coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

त्यसपछि मलंगवा छाडेँ

दिनमान गुर्मछान

ढिला भैसकेको थियो। त्यसैले म हतारिँदै भरेङ उक्लिन थालेँ। सधैँ उक्लिरहेको भरेङ आज निक्कै गाह्रो तथा अपरिचितझैँ लाग्यो। छिटोछिटो उक्लिएका कारण स्वास बढेको थियो। म स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै थिएँ।

   भरेङ उक्लेर अलि पर पुगेँ। झ्यालको नजिकै पुगेपछि आफूलाई सम्हाल्दै अघि बढेँ। किनकि, कक्षाकोठा नजिकै म पुगिसकेको थिएँ। झ्यालमा मेरा आँखा अनायासै पुगे। एकजोर आँखासँग मेरा आँखा जुध्न पुगे। पाइला नरोकी अघि बढेँ। आँखामा भने त्यहीँ आँखा झुन्डिएर मसँगै हिँड्यो। कक्षाकोठाको ढोकामा पुग्दा पो थाहा पाएँ, सर आइपुग्नु भएकै रहेनछ। म भने हतारिएर आइपुगेको थिएँ। सरलाई नदेखेपछि ढुक्क भएँ। सरासर अन्तिम बेन्चमा गएर बसेँ।

   बेन्चमा बसेको मात्र के थिएँ, अरविन्द बोल्यो, 'हाम्रो कक्षामा नयाँ केटी आएकी छे नि!'

उसले पनि मलाई नै दोषी ठानी। अन्त्यमा मलाई लाग्यो, मैले एकोहोरो भएर गल्ती गरेकै हो। यो भूलको प्रायश्चित गर्न म के गरौँ? पश्चात्तापको आगोले पोल्न थाल्यो। मन व्यग्र भएर छट्पटाउन थाल्यो। म भित्रभित्रै पीडाको दहमा डुब्दै गएँ। त्यसपछि मैले मलंगवा छाडेँ।

अरविन्दको कुरा सुन्नासाथ अघिको आँखा सम्भि्कएँ। पहिलोचोटि देखेको थिएँ। त्यस्तो उज्यालो अनि गहिरो आँखा हाम्रो कक्षामा कसैको थिएन। तैपनि मैले सोधेँ, 'कहाँ छे? कुन हो?'

    उसले औँला झ्यालतिर तेर्स्यायो। त्यही केटीलाई देखायो, जसलाई भर्खरै मैले देखेको थिएँ। हो, जसको आँखा मैले आफूसँगै लिएर आएको थिएँ।

   'कस्ती छे, यार?' नदेखेझँै गर्दै सोधेँ। अरविन्दलाई सोधेर उसलाई हेर्न खोजेँ। बस्न पनि म अन्तिम बेन्चमा बसेछु, अनि कसरी देख्नु? उसको रेशमी कपालचाहिँ देखिन्थ्यो। म घरिघरि आँखाले भ्याउन्जेल उतै हेर्थें।

   मेरो प्रश्नमा अरविन्दले भनेको थियो, 'आफै हेर् न।' म उसैले भनेझैँ गर्दै थिएँ।

   सर कक्षामा आएपछि म किन त्यता हेर्थें र! एउटा कुराचाहिँ पक्का थियो। कक्षामा पढाइ भइरहे पनि कतिबेला सर बाहिरिनु होला र म उसको अनुहार हेरुँ भएको थियो। त्यो समय व्यतित गर्न कम मुस्किल परेन।

   जब उसलाई अगाडिबाटै देखेँ, मेरो होसै उड्यो। हिमालझैँ गोरी थिई। सुलुत्त परेको नाक अनि गुलाफझैँ पातला ओठ। गहिरा निला आँखा झनै राम्रा थिए। एकछिन त हेरेको हेरै भएँ। धर्मनाथले घच्घचाएपछि पो झस्किएँ। यति राम्री केटी मैले कहियै देखेको थिइनँ। 

   दिनहुँ मेरो काम नै भैदियो। कक्षामा जानू र उसैलाई हेर्नु। अब त कक्षामा सरले पढाइरहँदा पनि मेरा आँखा घरिघरि ऊतिरै पुग्थे। अचेल म अन्तिम बेन्चमा बस्न छाडेको थिएँ। कक्षाकोठाको बीचमा भित्तातिरै बस्न थालेको थिएँ। जहाँबाट उसलाई प्रष्टै देख्न सकिन्थ्यो। उसको गोरो अनुहारमा नीला–गहिरा आँखाले झनै सुन्दरता थपेको थियो। कुनैबेला ऊसँग आँखा जुध्न पुग्दा मनमा एककिसिमको आनन्द आउँथ्यो। यस्तो लाग्थ्यो, उसको आँखाको गहिराइमा म छु।

   यतिका दिन बित्दा पनि ऊसँग नजिक हुन भने सकेको थिइनँ। झन् बोल्ने त कुरै भएन।

   एकदिन खाजाको समयमा अरविन्द मेरो नजिकै आएर भन्यो, 'यार, म सविताको दिवाना भएँ। दिनरात उसैको सपना देख्छु। म उसलाई प्रेम गर्छु।'

    अचानक सुनेको उसको कुरालेे मलाई रिँगटा लाग्लाझैँ भयो। आफ्नै कान झनन बजेको सुनेँ। हत्तेरी, यो केटोले मसँग किन यस्तो कुरा गर्‍यो? म आफं त सविताको सपना देख्न थालेको थिएँ। वास्तवमै भन्ने हो भने अचेल मेरो पढाइमा ध्यान जाँदैनथ्यो। पढेजस्तो गर्‍यो, उसलाई सम्झ्यो। यस्तै भएको थियो। अरविन्दको कुरा कति मेरा कानमा पुगे, कति मनमा बिझ्यो पत्तो नै भएन। बरु मेरा नौनाडी नै गलेर फतक्कै भए। 

   मन भन्ने पनि गजबको हुँदो रहेछ। आफ्नै साथीको कुराले पनि बिथोलिदिने। मैले आफूभित्रको भावनालाई मार्न खोजेँ। अहँ, त्यस्तो त हुँदै भएन। नहेरुँ भन्दा पनि घरिघरि मेरा आँखा सवितातिरै पुग्थे। किनकि अचेल मैलेभन्दा पनि बढी उसैले मलाई हेरिरहेकी हुन्थी। जब म उसलाई हेर्थंे ऊ अन्तै टाउको मोड्थी। त्यतिबेला उसको मुहारमा सरमका धर्सा देखिन्थे। यसलाई म के भनी बुझूँ? तर, अरविन्दको अघि म आफ्नो कुरा खोल्न सक्दैनथेँ। न त मैले सवितालाई मन पराएको कुरा अरु कसैलाई भनेको नै थिएँ।

 

   एकदिन कक्षामा केटीहरू रुँदै रहेछन्। यो कोलाहलमय वातावरणले हामी स्तब्ध भयौँ। किन रोए? हामी सबैको मनमा प्रश्न उब्जियो। सबै प्रश्नवाचक अनुहार बनाएर उभियौँ। सोध्ने कसैले आँटै गरेनन्।

    सविताको किताबभित्र कसैले पोस्टकार्ड राखिदिएको रैछ। लेखिएको थियो, तिमीलाई कृष्ण अष्टमीको शुभकामना। पोस्टकार्ड सरको हातमा थियो। अक्षर मैले चिनेँ। तर, केही बोलिनँ। बोल्नु मेरा लागि हानिकारक हुन सक्थ्यो। अन्ततः सरले कक्षामा गर्जिंदै भन्नुभयो, 'जोसुकैले गरेको होस्, हामीले थाहा पायौँ भने कडाभन्दा कडा कारबाही हुनेछ।'

   सरको कुराले हामी सबै केटाको होस उड्यो। अब पर्‍यो फसाद्! यसको दोष आफैमा पो आउने हो कि? सबै भित्रभित्रै डराएका थिए। तर, कसको हो भन्ने कसैले पत्ता लगाउन सकेन। बिस्तारै कुरा सेलाउँदै गयो। सबैले केही दिनमा बिर्सिए।

   'यार, मैले राखेको थिएँ। मोरीले रडाँको नै मच्चाइ। ऊ मलाई मन पराउँदिन क्यारे! आजैबाट त्यसलाई बिर्सिदिन्छु।' अरविन्दले मलाई सुटुक्क भन्यो। उसलाई ग्लानिबोध भएथ्यो। विचराको मलिन अनुहार हेर्न लायकको थियो।

   'तेरो काम हो भन्ने मलाई थाहा थियो। त्यो तेरो नै अक्षर हो भन्नेे मैले चिनेको थिएँ। रातो कलमले लेख्दा तेरो अक्षर त्यस्तै हुन्छ।' मैले पनि खुसुक्क भनेँ। अलिकति आक्रोशको भावमा। किनकि सवितालाई उसले रुवाएको मलाई मन परेको थिएन। तर, प्रकटमा मैले त्यस्तो जनाइनँ।

   त्यसपछि अरविन्दले सविताबारे कुरा गर्नै छाड्यो। न उसलाई हेर्थ्याे, बरु उल्टै भन्न थाल्यो, 'ओई, सविताले त तँलाई पो हेर्छे त!'

   यो मलाई थाहा भएकै कुरा थियो। तर पनि मैले थाहा नपाएझैँ गरेँ। उसको अनुहारलाई हेर्दै भनेँ, 'साँच्चै हो?'

   उसले प्रसन्नता तथा आश्चर्य अनुहारमा झल्काउँदै भन्यो, 'कस्सम यार।'

   त्यसपछि मलाई के चाहियो र? खुलेरै सवितालाई  हेर्न थालेँ। अरविन्दले मलाई बेलाबेला जिस्काउन थाल्यो। उसले मलाई थप हौसला पनि दिन्थ्यो। त्यसैले पनि मभित्र प्रेम फुल्दै गयो। तर, त्यसबेलासम्म सविताले धेरै केटालाई सरको हातबाट कुटाइ ख्वाइसकेकी थिई। त्यतिबेला पो थाहा हुन्थ्यो, उसलाई मन पराउनेहरू पनि धेरै छन् भन्ने। म त्यही पंक्तिमा थिएँ। उसलाई मन पराउनेमध्येको एक। तर, पोस्टकार्ड दिन भने आँटै आएन। जतिले पोस्टकार्ड दिन्थे, ती सबैले सरको हातबाट कुटाइ खाएका थिए। तराईको स्कुलमा त्यतिबेला यो ठूलै अपराध मानिन्थ्यो।

   परीक्षामा हाम्रो एउटै सिट तोकियो। पहिलो त्रैमासिक परीक्षा थियो। एउटै बेन्चमा बसेर परीक्षा दिन मलाई हम्मेहम्मे पर्‍यो। पहिलो दिन दुवै बोलेनौँ। मभित्र झन् कुनै किसिमको आँट नै आएन। ऊ आफ्नो कापीमा घोसेमुन्टो लाएर लेख्थी। म झन् यताउति नहेरी लेख्थेँ। जानेबेलामा भने उसले एक नजर लगाइ। मलाई पुरुष हुनुको लज्जाबोध भयो। यति नजिक हुँदा मैले बोल्नुपर्थ्याे। उसले हेर्दा पनि मैले बोलाउन नसक्नु मेरो ठूलो कमजोरी हो। मलाई यस्तै लाग्यो। भोलिपल्ट उसैले मलाई कोट्टयाइ र सोधी, 'पाँच नम्बरको सिकाइदेऊ न!'

   म ट्वाँ भएँ। मुटु ढक्क फुलेर आयो। स्वास रोकिएलाझैँ भयो। एकोहोरिएछु म। उसका गहिरा आँखामा झ्वाट्ट हेर्न पुगेँ। एकछिनलाई म अलमलिन पुगेँ। जब उसले दोहोर्‍याएरै भनी मैले न्वारानदेखिको आँटले भनेँ, 'हुन्छ, कति गर्‍यौ? हेरौँ न!'

    आफूले जानेको सिकाइदिएँ। त्यसपछि उसले बेलाबेला कति सक्यौ? कति बाँकी छ? भन्दै सोधिरही।

   हाम्रो बोलचाल सुरु भएपछि छुट्टै रोमाञ्चकता थपियो। हामी अरुसामु कमै बोल्थ्यौँ। बिदा नभइदिए हुन्थ्यो भन्ने लाग्थ्यो मलाई। मर्दले आँट्छ, मान्छेहरू भन्छन्। आँट त्यो पनि प्रेममा जसले गर्‍यो त्यसले जान्यो भन्छन्। साँच्चै रहेछ। त्यो आँट ममा आएन। जब घर पुग्थेँ, म भोलि अवश्य भन्नेछु भनी सोच्थेँ। तर, त्यो भोलि कहिल्यै आएन। अन्ततः स्कुल पनि सकियो।

    स्कुलको अन्तिम दिन। म उसलाई भन्छु भन्ने आँट लिएर उसको पछि लागेँ। मुटु बेतोडले हल्लिरहेको थियो। मेरा निधारमा चिटचिट पसिना आइरहेको थियो। थरथर काँपेका हातले उसलाई अघिल्लो दिन किनेको पोस्टकार्ड दिएँ। मलाई कुनै अपराध गर्न लागेझैँ भएको थियो।

   उसले मलाई अनौठो तरिकाले हेरी। कुनै अपरिचितसँगको पहिलो भेटजस्तै।  पोस्टकार्ड समाइ। मुसुक्क हाँसो मतिर फ्याँकी। त्यो मुस्कानले अलिकति राहत मिल्यो। लौ! मेरै अघिल्तिर उसले पोस्टकार्ड पल्टाइ र पढ्न थाली। पढ्दापढ्दै उसका आँखा चम्किए। मलाई हेर्दा पनि नहेरी भनी, 'तिम्रो र मेरो प्रेम असम्भव छ। म तराईमूलकी मधेसी हुँ। तिमी पहाडीमूलका पहाडे। तिमीले मलाई बिर्सिदिए हुन्छ।'

   यति भनेर ऊ फटाफट आफ्नो बाटो लागी। कति सजिलै भनिदिइ– ऊ मधेसी र म पहाडे रे! मलाई बिर्सिदेऊ रे! एक मनमा त झोँक चलेर आयो। जातभातमा के छ? तर, ऊ हिँडिसकेकी  थिई। मेरा हातगोडा लुला भएका थिए। पसिनाका धारा बगे। आँखा धमिला भए। मेरो पछिपछि साथीहरू पनि आएका थिए। उनीहरू मेरो हालत देखेर अचम्म मानिरहेका थिए। कसैले मलाई सान्त्वना पनि दिएनन्। न त सम्झाउने कोसिस नै गरे! मेरो हालत देखेर सायद उनीहरू भित्रभित्रै अफसोच, हीनताबोध र द्विविधाबीच रुम्मलिएका थिए। चुपचाप घर फर्किनुबाहेक कुनै विकल्प थिएन। सरासर फर्किएँ, जीवनको एउटा नरमाइलो हार बोकेर।

   आश भन्ने पनि अजीवको तन्तु हुँदोरहेछ। उसले मेरो प्रेम लत्याएकी भने थिइन। न त मलाई तथानाम गाली नै गरेकी थिई। उसले हाम्रो जातले नमिल्ने बताएकी थिई। त्यसैले मभित्र विश्वास बाँकी नै रह्यो। त्यही विश्वास लिएर म उसको घरको बाटो भएर हिँड्न थालेँ।

    एसएलसी सकिएको थियो। साँझ म घुम्दै उसको घरअगाडि पुग्थेँ। जब ऊ घरको छतमा निस्कन्थी म उसलाई हेर्थें। हाम्रा आँखा चार हुन्थे। तर, उसले कहिल्यै बोलाइन। न पहिलेझैँ एकोहोरो नै हेरी।

   म त्यसै हार मान्ने स्वभावको थिइनँ। जीवनकै पहिलो प्रेम फुल्न नपाउँदै कसरी ओइलाउन दिनु? कोसिस नै जितको आधार हो भन्छन्। त्यति मेहनत अरु काममा गरेको भए सफल भइसक्थेँ हुँला!

   एकदिन अचानक नितेशसँग भेट भयो। पातलो ज्यानको तर हिस्सी परेको। कालो दाँत देखाउँदै हाँस्यो। म उसको सामुन्ने आफूलाई पाउदा रमाएको थिएँ। धेरैपछि ऊसँग भेट भएको थियो। त्यो खुसीको क्षणमा उसले दिएको जानकारी मेरा लागि अप्रिय भइदियो। एकदम नरमाइलो अनि जीवनकै पीडादायी समाचार उसले सुनायो। सविताको बिहे पक्का भएको उसले मलाई बतायो। हे भगवान्, यो समाचारले म रन्थनिएँ। मुटु बेतोडले दगुरेझैँ भयो। आँखा धमिला भए। म उभिएको जमिन भासिएझैँ लाग्यो।

   त्यसपछि म झन् उसको घरको बाटो भएर नियमित हिँड्न थालेँ। म बताउन चाहन्थेँ, यो जुनीमा तिमीलाई मबाहेक कसैले माया गर्दैन। तिम्रा लागि मेरो मनमा कति माया छ! म आफ्नो मन, मुटु उसको सामु सुम्पिन तयार भएको थिएँ। त्यसबेला म बहुलाझैँ भएको थिएँ। उसको प्रेममा पागल हुनुको अनुभूतिमा म एकोहोरिएको थिएँ। घरबाट कुनबेला निस्कन्थेँ, कुनबेला घर फर्कन्थेँ केही ठेगान हुन छाड्यो।

   उसको अनुहारसम्म देख्न पाइनँ। न त उसको छाया नै देख्न पाएँ। उसले माइतीघर छाडेर गई। त्यो गाउँलाई बिरानो बनाइ। वास्तवमा त मलाई पराइ बनाइ।

   'तिमीले गर्दा सविताको बिहे भएको हो। तिमी उसको घरको बाटो भएर नहिँडको भए उसको बिहे हुन्नथ्यो।'

   'तिमी उसलाई हेर्दै यो बाटोमा हिँडेको उसका बाबु–आमाले थाहा पाएरै उसको बिहे गरिदिएका हुन्।'

   'अर्काकी छोरीचेलीलाई सधैँ यसरी बाटो ढुकेर घरतिर चिहाएर हेर्न मिल्छ? तिमीले त्यसो गरेपछि कतिले कुरा काटे तिमीलाई थाहा छ?'

   अब भयो! उल्टै मेरा कमजोरीको उत्खनन् हुन थाले। भेटेजति साथीहरू यसै भन्न थाले। अझ सविताका साथीहरू पनि यसै भनेर मेरो गल्ती भएको बताउँथे। निशाले भनी, 'तिमीले प्रेम भनेको बुझेकै रहेनछौ। प्रेम पाउनु मात्र होइन, गुमाउनु पनि प्रेम हो। त्यसमा त्यागको महिमा बुझ्न सक्नुपर्छ।'

    उसले पनि मलाई नै दोषी ठानी। अन्त्यमा मलाई लाग्यो, मैले एकोहोरो भएर गल्ती गरेकै हो। यो भूलको प्रायश्चित गर्न म के गरौँ? पश्चात्तापको आगोले पोल्न थाल्यो। मन व्यग्र भएर छट्पटाउन थाल्यो। म भित्रभित्रै पीडाको दहमा डुब्दै गएँ।

   त्यसपछि मैले मलंगवा छाडेँ।

प्रकाशित: १५ आश्विन २०७३ ०४:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App