्यसबेला उनीहरू परिवारसहित नेपाल आउन सक्छन्। कैलालीकै खानीडाँंडालगायत पहाडी जिल्ला गर्मी छल्न उपयुक्त छन्। भारतीय पर्यटक हिमाल हेर्न मन पराउँछन्। यहाँका विभिन्न ठाउँबाट थुप्रै हिमाल हेर्न पाइन्छ। 'हिमाल दृष्यावलोकनका लागि विभिन्न ठाउँ छन,' हमालले भने। धनगढी–लखनऊ हवाई सेवा सञ्चालन हुनुपर्ने उनको सुझाव छ।

पर्यटकका लागि लागि विभिन्न प्याकेज सञ्चालनमा छन। पहिलेको तुलनामा केही मात्रामा आन्तरिक पर्यटक बढी आउन थालेको व्यवसायी चौधरी बताउँछन। 'होटलको कुल क्षमताको ५/१० प्रतिशत पर्यटक आउने गरेका छन, ती आन्तरिक पर्यटक हुन्,' चौधरी भन्छन, 'भारतीय र तेस्रो मुलुकका पर्यटकलाई टार्गेट गरेर होटल खोले पनि उनीहरू आएका छैनन्।' आन्तरिक पर्यटकमा भने सुुदुरपश्चिम घुम्नुपर्छ भन्ने भावना विकसित भएको उनी बताउँंछन्। केही गन्तव्य केन्द्रित गरेर भारतीय र विदेशी पर्यटक तान्नु पर्ने उनको भनाइ छ। पर्यटक तान्न बर्दिया, शुक्लाफाँटा र खप्तड त्रिकोणीय जंगल सफारी प्याकेज पस्किन सकिन्छ। धनगढी, महेन्द्रनगरमा पूर्वाधार बने पनि पहाडी गन्तव्यमा अभाव भएकाले त्यसतर्फ काम गर्नुपर्ने उनी बताउँछन्। सरकार र निजी क्षेत्र मिलेर पर्यटक बढाउन प्रयास थाल्नुपर्ने उनको धारणा छ।

साथी होटलमा मिनी क्यासिनो सञ्चालन छ। होटलमा लगानी बढ्नुले सहरको पनि इज्जत बढ्ने र विकास हुने डिभोटी होटलका सञ्चालक महरा बताउँछन। 'ठूला होटल बन्नु पनि सहरको इज्जत बढ्नु र पहिचान हुनु हो,' उनले भने, 'तर ठूलो लगानीका होटल सञ्चालक लगानी उठ्न नसक्दा सन्तुष्ट भने छैनन्। बैंकवाट कर्जा लिएर होटल खोलेकालाई गाह्रो छ। भारतीय पर्यटक भित्र्याउन नसकिए यहाँका होटल चल्दैनन्।'

सरकारले राजधानीबाहिर ठूलो लगानीमा संचालन भएका होटललाई प्रोत्साहन गर्ने नीति ल्याउन नसकेको उनले बताए। राजधानी काठमाडौं र दुरु दराजमा खोलिएका होटलमा समान नीति लागु गर्न नहुने उनको विचार छ। तीन तारेसम्मका होटलमा मिनि क्यासिनो सञ्चालन गर्न दिए भारतीय पर्यटक तान्न सकिने उनी बताउँछन्। 'बोर्डरका सहरमा तीन तारे होटलमा मिनि क्यासिनो खोल्न दिएमा राज्यलाई फाइदा हुने थियो,' उनले भने, 'पर्यटकसँर्ग पैसा भित्रिन्थ्यो।' पर्यटक विभिन्न स्वभावका हुन्छन्। कोही धार्मिक स्थलमा रमाउने, कोही किनमेलमा रमाउने, कोही प्रकृति हेर्न रमाउने, कोही क्यासिनोमा भुल्न रमाउने हुन्छन्। होटल व्यवसायीलाई नै क्यासिनोको लाइसेन्स दिनुपर्ने उनको धारणा छ। 'नागरिकको लगानी संरक्षण गर्नु सरकारको दायित्व पनि हो,' उनले भने, 'सरकारले हचुवा भरमा नीति लागु गरेर अप्ठेयारोमा पारेको छ।' साना सहरमा पर्यटन प्रवर्द्धनका लागि अलग्गै नीति बनाउनुपर्छ। ठूलो लगानीका होटललाई प्रोत्साहन गर्न व्याजमा पनि सहुलियत दिनुपर्ने उनी बताउँछन्। लगानीको सुरक्षा ग्यारेन्टी नभए लगानी आकर्षित हँुदैन। 'होटलमा भएको ठूलो लगानी डुबे यसले यो ठाउँको विकासमा प्रतिकूल असर पार्छ,' उनले। उनले थपे, 'नागरिकलाई विदेश जाऊ, पैसा कमाएर ल्याऊ अनि खर्च गर भन्नेमात्र सरकार बने। विदेशी मुद्रा भित्र्याएर स्वदेशमै पर्यटनलगायत क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्न प्रोत्साहित गर्ने नीति आउन सकेन।'

धनगढीमा डिभोटी, रुवस, साथी, दिनेश, जलसा, मेरो घर ट्याम्पललगायतका ठूला र सुविधा सम्पन्न होटल छन्। सुदूरपश्चिमका ९ वटै जिल्ला सदरमुकाममा पर्यटकीय सुविधासहितका होटल खुलेका छन। '९ जिल्लामै पर्यटकीय स्तरका होटल  खुलेका छन,' पर्यटन व्यवसायी तथा रुवस होटल सञ्चालक प्रकाश भट्ट भन्छन, 'सबै ठाउँमा पर्यटक बस्न सुविधासम्पन्न होटल बनिसकेका छन्।' गोरा पर्यटकले भन्दा पनि भारतीय पर्यटकले पैसा बढी खर्च गर्ने उनको अनुभव छ। 'भारतीय भित्र्याउन सके धेरै फाइदा हुन्छ,' उनले भने।

सकारात्क सोच, थपिँदै लगानी

ठूला होटल पर्यटक नआउदाँ अपेक्षाकृत रुपमा चल्न नसके पनि लगानी क्रम भने बढ्दो छ। डिभोटी होटललाई होटल म्यानजमेन्ट कलेजको समन्वयमा टिचिङ होटलका रुपमा पनि अघि बढाइएको सञ्चालक महरा बताउँंछन्। यसैगरी डिभोटीभित्र कुक, म्यानेजमेन्ट सबै श्रवण शक्ति गुमाएकाले हेर्ने इसारा रेस्टुरेन्ट सञ्चालन गरिने जानकारी उनले दिए। 'ग्राहकलाई थप सुबिधा दिन नयाँ कार्यक्रम ल्याइरहेका छौ,ं' उनले भने। डिभोटी होटलमा तीन तारे होटलसरहको सेवासुविधा छ।

चार वर्षअघि खुलेको रुवस होटलको चार तले अर्को भवन निर्माण भइरहेको छ। १० करोड लगानी थप गर्न लागेको सञ्चालक भट्ट बताउँंछन्। रुवस होटलमा कुल ३० करोड लगानी भएको जानकारी उनले दिए। 'अहिले गाह्रो भए पनि होटलको भविष्य राम्रो छ', उनले भने, 'अर्बभन्दा बढी जनसंख्या भएका भारत र चीनबीच हामी छौं, योभन्दा बढी सम्भावना अरु के हुन सक्छ।' पर्यटक तान्न सके होटल मात्र नभई मुुलुककै श्रीवृद्धि हुने उनले बताए।

पूव–पश्चिम राजमार्गको मसुरियामा तारे होटलस्तरको देवकोटा सदन सञ्चालनमा आएको छ। 'राजमार्गमा बस्न चाहने पर्यटकका लागि भनेर होटल खोलेको हुँ,' सञ्चालक राजेन्द्र देवकोटाले भने।

 

प्रकाशित: ११ असार २०७३ ०४:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App