७ वैशाख २०८१ शुक्रबार
अर्थ

'बिटुमिन'मा बदमासी, साता पनि टिकेन कालोपत्रे

वीरगन्ज- सडकको कालोपत्रे नटिकेको र खराब सडकले सवारी दुर्घटना हुँदा मानिसले ज्यान गुमाउनु परेको जस्ता खबर दिनदिनै आइरहँदानेपालमा भित्रिने बिटुमिनको गुणस्तर परीक्षण नगर्ने गरिएको तथ्य फेला परेको छ। सडक, राजमार्ग र विमानस्थलको 'रन–वे' बनाउन प्रयोग गरिने प्रमुख वस्तु हो 'बिटुमिन', जसलाई बोलचालमा 'अलकत्रा' वा 'पिच' भन्ने चलन छ। निर्माण गरिएको संरचनाको माथिल्लो सतह चिल्लो र लचिलो बनाउनेदेखि भित्री तहसम्म मजबुत आधार दिन प्रयोग गरिने यो निर्माण सामग्री नेपालमा गुणस्तर परीक्षणबिना बेलागमा भित्रन्छ।

भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७२/७३ मा ४० हजार ५ सय ३१.७३२ मेटि्रक टन बिटुमिन नेपाल भित्रिएको छ। जसको गुणस्तर परीक्षण गरिएको रेकर्ड कतै छैन।नेपालभर गत आवमा भारतबाट मात्र २६ हजार २ सय २.६५६ मेटि्रक टन बिटुमिन आयात भएको छ। त्यस्तै साउदी अरबबाट १२ हजार ९ सय २५.४३५ मेटि्रक टन, सिंगापुरबाट ९ सय ९.६६१ मेटि्रक टन र मलेसियाबाट ४ सय ९३.९२० मेटि्रक टन बिटुमिन आएको छ।

बेग्लाबेग्लै ठाउँबाट आएकाको गुणस्तर फरक फरक हुने तथ्य मूल्यले देखाउँछ। भन्सार पास गराउँदा आयातकर्ताले घोषणा गरेको मूल्यअनुसार सिंगापुरबाट आयात भएको बिटुमिन ५९ रुपैयाँ ४८ पैसा प्रतिकिलो छ भने मलेसियाको ३६ रुपैयाँ र अरबबाट आएकोलाई ३८ रुपैयाँ७४ पैसा। भारतीय बिटुमिन सबभन्दा सस्तो १७ रुपैयाँ ४० पैसा प्रतिकिलोमा भित्रिएको छ। जबकी भारतमै पनि गुणस्तरीय बिटुमिन उत्पादन गर्ने ठूला कम्पनी छन्।

तथ्यांकले के देखाउँछ भने भारतबाट सस्तो पर्ने किसिमले बनाइएको बिटुमिन अधिकांश मात्रामा भित्याइएको छ। भारत सरकार स्वामित्वको हिन्दुस्तान पेट्रोलियम लगायतको बिटुमिन भनेर त्यस्ताखाले कमसल बिटुमिन नेपाली कम्पनीलाई बेच्ने गरिएको एउटा ठूलो निर्माण कम्पनीका सञ्चालकले दाबी गरे। पेट्रोलियमको कच्चा तेल प्रसोधन गर्ने 'रिफाइनरी'मा पेट्रोल, हवाई इन्धन, डिजेल, खाना पकाउने ग्यास र मट्टीतेल जस्ता तयारी सामग्री निकालिएपछि बाँकी आउने तरल 'रिफाइनिङ क्रुड आयल'बाट बिटुमिन बन्ने हो।

भारतमा इराक, इरान र अरेबियन मुलुकबाट त्यस्तो 'रिफाइनिङ क्रुड आयल' ल्याएर त्यसबाट बिटुमिन बनाएर बेच्ने अनेक कम्पनी छन्। त्यस्ता भारतीय कम्पनीबाट सस्तोखाले बिटुमिन नेपालमा बढीमात्रामा भित्रिएर यहाँ खपत हुने गरेको छ।

नेपालको लागि हिन्दुस्तान पेट्रोलियमको बिटुमिन आयात गरेर बेच्ने कम्पनी काठमाडौं टेकुस्थित पायनियर नेपालका सञ्चालक पवन गुप्ता अग्रवालले आफूहरुले गुणस्तरीय बिटुमिनको मात्र व्यापार गर्ने गरेको बताए।

आफूहरुले हिन्दुस्तान पेट्रोलियम बाहेकको बिटुमिन आयात वा बिक्री नगरेको दाबी गरेका उनको वीरगन्ज पथलैया सडकखण्डको रामपुर टोकनीस्थित भण्डारण स्थलमा भने हिन्दुस्तान पेट्रोलियम बाहेकका र कम्पनी नखुलेका हजारौं ड्रम बिटुमिन भेटिएको छ। त्यसमा भारत महाराष्ट्रको 'टिकी टार' भन्ने कम्पनीको उत्पादन र इरानको तेहरानस्थित 'जेय आयल' लगायत कम्पनीका उत्पादन भेटिए। 'हामीले त्यो ठाउँलाई भाडामा पनि दिने गरेका छौं, कुनै निर्माण कम्पनीले आफ्नो बिटुमिन त्यहाँ ल्याएर राखेका होलान्,' अग्रवालले भने, 'हिन्दुस्तान पेट्रोलियम बाहेकको अरु कम्पनीका ड्रम हाम्रा होइनन्।'

उनले आफूहरु पनि गुणस्तर नियन्त्रणको सरकारी संयन्त्र हुनुपर्ने वकालतमा रहेको दाबी गरे। गुणस्तरीय बिटुमिन उपलब्ध हुन नसकेको भनी आफूहरुले सडक विभाग र वाणिज्य विभाग लगायत नेपाल सरकारका निकायको ध्यानाकर्षण गराउँदै आएको निर्माण व्यवसायीको दाबी छ।

सडक टिकाउ बनाउन बिटुमिनको गुणस्तरर त्यसको भारवहन क्षमतामा धेरै महत्वराख्ने गरेको नेपाल इन्जिनियर्स एसोसिएसन वीरगन्ज रिजनका पूर्वअध्यक्ष अवधेश तिवारी बताउँछन्। 'देशमा भइरहेका सडक निर्माण वा अरु विकास निर्माणका काममा गुणस्तर कायम गर्ने सरकारको दायित्व हो,'उपभोक्ता अधिकारकर्मी समेत रहेका अधिवक्ता अमयकुमार दासले भने, 'बिटुमिन बाहिरबाट आउने हो नांगो आँखाले त्यसको गुणस्तर ठम्याउन सकिन्न। हाइवे लगायत ठूलादेखि साना कालोपत्रे सडक निर्माणमा यो महत्वपूर्ण वस्तु हुने भएकाले यसको गुणस्तरमा विशेष ध्यान दिनुपर्नेमा हेलचेक्र्याइँ हुनु दुर्भाग्यपूर्ण छ।'

यता ठेकेदारहरु भने सरकारी कमजोरीलाई दोषी मान्छन्।'कमसल बिटुमिन आयात गरेर गुणस्तरीय भनेर बेचिरहेका छन्, एकातिर देशको लागि महत्वपूर्ण मानिएका परियोजनामा न्यूनगुणस्तरको सामग्री प्रयोग हुँदा राष्ट्रलाई नोक्सानी हुन्छ, अर्कोतिर हामी निर्माण व्यवसायीकोबदनामी हुन्छ,' नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार रहेका निर्माण व्यवसायी हरिनारायण रौनियारलेभने, 'हामीले निर्माण व्यवसायीले जिम्मेवार निकायको ध्यानाकर्षण गराउादै आएका छौं।' बिटुमिनको गुणस्तर जाँचेर भन्सारमा आयात हुन दिने भनेर व्यवस्था नभएको वीरगन्ज भन्सारका प्रमुख सेवन्तक पोखरेलले बताए।

विभागहरु पन्छिँदै

भन्सार मूल्यलाई आधार मान्दा ५ अर्ब ५३ करोड ६० लाख रुपैयाँ खर्चेर आयात गरिएको बिटुमिनको गुणस्तर नियमन गर्ने सरकारी निकाय खोजेर पनि भेटिँदैन। यो रकमको अंक अझ नेपालको बजार मूल्यको कुरा गर्ने हो भने १० अर्ब नाघ्ने निर्माण व्यवसायी बताउँछन्। उनीहरुका अनुसार गत वर्ष साढे ४ महिना नाका बन्द हुँदा कारोबार घटे पनि समान्यतया नेपाल १५ अर्बभन्दा बढीको बिटुमिनको बजार हो। यसको गुणस्तर हेरिदिने भने निकाय छैन्।

'बिटुमिनको गुणस्तर नियन्त्रण हाम्रो काम होइन।वाणिज्य विभागको काम हो,' सडक विभागका योजना तथा डिजाइन शाखाका प्रमुखसमेत रहेका सूचना अधिकारी दयाकान्त झाले भने, 'यसमा अख्तियारले वाणिज्यलाई निर्देशन पनि गरेको छ।' वाणिज्य विभागका अधिकारी भने यसमा आफूहरुको कुनै जिम्मेवारी नरहेको बताउँछन्। 'हाम्रो काम फर्म दर्तामा सीमित छ, अनुगमन गर्ने पहिले थियो, अब बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण विभाग बेग्लै भइसक्यो,' वाणिज्य विभागका निर्देशक प्रदीप सुवेदीले भने। त्यहाँका अर्का निर्देशक हरिनारायण बेल्वासेले बिटुमिनको गुणस्तर नियन्त्रण नेपाल गुणस्तर तथा नापतौल विभागले गर्नुपर्ने बताउँछन्।

'नेपालमा कुनै बिटुमिन कम्पनीले स्वतः स्फूर्त रुपमा हामीकहाँ नेपाल गुणस्तर चिह्न लिन आएमा दर्ता गरिदिएर अनुगमन गर्ने हो,' गुणस्तर तथा नापतौल विभागका सूचना अधिकारी सञ्जु ठाकुरले भने, 'चिह्ननलिएकालाई हेर्ने हाम्रोमा पर्दैन।' उनले सडक विभागले बिटुमिनको गुणस्तर नियमन गर्नुपर्ने ठम्याए।

प्रकाशित: १८ आश्विन २०७३ ०६:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App