coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

एकल महिलालाई नागरिकता समस्या

धरान- उनको श्रीमान्को मृत्यु हुँदा छोरी करिब ३ वर्षकीमात्र थिइन्। पाँचथर माइती घर भएकी लक्ष्मी रेग्मीले श्रीमान्को नामबाट नागरिकता बनाएकै थिइनन्। उनीसँग माइतीको नागरिकता पनि छैन। उनी हाल ७३ वर्ष पुगिसकिन् तर उनले अहिलेसम्म सामाजिक सुरक्षा भत्ता थाप्न पाएकी छैनन्।

 नागरिकता हुँदो हो त उनले राज्यबाट मासिक ५ सय रुपैयाँ भत्ता पाउने थिइन्। त्यसले थोरै भएपनि आवश्यकता पूरा गर्थिन् वा औषधोपचारमै सघाउ पुग्थ्यो। नागरिकता नभएकै कारण उनी यो सुविधा उपभोग गर्नबाट वञ्चित छिन्। उनी विगत ३ वर्षदेखि इटहरी–४ स्थित छोरी पवित्रा पोख्रेलको आश्रयमा छिन्। 'उहाँको अरू कोही छैन, मसँग बस्नुहुन्छ, बिरामी हुनुहुन्छ। नागरिकता भइदिए भत्ता पाउनुहुन्थ्यो, उपचारमा सघाउ पुग्थ्यो,' छोरी पवित्राले भनिन्। उनी स्वयं पनि एकल महिला हुन्।

 धरान–८ की कमला तामाङको २२ र २० वर्षका २ छोरा छन्। तर, बुबाको नामबाट आमा कमलाको नागरिकता नहुँदा अहिलेसम्म दुवै छोराको नागरिकता बनेको छैन। दुवै छोराको जन्मदर्तामा बुबाको नाम छ। श्रीमान्को मृत्युदर्ता छ। वडा समितिको मुचुल्कामा मृतककै छोरा हो भनी ७ जना छरछिमेकले सनाखत गरिदिएको कागजात छ। प्रहरीको रिपोर्टमा पनि मृतक र कमलाको नाता खुलाइएको छ। तर, श्रीमान्को परिवारको सनाखत गरिदिने नजिकको आफन्त नभइदिँदा दुवै छोरा नागरिकताबाट वञ्चित छन्। 'मैले इलाका प्रशासन धेरैपटक धाएँ, कागजात सबै तयार छ। तर, छोराहरूको नागरिकता बनेन,' उनले भनिन्, 'छोराहरूको नागरिकता भइदिए गरिखाने बाटो हुन्थ्यो, ज्यादै दुःख भयो।'

बिहीबार धरानमा छैटौं अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाउँदै गर्दा सुनसरीका यी २ एकल महिलाको नागरिकता समस्या प्रमुख मुद्दाको रूपमा उठ्यो। एकल महिला समूहको धरान–१७ स्थित छहारी भवनमा आयोजित कार्यक्रममा दुवैले नागरिकता समस्या उठाए।

नागरिकता समस्या भएका लक्ष्मी र कमला त एकल महिलाका प्रतिनिधिपात्र मात्र भएको समूहकी सदस्य शान्ता अधिकारीको भनाइ छ। उनका अनुसार माइतीबाट मात्र नागरिकता भएका एकल महिलाले आफ्ना छोराछोरीलाई नागरिकता दिलाउन नसक्दा थुप्रै समस्या झेल्नु परिरहेको छ।

समूहकी क्षेत्रीय कार्यक्रम अधिकृत इन्द्रकला राईका अनुसार धेरैजसो नागरिकताको समस्या लिएर एकल महिला सम्पर्कमा आउने गरेका छन्। त्यसपछि एकल महिलामा सामाजिक हिंसाको समस्या पनि रहेको उनले बताइन्। 'एकल महिलाको अहिले प्रमुख समस्या नागरिकता हो। श्रीमान्को नामबाट नागरिकता नहुँदा राज्य र परिवारबाट पाउने सुविधा र अधिकारबाट वञ्चित हुनुपर्छ र छोराछोरीको भविष्यमा पनि असर पुग्छ,' उनले भनिन्, 'प्रमाण पुगेर पनि प्रशासनले एकल महिलालाई विभिन्न झन्झटिलो प्रक्रियामा अलमलाउने गरेको छ, सहजै नागरिकता दिने वातावरण बनाउुपर्छ।'

सुनसरीमा मात्र हजार हाराहारी एकल महिला सदस्यको रूपमा आबद्ध रहेको समूहले जनाएको छ। कार्यक्रममा प्रमुख अतिथिको रूपमा सुनसरीका सिडिओ मोहन चापागाईं थिए। उनले नागरिकताबारे आफू सकरात्मक रहेको र आवश्यक कागजात लिएर आउन आग्रह गरे। सिडिओ चापागाईंले महिलामाथि हिंसा भए आफूलाई खबर गर्न आग्रह गर्दै तत्काल त्यसविरुद्ध कदम चाल्ने प्रतिबद्धता जनाएका थिए।

प्रकाशित: ११ असार २०७३ ०६:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App