coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

रेकर्ड हुन नपाएको कविता

  कविवर सिद्धिचरणको देहावसान भएको वर्ष दिनपछि उनका सुपुत्र रविचरणले बाबुका अप्रकाशित रचनाहरू प्रकाशित गर्ने र केही कविता रेकर्ड गर्ने प्रस्ताव मसँग राखे । कविका कतिपय अप्रकाशित फुटकर कविताको संकलन–सम्पादन गरेपछि त्यसलाई साझा प्रकाशनमा दिइयो । ‘बाँचिरहेको आवाज’शीर्षकको त्यो संकलन साझा प्रकाशनबाट प्रकाशित पनि भयो ।
  

यस्तैमा एक दिन रविचरणसँगको सल्लाहमा कविवरको कवितालाई गीत बनाइ रेकर्ड गर्ने निश्चित भयो । त्यसका लागि ‘गोमा’शीर्षकको कविता चयन भयो । हामी दुवै एक साँझ संगीतसाधक अम्बर गुरुङको निवास पुग्यौँ । निकै चिसो साँझ थियो । अम्बर बैठकको अँगेनु (फायरप्लेस) मा बसेर मन्दमन्द ह्विस्कीको चुस्की लिँदै थिए । रविचरणले पनि त्यसमा साथ दिए । कुराकानी चल्दै जाँदा अम्बर पनि ‘गोमा’कविता नै रेकर्डका लागि उपयुक्त भएको निष्कर्षमा पुगे । उनले त्यो कविताको स्वर–संगीत एक सातामा तयार गर्ने वचन पनि हामीलाई दिए ।
    सिद्धिचरणको ‘मेरो प्यारो ओखलढुंगा’ गीत निकै चर्चित थियो । त्यसअघि २६÷२७ सालतिरै राल्फा समूहले त्यस कवितालाई स्वर–संगीत दिएको थियो । नेपाली कवितामा स्वच्छन्दतावादी धाराका सहप्रवत्र्तक रहेका कवि सिद्धिचरणको ‘गोमा’शीर्षकको कविता पनि त्यही धाराकै एक सशक्त सिर्जना हो । खासगरी ‘कोपिला’ संग्रह (२०३१) मा उनिएका कविका प्रारम्भिक कविताहरूले नै नेपाली कवितामा स्वच्छन्दतावादी काव्यधाराको उद्बोधन गरेका हुन् । तिनै फुटकर कविताहरूमध्येको एउटा सशक्त स्वच्छन्दतावादी कविता हो ‘गोमा’ ।
जगको कटु अनुभव फेर्दै
बोल चराको पनि टिप्दै
पुतलीहरूका सँग खेल्दै
जाऔँ गोमा, त्यस शैलमहाँ
पिर कुनै पनि उठ्दैन जहाँ (कोपिला)

यो नितान्त रोमान्टिक धाराको कवितालाई ‘शारदा’(१९९१) पछिका कतिपय कवि–लेखक र पाठकले वैयक्तीकरण गर्न खोजे र सिद्धिचरणको गोमासँगको प्रेमालापका रूपमा यसको चर्चा गरे । पछिल्ला कैयन् वर्षसम्म पनि कवि र गोमाबीचको सम्बन्ध नेपाली साहित्यजगत्मा त्यसरी नै चर्चित रह्यो । तर, कविले आफ्नो कविताको भाव र मर्म विपरीत हुने गरेका त्यस्ता चर्चाको सायद कहीँ पनि प्रतिवाद गरेनन् । तर, ‘हावा नचलिकन पात हल्लँदैन’भन्ने उखानले कवि–गोमाबीचको सम्बन्धको चर्चा समाजदेखि कविकै परिवारसम्म बढ्दै गयो । साहित्यमा नारी हस्ताक्षर दुर्लभजस्तै रहेको पछिल्लो राणाकालीन नेपालमा गोमा, प्रेम राजेश्वरीजस्ता नारी लेखक आफ्ना प्रतिभालाई मुखरित गर्दै क्रियाशील रहे । गोमाको काठमाडौँ प्रवेश त्यस्तै परिस्थितिमा भएको थियो । राणाशासनविरुद्ध संघर्ष गर्दै कवितामा स्वच्छन्दतावादी धाराको नवघोष गर्न प्रवृत्त रहेका कवि सिद्धिचरण र अन्य समकालीन लेखकको पहुँचमा रहिन् गोमा पनि । हुनसक्छ त्यस अवस्थामा गोमाको हिमचिम बढ्यो सिद्धिचरणसँग पनि ।

कविको ‘गोमा’शीर्षक स्वच्छन्दतावादी धाराको कविताले बढी चर्चा पायो । त्यो चर्चामा कहीँ वैयक्तिक अनुरागको झल्को पाउनेहरूदेखि सिद्धिचरणको प्रकृतिसँगको तादात्म्य देख्ने साहित्यिक रसानुरागीसम्मले ‘गोमा’कवितालाई आआफ्नै आँखाले हेरे ।
परपुरुषप्रतिको सामान्य दृष्टिक्षेपलाई पनि शंकालु आँखाले हेर्ने तत्कालीन समाजमा वैधव्य जीवन बिताइरहेकी गोमाको सिर्जनात्मक प्रतिभाले सिद्धिचरणलगायतका कतिपय कवि–साहित्यकारको प्रोत्साहन पनि पायो । त्यस्तै परिवेशमा रचेका थिए सिद्धिचरणले ‘गोमा’कविता । गोमा नामलाई कविताबाट हटाइदिने हो भने त्यो नितान्त स्वच्छन्दतावादी कविता रहन्छ । यहाँ व्यक्ति गोमा नरहेर प्रकृतिका कविकी सहयात्री गोमा परिलक्ष्यित रहन्छिन् । गीति रेकर्डका लागि ‘गोमा’कविताको चयनका पछाडि यही सोचाइले काम गरेको थियो ।

अर्को साता हामी फेरि अम्बर निवास पुग्यौँ । अम्बरले हार्मोनियम खोले । उनको सुरापानको क्रम त्यस दिन पनि चलिरहेको थियो । उनले ‘गोमा’कविताका पंक्तिहरू अत्यन्त श्रुतिमधुर किसिमले संगीतमा आबद्ध गरिसकेका थिए । हामी दुई उनको त्यो स्वर–संगीतमा डुब्दै मन्त्रमुग्ध बनेका थियौँ । मैले सोचेँ अम्बर नेपाली गायन र संगीतका शिखर प्रतिभा नै हुन् । आधुनिक नेपाली कविताको स्वच्छन्दतावादी धाराका अग्रणी प्रतिभाका कविताका आकर्षक पंक्तिहरूसँगको अम्बरजस्ता स्वर–संगीतका धनी प्रतिभाको संगम साँच्चै रोमाञ्चक र आह्लादक थियो । कविपुत्र र म त्यस कवितालाई रेकर्डिङ गर्ने मानसिकतामा पुगेर अम्बरको निवासबाट बाहिरियौँ । अम्बर त्यस कविताको रेकर्डिङ हुने कुरामा आश्वस्त थिए ।

बाटोमा हिँड्दै गर्दा रविचरणले भने, ‘यसरी कविताको गीति रेकर्डिङका लागि आमासमेत दाजुहरू र दिदीबहिनीको सल्लाह र सहमति पनि चाहिन्छ । बुवाका अरू कविताको पनि गीति रेकर्डिङ गर्नुपर्नेछ, त्यसका लागि आर्थिक व्यवस्था गर्नुपर्ने हुन्छ । त्यो सबै पारिवारिकरूपमै गर्ने योजना छ ।’ रविचरणले भोलिपल्ट रात्रिभोजनका लागि मलाई घरमै आमन्त्रित गरे । मेरा लागि कवि सिद्धिचरणको परिवार अपरिचित थिएन । कविको पुरानो घरको चोटाको भान्सामा उक्लियौँ रवि र म । त्यहाँ कविका परिवारमध्येका अधिकांशको उपस्थिति थियो । रविको अभिप्राय त्यही पारिवारिक जमघटबाट कविबाबुका कविताको गीति रेकर्डिङको अनुमोदन लिनु थियो । रविले परिवारसामु ‘गोमा’कवितालाई गीति रेकर्डिङ गर्ने कार्यको प्रारम्भमा अम्बर गुरुङबाट स्वर–संगीत तयार हुन लागेको विवरण सुनाए ।

‘गोमा’कविताको प्रसंग के उठेको थियो, त्यसले परिवारमा ठूलै तरंग पैदा गरिदियो । परिवारका अधिकांशले ‘गोमा’कवितालाई गीति रिकर्ड हुनै नदिने भन्दै रविमाथि आक्रोश पोख्न थाले । विशेषगरी श्रीमती सिद्धिचरणको त्यसप्रति तीव्र असन्तुष्टि थियो र शान्तालगायतका छोरीहरू आमाको पक्षमा उभिएका थिए । रविका दाजु तटस्थभावमा यी सबै दृश्य हेरिरहेकाथिए । त्यहाँ मैले केही बोलिदेओस् भन्ने रविको आशय थियो । तर, त्यो परिवार अरू कसैको केही नसुन्ने हिसाबले प्रस्तुत भएको हुँदा केही बोल्न खोजेर पनि म चुप रहेँ । आखिर त्यो गीति रेकर्डिङको कुरा पारिवारिक मामला बन्यो र रविले खासगरी आमाको कुरा टाल्न सक्ने स्थिति पनि थिएन । यसरी गोमा कविताको रेकर्डिङको प्रसंग ‘प्रथमग्रासे मक्षिकापातः’ (पहिलो गाँसमै झिङा पर्नु) मा पुगेर टुंगियो ।
अम्बरसँग भने त्यसपछि मेरो यदाकदा भेट हुन्थ्यो । मसँगको भेटमा उनी भन्थे, ‘सुवेदीजी, रविचरणको हालचाल के छ ?’ ‘खै दाइ, के छ कुन्नि, मसँग पनि भेटघाट पातलिएको छ,’ मेरो उत्तर यत्तिमै टुंगिन्थ्यो । सायद ‘गोमा’कविताको गीति रेकर्डिङ हुन नपाउनुको खोप अम्बर गुरुङभित्र पछिसम्म पनि रहेको थियो । त्यसो त रवि र म पनि त्यसबाट कम आहत थिएनौँ ।

 

प्रकाशित: ११ असार २०७३ ०६:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App