७ वैशाख २०८१ शुक्रबार
विचार

काठमाडौँदेखि काठमाडौँसम्म

असोज १२ गते बुधबार दिउँसो एक बजेको थियो । म पुरानो थिमीको बाटो हुँदै काठमाडांै नयाँ बानेश्वर जान भनी हिँडे स्कुटरमा । मनहरा पुलदेखि जडीबुटी चौकसम्म साँढे तीन किमि  चौडा र फराकिलो बाटो निर्माणाधीन छ २ वर्षदेखि । बाटोको फुटपाथ राम्रो र फराकिलो छ ।

फुटपाथमा केटाकेटी, वृद्ध र युवाहरु राजधानीबाहिर जान हातमा ब्याग र सुटकेस लिई उभिएको देखँे । फुटपाथ पसल र मोटरसाइकल सर्भिसिङ गर्ने ठाउँमा  परिवर्तित हुँदैछ । बाटोको दुवै साइडमा धुलो जमेकाले गाडीहरु छेउमा रोकिँदा  फुटपाथमा हिँड्ने र बस कुर्नेहरु धुलोले छोपिन्छन् । धुलो र धुँवा निल्नुपर्ने राजधानीबासीको स्वास÷प्रश्वास प्रक्रियाको अनिवार्य अंग भएको छ । अब त राजधानीबासीलाई यसबाट मुक्ति पाउन रामदेव बाबाकै शरण पर्नुको विकल्प रहेन ।  

साँढे तीन किमि यो बाटोको बीचमा दुई ठाउँमा करिव एक एक सय मिटर खाल्डाखुल्डी छन् । यही ठाउँमा गाडी जाम हुने र दुर्घटना हुने गर्छन् अहिले । बाटोको बिच भाग नबनाएर किन अलपत्र छाडेको भनी सम्बन्धित निकायसँग बुझ्न खोज्दा ‘थाहा छैन’ भन्नेबाहेक अरु कुनै जवाफ आउँदैन । लाखाँै करोडौ रुपियाँ खर्चेर जनताको सुविधाका लागि निर्माणाधीन यस्ता बाटाको किन वर्षांैसम्म आशिंकमात्र पूरा भएको होला ? यसरी किन साधारण जनतालाई धुलो र बाटो बीचमा छाडिएका खाल्डाखुल्डीले हैरान र परेसान पारिन्छ ?  नेपालमा भौतिक पूर्वाधारको राष्ट्रिय नीति ‘काम पूरा नगर्ने’ र बिगँ्रदा रिपेरिङ र मेन्टेनेन्समा कमिसन राम्रो हुने भएकाले हो भन्ने शंका उठ्ने गर्छ । यी दुई बाटा पनि यही व्यथा भोगिरहेका हुन कि ?

जडीबुटीदेखि कोटेश्वर तीनकुनेसम्मको यात्रा सम्भवत् राजधानीमा सबैभन्दा कष्टप्रद् र तनावयुक्त हुन्छ सबैका लागि । कोटेश्वर र त्यसका दायाँवायाँ जामले टाउको नदुख्ने र व्लडप्रेसर नबढ्ने बिरलै कोही बाँकी होलान् यो बाटोबाट दिनहुँ यात्रा गर्नेहरु । कृपया राजधानीको कुन रुटमा दिनहुँ हिँड्ने मानिसको ब्लडप्रेसर बढी छ भनी अध्ययन गर्न सरोकारवालहरु अग्रसर भए ठूलै गुन हुने थियो राजधानीबासीलाई । यो रुटमा ठूला बस ६ लेनको बाटोमा घण्टौँ उभिरहेका हुन्छन् बाटो छेकेर । ६ लेन बाटो बनेपछि जडीबुटी कोटेश्वर एरिया झनै जाम भएर सधैँ लाखौ मानिसले सास्ती पाइरहेको गुनासो यहाँ सुनिन्छ । एम्बुलेन्सको आवाजले यो ठाउँमा सधँै आतंक मच्चाइरहेको हुन्छ । सबै एम्बुलेन्स बिरामी नै बोक्छन् भन्ने पनि रहेनछ हिजोआज ।

बसको ढोकामा झुण्डिएका बाल मजदुरझँै देखिने साना केटाहरु खलासी र ट्राफिक दुवै काम गर्नमा व्यस्त देखिन्छन् यहाँ । यी बस कन्डक्टरको भूमिकामा हुन्छन् तर बसको ढोकामा उभिएर हात बाहिर निकाल्दै चारपांग्रे र दुईपांग्रे गाडीलाई ट्राफिकले झँै  दिशा निर्देश गरिरहेका हुन्छन् । ठूला गाडी अगाडिको थुतुनो र पछाडिको भागलाई अष्टावक्र शैलीमा रोक्ने र हाँक्ने गर्दा बसकोे गति र दिशा थाहा नपाएर यो ठाउँमा दुर्घटना हुने गरेको छ । सबै बाटोको टर्निङहरुमा यस्ता थुतुनो पसारेर चुरोट उडाउँदै गरेका ड्राइभरले पछाडिको आवतजावत निषेध गरेर जाम गरिरहेका हुन्छन् । बुधबार पनि यिनै कारण घण्टाँै यहाँ जाम भयो  ।

तीनकुनेबाट अगाडि बढी नयाँ बानेश्वरतिर हेर्दा आकाशमा पुरै धुवाँ र धुलोको कुहिरीमण्डलबाहेक  केही देखिन्न । यहीँनेर ६ लेन बाटोको बीचमा एउटा पोखरी भेटिन्छ । वर्षायाममा यो पोखरीमा गाडीका चक्कामात्र डुब्ने होइन, मोटरसाइकलमा सवार यात्रु आफ्नो दुवै खुट्टा बाइकमाथि राखेर जोखिमपूर्ण यात्रा गरिरहनु सामान्य चलन भएको छ । किन यो ६ लेन बाटोको दायाँ वायाँ धुलोको खानी  बन्न गयो ? र, किन ६ लेनको बाटो बीचमा जाम हुने पानी नजिकैको वाग्मतीमा पु¥याउन सकिएन भनी अनेकन्तवरले देशका शासक र प्रशासकसँग जान्न र बुझ्न खोजेँ  । सबैले ६ लेन बाटो बनाइदिने जापानलाई दोष दिए । अब बाटोमा जमेको पानी र धुलो हटाउन जापान सरकारले अनुदान सहयोग दिनुको विकल्प छ कि छैन थाहा भएन ।

 तीनकुनेबाट अगाडि बढेपछि बीचैमा भाँच्चिएको र अहिले मर्मत सम्भार भइरहेको वाग्मती पुल छ । ६ लेन बाटो बनेको वर्षौं भइसक्दा पनि पुलनेर यो ६ लेन बाटो अपांग भएर दुई लेनमा परिवर्तित हुन्छ । भनिन्छ, स्रोत र  साधनको अधिकतम उपयोग गर्दा नै विकासोन्मुख देश विकशित देश बन्छ भनेर । तर किन हो नेपालमा साधनको अधिकतम होइन न्यूनतम उपयोग पनि हुन नसकिरहेको उदाहरण यही जापानी अनुदानमा बनेको ६ लेन बाटोलाई लिन सकिन्छ । । अझ देशको विकास नीति निर्माण केन्द्र सिंहदरवार छेउछाउ नै स्रोत र साधनको चरम दुरुपयोग भइरहेको छ भने राजधानीबाहिरको अवस्था कस्तो होला ?

 यो लेख सुरु गर्नुपर्ने कारण नेपालको अलपत्रे विकास नीतिमा प्रकाश पार्नु थिएन, छैन । यो त दशैका बेला कष्ठप्रद् तरिकाले आफ्नै देशका नागरिक एक ठाउँबाट अर्को ठाउँ जान जुन हैरानी भोग्दैछन् त्यसको दाँजोमा केही पनि नहोला । तर देशका शासक र प्रशासकको गैरजिम्मेवारीपनाको उदाहरण हेर्न अन्त कतै जानुपर्दैन, सिंहदरवारको नाकैमुनि छ भन्ने उदाहरणमात्र हो माथिको व्यथा ।

सबैलाई थाहा छ नेपालको विकास नीति शासक र प्रशासकको तजविजी अधिकारबाट अगाडि बढिरहेको छ । यी दुईबीच हुने लेनदेन र सहमतिबाट नेपालको विकास नीति निर्धारण हुने गर्छ । फाइदा दुवैको हुनुपर्छ विकासमा तलदेखि माथिसम्म, केन्द्रदेखि जिल्लासम्म । नयाँ बानेश्वर चौकछेउ पुग्दा ७ किमि बाटोमा मेरो यात्रा समयले एकघण्टा काटिसकेको थियो । हिजोआज लेन मिच्न नपाइने भन्ने प्रहरी आदेशलाई पालना गर्दै नयाँ बानेश्वर चौकको लामो लाइन पछाडि मेरो स्कुटर रोकेँ र ट्राफिकको इशारा पर्खिबसेँ ।

 मेरो छेउबाट एउटा सेतो प्लेटको थोत्रो गाडी धुँवाको मुस्लो निकाल्दै लेन मिचेर अगाडि बढ्यो । गाडीभित्र एकजना प्रशासक टाउको निहुराएर पत्रिका पढेझैँ गरी बसेका थिए, मैले चिन्ने प्रयत्न गरेँ तर सकिन । ती सरकारी ड्रेसमा थिए । लेन पालन गरी बसेका आमनागरिकलाई त्यो सेतो प्लेटको गाडीले चुनौती दियो । शासक र प्रशासकलाई अश्लील गालीका प्रतिक्रियाहरु लेनमा बस्ने सर्वसाधरणबाट आयो  । एउटा राजा गए अहिले सयकडौं राजा भए भन्ने कुरा पनि निस्किए । तर सेतो प्लेटमा सवार नयाँ राजाको गाडी धुवाँको  कालो मुस्लो निकाल्दै नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय भवनभित्र छि¥यो । सम्भवत ती नयाँ नेपाल कोर्न व्यस्त होलान् जसलाई देशको नियम कानुन मान्नुपर्दैन । जर्ज ओरवेलले एनिमल फर्ममा भनेझँै ‘सम आर मोर द्यान इक्वल’ यिनै जस्तालाई  होला ।  

नयाँ बानेश्वर चौकमा अनुशासित र लामबद्ध भई रोकिएका सर्वसाधरणले ट्राफिक प्रहरीको इशारा पाएपछि माइतीघर मण्डलातर्फ बढे । हामी नयाँ बानेश्वर चौकबाट केही अगाडिमात्र बढेका थियाँै, लेन मिच्दै आएको प्रहरी दस्ताको गाडीभित्रबाट एकजना प्रहरीको हातले हामीलाई साइड लाग्न भन्यो । मैले टेरिन । र, म ठिंग प्रहरी भ्यानअगाडि स्कुटर उभ्याएर बसेँ । प्रहरीले भ्यानलाई केही  साइड लगाएर अगाडि बढ्यो । प्रहरीको भ्यानपछाडि भूतपूर्व भिभिआइपी सवार गाडी  थियो । ती भिभिआइपी एकजना कमरेड रहेछन् ।

कमरेड टाउको निहुराएर कुनै कागज पढेझैँ गरी गाडीभित्र बसेका थिए । कमरेडको गाडीले लेन मिचेको मात्र होइन, लेन नै ‘क्याप्चर’ गरेको थियो । नयाँ बानेश्वर चौकदेखि विजुलीबजारसम्म पूरा गाडीको ताँती थियो जाम । भिभिआइपीकोे गाडीभित्रको मुद्रा ठीक केहीबेरअगाडि सेतो प्लेटमा चढेका प्रशासकझँै मैले देखेँ । सुदूर पश्चिमबाट एमालेको वरिष्ठ पदमा पुगेका उनी विगतको आफ्नो क्रान्तिकारी छविमाथि वर्तमानको सामन्ती प्रतिनिधिको लेपन चढाएर सिसा चढाएको कालो कारमा फुरुंग थिए । उनी अहिले मन्त्री छैनन, कुनै संवैधानिक पद पनि उनीसँग छैन अनि कसरी उनी मभन्दा छुट्टै यो देशको नागरिक भए र म नियमसम्मत हिँडेकोलाई बाटो छेक्ने अधिकार तिनी राख्छन् ?  मैले बुझ्न सकिन ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा सहयात्री हुने ती कालो सिसाको कारभित्र बस्ने एक्लो पात्र पक्कै थिएनन् होला, लेनमा अनुशासित हजाराँे सर्वसाधरण नागरिक पनि लोकतान्त्रिक आन्दोलनमा सहभागी थिए विगतमा ।  म पनि थिएँ । नेपालमा यस्ता माक्र्सवादीहरुले जति माक्र्सवादको माखौल उडाएका छन्, संभवत् विश्वमा कहीँ कसैले उडाएका छैनन् होला । संभवत् कार्ल माक्र्सले आफ्ना अनुयायी यस्तै त हुने छैनन् भनी त्यही समय ‘एपिक्युरियस’ विचारमाथि ‘पिएचडी’ थेसिस लेखेको यही बुझेर होला ।  

कार्ल माक्र्स सहस्राब्दीकै महान् दार्शनिक मानिन्छन्, निसन्देह उनी थिए पनि । माक्र्सले आफ्नो पिएचडी ‘एपिक्युरियन विचार’ माथि गरेका थिए । इशापूर्व नै कम्युन विचारबाट अगाडि बढेका दार्शनिक एपिक्युरसको विचार र प्रयोगबाट आकर्षित भएका माक्र्सले उनलाई आफ्नो अध्ययन र अनुसन्धानको विषय बनाउनुपर्ने कारण थियो । माक्र्सले युरोपमा एपिक्युरियनहरु विलासी भएको देखेका थिए । राम्रो खाना, राम्रो वाइन र राम्रो रेस्टुराको सिम्बोल नै बन्यो एपिक्युरियन शव्दावली ।

व्यक्तिको स्वतन्त्रता, ठूलो र सानोको फरक मानव जातिमा हुनुहँुदैन र उच्च भौतिकवादी जीवनभन्दा साधारण जीवनमा नै खुसी रहनुपर्छ भन्ने सिद्धान्तलाई माक्र्सले एपिक्युरियसबाटै बुझेका थिए । फ्रेन्च क्रान्तिका नायक रोवेस पियरे सच्चा एपिक्युरियन मानिन्छन् ।  नेपालका कमरेडहरुले न कार्ल माक्र्स बुझिरहेका छन् र एपिक्युरियस । जसरी नेपाली कांग्रेसका समाजवादीहरुले समाजवादको हुर्मत लिए  नेपालका माक्र्सवादीहरुले कार्ल माक्र्सको पनि हुर्मत लिइरहेका छन् ।

अब यो लेखको निचोडमा आउन चाहन्छु । नेपालले आर्थिक विकास र भौतिक पूर्वाधारमा  विकास गर्न सकेको छैन । यसमा समय लाग्छ भनेर सबै नेपाली नागरिकले चित्त बुझाउन सक्छन् र जोखिमपूर्ण यात्रा पनि गरिरहेकै छन् । तर राजनीतिक समानता र राज्यबाट विभेद अन्त नहुँदा क्रान्तिको वातावरण बन्छ । मेरो काठमाडौंदेखि काठमाडौंसम्मको यात्रा जारी छ । यसक्रममा मैले लाखाँै नेपाली राजधानी छाडी मोफसलमा जाँदै गरेको दिनहुँ देखिरहेको छु । र, तिनले देशभर दिने सन्देश एउटै छ– ‘अझै क्रान्ति पुगेको छैन ।’ साधरण नेपालीका लागि राजनीतिक परिवर्तन त भएकै रहनेछ । राजधानीका शासक र प्रशासक अझै पुरानै ढर्रामा छन् । यी चेतेका छैनन् ।
 

 

प्रकाशित: १८ आश्विन २०७३ ०१:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App