८ वैशाख २०८१ शनिबार
समाज

यस्तो छ प्रहीको विशेष सुरक्षा योजनाः कुकुर परिचालनदेखि मोटर गस्ती

काठमाडौँ- बडादसैँ, तिहार छठ पर्वका समयमा राजधानीको सुरक्षा व्यवस्थालाई त्रुटिरहित र मजबुत बनाउन प्रहरीले तीन चरणको सुरक्षा योजना अवलम्बन गर्ने भएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी चाडपर्वमा जनतालाई सुरक्षा दिलाउन र विदेशबाट घर फर्कने एवम् काठमाडौँ उपत्यकाबाट गन्तव्यमा जाने यात्रु समेतलाई पूर्ण सुरक्षाको सुनिश्चितता दिलाउन सुरक्षा रणनीति तय गरिने जानकारी दिएको छ।

परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विक्रमसिंह थापाले चाडपर्वका लागि चार हजारभन्दा बढी जनशक्ति खटाई परिचालन गरिएको बताए। सुरक्षाका लागि कुकुरको परिचालनदेखि पैदल गस्ती, सवारी गस्ती, साइकल गस्ती, मोटरसाइकल गस्ती र मोटर गस्ती गरिने उनले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय तथा सरोकार भएका निकायसँग समन्वय गरी बजार अनुगमन तीव्र पारिएको प्रहरीले जनाएको छ।

चोरी, जुवातास, गुन्डागर्दी, पाकेटमारी नियन्त्रण गर्न राजधानी भित्रिने र बाहिरिने नाका, अर्थिक कारोबार हुने स्थान, ठूला पसल, गहना पसल, दसैँ बजारलगायत स्थानमा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिने छ। बढी भाडा असुल्ने, अत्यधिक यात्रु राखी सवारी साधन चलाउने, मिठाइ तथा खाद्य पदार्थमा हुने मिसावटको अनुगमन तथा नियन्त्रणसमेत प्रहरीले तीव्र पार्ने छ।

यात्रुलाई सहज यात्रा गर्न र सुविधा दिन सुन्धारा, गौशाला र नयाँ बसपार्कमा दुई दुई स्थान तथा कोटेश्वर, बल्खु, कलङ्की र बालाजुमा एक एक स्थानमा गरी नौ स्थानमा प्रहरीको सहयोग कक्ष खडा गरिएको बताइएको छ। रासस

 

प्रकाशित: १४ आश्विन २०७३ १३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App