coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सिन्धुपाल्चोकका पाँच बस्ती उच्च जोखिममा

पहिरोमा परेको सिन्धुपाल्चोकको लिपिङ बजार। फाइल तस्बिर/नागरिक

सिन्धुपाल्चोक–भूकम्पले थिलथिलो बनाएको सिन्धुपाल्चोकका पाँच बस्ती उच्च जोखिममा रहेको बिज्ञले औँल्याएका छन् । जोखिम बस्तीलाई सुरक्षित स्थान पहिचान गरी पुनर्वास गराउनसमेत उनीहरुले सुझाएका छन् ।

खानी तथा भूगर्भ विभागको अध्ययन टोलीले जिल्लाका सात गाउँ असुरक्षित रहेको पहिचान गर्दै पाँच बस्ती निकै जोखिममा रहेको ठहर गरेको हो । टोलीका अनुसार बढी जोखिमका बस्ती तत्काल अन्यत्र सार्नु पर्नेछ ।

‘पहिरो र धाँजा फाटेकोले बस्ती जोखिममा छन्,’ बिज्ञ टोलीको प्रतिवेदन उद्धृत गर्दै सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सिन्धुपाल्चोकका प्रमुख इन्जिनियर डा. युवराज पौडेलले नागरिकन्युजसँग भने, ‘जमिन तीन मिटरसम्म भासिएको पाइएको छ ।’

बस्ती दोहोरो पहिरोको चेपुवामा परेको उनले बताए । ‘बस्ती माथिबाट पहिरो खसिरहेको छ । तलबाट अर्को पहिरोले बस्ती तान्दै छ,’ डा. पौडेलले भने । भूकम्पले निम्त्याएको पहिरो नियन्त्रण गरेर कम जोखिमका बस्ती भने त्यहीँ पुनस्र्थापना गर्न सकिने सुझाव विज्ञको छ । केही भूकम्प पीडित सुरक्षित स्थलमा सरे पनि धेरै जोखिम बस्तीमा बसिरहेका छन् । एक सय भन्दाबढी घरपरिवार जोखिममा छन् ।

विज्ञको प्रतिवेदनअनुसार १७ परिवारको बसोबास रहेको बाह्रविसे–७ रुम्ती टोली पहिरोको प्रत्यक्ष मारमा परेको छ । त्यहाँ बस्तीमूनि दुईटा पहिरो सक्रिय छन् । १० मिनेटको दुरीमा रहेको पहिरोले बस्ती तान्दा बिजुलीका पोल बांगिएका छन् । जमिनमा ठूल्ठूला भ्वाङ परेका छन् ।

जलवीर–१ को खमारे गाउँका २३ परिवार जोखिममा छन् । भूकम्पले पूरानो पहिरो सक्रिय बनाउँदा बस्ती जोखिममा परेको हो । बस्तीमाथिको पहिरोबाट निरन्तर ढुंगा खस्छ । यहाँ साढे दुई मिटर जमिन भासिएको विज्ञले औँल्याएका छन् । २०७१ साउनमा गएको पहिरोले घर पुर्दा खमारेमा पाँचको ज्यान गएको थियो ।  
१४ परिवारको बसोबार रहेको बराम्ची–१ बेते गाउँको जमिन चिरैचिरा परेको छ । भूकम्पले गाउँ माथिको पहिरो सक्रिय बनाएको छ । भूकम्पपछि यहाँका केही पीडित जलवीरको कोइरालाडाँडामा सरेका छन् । विगतदेखि नै कमजोर भूभागमा बसेको बस्ती भविश्यमा समेत असुरक्षित रहेको प्रतिवेदनमा उल्लेख छ ।

लिस्ति–४ को गुम्बा गाउँ दोहोरो पहिरोको चेपुवामा छ । यहाँ २५ घरपरिवारको बसोबार छ । बस्ती माथि र तलबाट चट्टाने पहिरो निम्तिएको छ । दुई मिटर जमिन भासिएको छ भने पानीको स्रोत जमिनभित्र दबेर बस्तीमूनि निक्लिएको छ । पूरानो पहिरोमै बस्ती बसेको बिज्ञले पहिचान गरेका छन् । ३३ परिवार बस्ने हिमाली गाउँ गुम्बा–२ तापगाउँ तीन मिटर भासिएको छ । जमिनमा धाँजा फाटेको छ । गाउँमाथिको चिराबाट बर्खामा लेदो पानी बहेको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिम बस्ती सुरक्षित स्थानान्तरण र पुनर्वास गर्न सम्भावित ठाउँको पहिचान गर्न सहरी विकास मन्त्रालयलाई पत्राचार गरेको छ । ‘मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइको निर्देशन अनुसार जोखिमका बस्ती पुनर्वास गराउन सुरक्षित स्थानको खोजी गरिरहेका छौं,’ डिभिजन प्रमुख डा. पौडेलले भने ।

प्राधिरकण अन्तर्गतको निर्देशक समितिसमेतको संलग्नतामा भूकम्प प्रभावित जिल्लाका जोखिम बस्तीको अध्ययन भएको थियो । महिना लामो अध्ययन सकेर बिज्ञ टोलीले गएको भदौमा प्रतिवेदन प्राधिकरणलाई बुझाएको थियो । टोलीले सिन्धुपाल्चोक, दोलखा, रसुवा, गोरखासहित नौ जिल्लाका ५७ बस्ती जोखिममा रहेको निष्कर्ष निकालेको छ । टोलीलले ती जिल्लाका १ सय १७ गाउँको अध्ययन गरेको थियो ।

प्रकाशित: १९ आश्विन २०७३ १०:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App