७ वैशाख २०८१ शुक्रबार
कला

क्षेत्रीलाई जगदम्बाश्री र जोशीलाई मदन पुरस्कार

काठमाडौं- नेपाली साहित्यमा ६० वर्ष खर्चिएका साहित्यकार लीलबहादुर क्षेत्रीलाई आइतबार जगदम्बाश्री पुरस्कार २०७२ बाट सम्मानित गरिएको छ। त्यसैगरी कथाकार रामलाल जोशीलाई उनको कथासंग्रह ‘ऐना'का लागि मदन पुरस्कार २०७२ प्रदान गरिएको छ। मदन पुरस्कार गुठीको आयोजनामा पाटनढोकास्थित रातो बंगला सभागृहमा भएको विशेष कार्यक्रममा गुठीका अध्यक्ष कमलमणि दीक्षितले क्षेत्री र जोशीलाई पुरस्कार तथा सम्मान प्रदान गरे।

सम्मानपत्र सहित नगद दुई दुई लाख रुपैयाँ राशीसहितको पुरस्कार दीक्षितले लेखकद्वयलाई प्रदान गरेका थिए। दौरा सुरुवालमा ठाँटिएका क्षेत्री र जोशीलाई दूबो र सयपत्रीको माला पहिर्‍याइएको थियो। परम्परा अनुसार बलिरहेको दियोसहित पुरस्कार प्रदान गरिँदा माहोल थप रोमाञ्चक बनेको थियो।

जगदम्बाश्रीबाट पुरस्कृत क्षेत्रीले पुरस्कार रकम दुई लाखमध्ये एक लाख रुपैयाँ भूकम्पपीडितका लागि दिने घोषणा गरे। पुरस्कार वितरण समारोहमा सम्बोधन गर्दै गुठीका अध्यक्ष कमलमणि दीक्षितले भने, ‘लीलबहादुरज्यू तपार्इंसँगको मेरो परिचय मदन पुरस्कार जत्तिकै पुरानो छ, तपाईं उति टाढा गुवाहाटीदेखि दुःख गरी आइदिनु भएकोमा म तपाईंलाई सधन्यवाद स्वागत गर्छु।'

जोशीको कथासंग्रह 'ऐना'ले मदन पुरस्कार प्राप्त गरेकोमा दीक्षितले आफूलाई आनन्द लागेको जनाए। नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्‍याएका व्यक्तित्वलाई दिइँदै आएको पुरस्कारबाट अहिलेसम्म दर्जनौ स्रष्टा सम्मानित भैसकेका छन्।

गुठीले नेपाली साहित्यमा पुरस्कारको नाउँ नै नसुनेको त्यो समयमा मदन पुरस्कारको स्थापना गरेर नेपाली साहित्यका स्रष्टाहरुमा प्रेरणा जगताउने दिशामा संजिवनी बुटीको काम गरेको जगदम्बाश्री पुरस्कार प्राप्त गरेका स्रष्ठा लील बहादुर क्षेत्रीले बताए। उनको बसाँईं उपन्यास निकै चर्चित छ।

कथा संग्रह ‘ऐना'का लेखक जोशीले साहित्यका ठूला कुरा लेखेर नभई आजको सामाजिक विकासको गतिले अध्याँरोमै छाड्न खोजेका केही साना तर सम्वेदनशिल कुराहरुलाई ऐनामा उठान गर्ने कोशिस गरेकाले पुरस्कार पाएको सुनाए।

कार्यक्रममा विद्वत प्रवचन दिदैं साहित्यकार प्रकाश सायमीले भाषा बाँचे जाती बाँच्छ भन्दै साहित्य ,संगित र कलाका निम्ति मदन पुरस्कार र जगदम्बाश्री सम्मानको फरक फरक आयतन रहेको औंल्याए। नेपाली पाठकलाई पुस्तकसँग व्यस्त बनाउन यो पुरस्कारले सहयोग गर्ने उनको भनाई थियो।

सदस्यसचिव कुन्द दिक्षितका तर्फबाट कनकमणि दिक्षितले मदन पुरस्कार र यसको गरिमाका बारेमा बताए। कार्यक्रममा गुठीका अध्यक्ष मकलमणि दिक्षितले लेखेको पुस्ता ‘गएकाहरु'को विमोचन गरिएको थियो।

गुठीले विसं २०१३ देखि मदन पुरस्कार दिन थालिएको हो। जगदम्बाश्री पुरस्कार भने २०४५ सालदेखि दिन थालिएको गुठीले जनाएको छ। गुठीका अनुसार कथा संग्रहले यसअघि पनि निकै कम मात्र मदनपुरस्कार जितेको छ। अहिलेसम्म करिब चारवटा कथासंग्रहले मात्र यो पुरस्कार पाउन सफल भएको छ। छनौट समितीमा को को छन् भन्ने कुरा कसैलाई थाहा नहुने अर्याल उल्लेख गर्छन्। विभिन्न चरणमा गरि उत्कृष्ट सात पुस्तकमध्येबाट एउटालाई मदनपुरस्कार दिईन्छ। लेखक आफैले पनि पुरस्कारका लागि आवेदन दिनुपर्दैन्। ऐनाका जोशीले पनि संचारमाध्यमबाटै पुरस्कार पाउन थालेको थाहा पाएको सुनाए।

गुठीले २०७२ सालभित्र प्रकासित पुस्तकमध्येबाट निकालेको उत्कृष्ट सातमध्येमा  पहिलो नम्बरमा भुवनहरि सिग्देलको 'आमोई' पुस्तक परेका थियो। दोस्रोमा रामलाल जोशीको 'ऐना' थियो। तेस्रोमा नीलमकार्की निहारिकाको 'चीरहरण' उपन्यास परेको थियो। चौथोमा नम्बरमा घनश्याम खड्काको 'निर्वाण' उपन्यास थियो।

पाँचौमा  सरिता तिवारीको कथा संग्रह 'प्रश्नहरुको कारखाना' थियो भने छैठौँ नम्बरमा बुद्धिसागरको 'फिरफिरे' उपन्यास थियो। त्यसैगरी सातौँ नम्बरमा दामोदर पुडासैनी 'किशोर' को नियात्रा सिमानाका रंग, सिमानाका तरंग परेको थियो। आख्यान शैलीका पुस्तक बढी परेका छन्। तर निर्णायको रोजाईमा समसामयिक विषयलाई नेपाली भाषाबाट प्रस्तुत गर्न सफल भएको ऐना परेको गुठीले जनाएको छ।

 

प्रकाशित: १७ आश्विन २०७३ ०४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App