coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

साढे ३ अर्बको टाइगर प्यालेस रिसोर्ट तयार

काठमाडौं- विनाशकारी भूकम्पपछि मुलुकको पर्यटन उद्योगले गति लिइरहेका बेला ठूलो परिमाणको विदेशी लगानीमा रुपेन्देहीको मणिग्राममा पाँचतारे स्तरको एक रिसोर्ट निर्माण पूरा भएको छ। आगामी ६ महिना (फागनु दोस्रो सातादेखि चैत दोस्रो साता) भित्र सञ्चालनमा आउने लक्ष्यका साथ हाल रिसोर्टको भित्री साजसज्जा (इन्टेरियर डिजाइन) को काम चलिरहेको छ।

अस्ट्रेलियास्थित बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपको ३ अर्ब ५० करोड रुपैयाँ लगानीमा निर्माण भएको रिसोर्टको नाम 'टाइगर प्यालेस रिसोर्ट' राखिएको छ। पहिलो चरणमा यो रिसोर्टमा १ सय कोठा सञ्चालनमा आउने छ भने दोस्रो चरणमा ३ सय कोठा पाहुनाका लागि तयार हुनेछन्। यसका सबै कोठा 'डिलक्स' हुनेछन्।

'भूकम्पपछि हाम्रो पर्यटन उद्योगले ठूलो क्षति बेहोनुपर्‍यो र अब विस्तारै यसले गति लिँदैछ। मुलुकको अर्थतन्त्रमा पर्यटन उद्योगको योगदान थप उच्च बनाउनुपर्छ भन्ने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याउन लागेका हौं,' उक्त ग्रुपको नेपालस्थित आधिकारिक कम्पनी सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिका कार्यकारी अध्यक्ष राजेन्द्र बजगाईंले शनिबार नागरिकसँग भने, 'आतिथ्य सत्कार उद्योगमा भिन्नै पहिचान दिने यो रिसोर्टबाट हामी धेरै नै उत्साही छौं।'

बजगाईंका अनुसार भैरहवा औद्योगिक क्षेत्रमा रहेका कम्पनी वा व्यापारिक प्रतिष्ठानमा काम गरिरहेका कुनै पनि कर्मचारीलाई आफ्नो रिसोर्टमा काम गर्न नल्याउने नीति बनाइएको छ। एक असल उद्योगी भएका नाताले अन्य कम्पनीलाई अप्ठेरो पर्ने काम गरिने छैन।

'हामी सकेसम्म स्थानीय र त्यसमा पनि अनुभव नभएकालाई प्राथमिकता दिएर रिसोर्टमा भर्ना गर्छौं र सबैलाई तालिम दिलाएर दक्ष बनाउँछौं,' उनले भने, 'हाम्रो रिसोर्टमा म्यानेजर तहमा ५० जना विदेशीले काम गर्नेछन् भने बाँकी सबै नेपाली र त्यसमा पनि स्थानीय हुनेछन्।'

उनका अनुसार रिसोर्टमा न्यूनतम १ हजार ५ सयदेखि १ हजार ८ सयजनाले प्रत्यक्ष रोजगारी पाउनेछन्। यसमध्ये ९५ प्रतिशत जनशक्ति स्थानीय नै हुनेछन्।    रिसोर्ट भैरहवा र बुटवलको बीचमा पर्ने मणिग्राममा निर्माण भएको छ। यसका लागि १६ बिघा क्षेत्रफल छुट्ट्याइएको छ भने रिसोर्ट भवनले मात्र दुई बिघा क्षेत्रफल ओगट्छ। पहिलो चरणमा १ सय कोठा सञ्चालन गर्ने गरी भित्री साजसज्जाको काम तीव्र गतिमा भइरहेको छ।

रिसोर्टको डिजाइनअनुसार १४ वटा कोठा र पौडी पोखरी (स्विमिङ पुल) एकआपसमा जोडिएका छन्। पाहुनाले कोठाबाट सिधै स्विमिङ पुलमा 'डाइभ' हान्न सक्छन्। 'पाँचतारे होटलमा हुने सबै सुविधा हाम्रो रिसोर्टमा उपलब्ध हुनेछन्,' उनले भने।

रिसोर्टले बढी पैसा खर्च गर्ने गुणस्तरीय पर्यटक लक्ष्य गरेको छ। प्रतिरात प्रतिकोठा २ सय अमेरिकी डलरमा बिक्री गर्ने योजना रिसोर्ट व्यवस्थापनको छ। यो मूल्य १० प्रतिशत सेवा शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक हो। रिसोर्टको पूर्णरूपमा तयार भएपछि कोठाको मूल्य अझ यकिन हुने उनको भनाइ छ।

रिसोर्टले गर्ने कुल आम्दानीको दुई प्रतिशत हिस्सा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाघ संरक्षणका लागि खर्च गर्ने उद्देश्य लिएको बजगाईंले जानकारी दिए। 'हाम्रो रिसोर्टले वार्षिक जति कमाउँछ त्यसको दुई प्रतिशत हिस्सा संरक्षण सूचीमा रहेको जंगली जनावर बाघको संरक्षणमा खर्च गर्छौं,' उनले भने, 'त्यही भएर रिसोर्टको नाम टाइगर प्यालेस राखेका हौं।'  

रिसोर्टसँगै रहेको सामुदायिक वनसँग सहकार्य गरी केही सामाजिक काम गर्ने योजना पनि रिसोर्टले बनाएको छ। रिसोर्टमा स्पा, टेनिस कोर्ट, चिल्ड्रेन पार्क, वाटर फन पार्कलगायत विभिन्न आकर्षण रहनेछन्।

बजगाईंका अनुसार रिसोर्ट सिल्भर हेरिटेज चेनअन्तर्गत सञ्चालन हुनेछ। यो चेनले हाल लाओस, फिलिपिन्स, भियतनाम, कम्बोडिया, गुआम आइल्यान्डलगायत देशमा ३३ वटा रिसोर्ट सञ्चालन गरिरहेको छ। रिसोर्ट निर्माणको काम अमेरिकाको हार्वर्ड बिजनेस स्कुलका स्कलर ह्यु होल्म्सले हेरेका थिए।

'यस किसिमको रिसोर्ट सञ्चालनमा आएपछि नेपालको पर्यटन उद्योगमा नयाँ विशेषता थपिने छ भने अन्तर्राष्ट्रिय पर्यटन बजारमा पनि छुट्टै सकारात्मक सन्देश जाने छ,' उनले भने, 'विदेशी कम्पनीको वृहत लगानीमा निर्माण हुने र उनीहरूकै व्यवस्थापनमा सञ्चालन हुने भएका कारण नेपालमा थप विदेशी लगानी आकर्षित गर्न यसबाट पनि उल्लेख्य मद्दत पुग्ने विश्वास छ।'

सिल्भर हेरिटेज ग्रुपले यो रिसोर्टसहित राजधानीको लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिला परिसरमा क्यासिनो सांग्रिला सञ्चालन गरिरहेको छ। बजगाईंका अनुसार ग्रुपको सञ्चालक समितिले नेपालमा पहिलो चरणमा १० अर्ब रुपैयाँ लगानी गर्ने निर्णय गरिसकेको छ। यसमा क्यासिनो सांग्रिला, भैरहवामा टाइगर प्यालेस रिसोर्ट, विभिन्न ठाउँमा पाँचतारे होटल, जलविद्युत आयोजनासम्म छन्। लगानी वृद्धि गर्दै ३० अर्बसम्म पुर्‍याउने ग्रुपको लक्ष्य छ। सिल्भर हेरिटेज ग्रुप अस्ट्रेलियाको सिड्नी स्टक एक्सचेन्जमा सूचीकृत कम्पनी हो।

प्रकाशित: १६ आश्विन २०७३ ०२:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App