coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रविधि

कामिनीको कर्म

काठमाडौं– काठमाडौं उपत्यकाका काँठ तथा अग्ला टाकुरामा पुसको चिसो पिँ्कजिएको थियो। २०१८ सालको यो चिसोमा भुवनबहादुर प्रधानको घर भने उमंगको रापले न्यानो भएको थियो। न्यानो उज्यालोमा चमक थपेकी थिइन्, कामिनी प्रधानले। त्यहीं उज्यालो दियो समयान्तरमा प्राविधिक क्षेत्र हाँक्ने नेतृत्व बनेर उभियो, कामिनी राजभण्डारीको रूपमा।

मुलुकको प्राविधिक निकाय नेपाल टेलिकमको प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेकी छन् अहिले उनले। सूचना तथा सञ्चारले जोडेर मुलुकमा विकासको उज्यालो छर्ने उनको अठोट छ। २०४२ सालमा सेवा प्रवेश गरेकी उनले यो क्षेत्रमा ३१ वर्ष बिताइसकेकी छन्। लामो अनुभव र आफूमा आएको नेतृत्वको निखारलाई टेलिकमको आधुनिक विकासमा खन्याउने उनको प्रतिबद्धता छ।

हिमालय विद्या मन्दिर, काठमाडौंमा कक्षा ६ सम्म अध्ययन गरेकी राजभण्डारी सात कक्षा नपढी डिल्लीबजार कन्या स्कुलमा आठमा भर्ना भइन्। सोही स्कुलबाट २०३४ सालमा एसएलसी पास गरेकी हुन् उनले। कडा मिहिनेतकै कारण पढाइमा उनी कहिल्यै दोस्रो हुनु परेन। प्रथम श्रेणीमा एसएलसी पास गरेपछि उनले ठमेलस्थित अमृत साइन्स क्याम्पसबाट आइएस्सी पूरा गरेकी थिइन्।

सूचना तथा सञ्चारले जोडेर मुलुकमा विकासको उज्यालो छर्ने कामिनीको अठोट छ। २०४२ सालमा सेवा प्रवेश गरेकी उनले यो क्षेत्रमा ३१ वर्ष बिताइसकेकी छन्।

आइएस्सी पूरा गर्नासाथ उनले 'कोलोम्बो प्लान स्कलरसिप' पाइन। र, पन्जाब इन्जिनियरिङ कलेज, चण्डीगढबाट प्रथम श्रेणीमा 'इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल इन्जिनियरिङ' मा स्नातक पूरा गरिन्। स्नातक सकेपछि उनी नेपाल फर्केर टेलिकममा सातौं तहको इन्जिनियरिङ पदमा ज्यालादारीमा काम गर्न थालिन्। ३१ वर्षअघि सातौं तहबाट सेवा सुरु गर्दा उनलाई आजको उचाइमा पुग्छु भन्ने कल्पना थिएन। तर, जिम्मेवारी पाए जुनसुकै तहको नेतृत्व गर्न सक्छु भन्ने हिम्मत थियो।

टेलिकममा प्रवेश गरेको १५ वर्षपछि थप उच्च शिक्षाका लागि उनी बैंकक हिँडिन्। 'एसियन इन्स्टिच्य्ट अफ टेक्नोलोजी बैंकक' बाट उनले 'म्यानेजमेन्ट अफ टेक्नोलोजी' मा स्नातकोत्तर पूरा गरिन्। डटेर जिम्मेवारी पूरा गर्ने र नेतृत्व लिन पछि नहट्ने क्षमताकै कारण सेवा प्रवेशको एक वर्षमै टेलिकममा उनको स्थायी नियुक्ति भयो। निरन्तर काममा खट्ने र जोखिम लिन नडराउने क्षमताले राजभण्डारीलाई छिटो छिटो माथिल्लो तहमा पुर्‍यायो। जागिरे यात्राको २९ वर्षमा उनी ११औं तह अर्थात् उपप्रबन्ध निर्देशकको जिम्मेवारीमा पुगेकी थिइन्।

११औं तहका सबै कर्मचारीभन्दा वरिष्ठ भएकै कारणले मात्र सरकारले प्रबन्ध निर्देशकमा नियुक्त गरेको होइन् उनलाई। यथार्थमा यो संस्थाको प्रबन्ध निर्देशक नियुक्तिका बेला हुने आर्थिक चलखेल र अन्य प्रभाव खुला सत्य हुन्। वास्तवमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले अन्य चलखेललाई बेवास्ता गर्दै कामिनीको काँधमा संस्थाको जिम्मेवारी दिने निर्णय गरेका हुन्।

सरकारी सेवामा यसरी फड्को मार्न उनलाई केले प्रोत्साहन गर्‍यो? उनी सम्भि्कन्छिन्– सानैदेखि बुवाले पढाइमा ध्यान दिनुभयो। हाम्रो परिवार शिक्षित थियो। सबै बुवा र काकाहरू डाक्टर, इन्जिनियर हुनुहुन्थ्यो। यसैले मलाई इन्जिनियरिङतिर तानेको हो। कामिनीका बुबा आफैं इन्जिनियर थिए। मेकानिकल इन्जिनियर प्रधान ५० वर्षअघि जनकपुर–जयनगर रेलवेको म्यानेजर थिए। पछि उपत्यकाको ट्रली बस व्यवस्थापनको जिम्मेवारी सम्हाले। निरन्तर काम गर्ने र डटेर जिम्मेवारी पूरा गर्ने बुवाको बानीले आफूलाई प्रेरित गरेको ठान्छिन्, उनी।

बिहेअघि बुबाको लगनशीलता र आमाको संस्कारले उनमा नेतृत्व क्षमताको जग बसालेको थियो। २६ वर्षमा उनको दिगम्बरप्रसाद राजभण्डारीसँग विवाह भयो। यसपछि हरेक समस्या र अप्ठ्यारा मोडमा श्रीमान्ले उनको साथ छोडेनन्। नेपाल वायु सेवा निगमको निर्देशक रहेका दिगम्बरले घरायसी जिम्मेवारी सम्हालेर कामिनीलाई अघि बढ्न हौसला दिन्थे। तालिम, गोष्ठी तथा सेमिनारमा श्रीमतीले सधैं नेतृत्व समालेको हेर्न चाहन्थे, दिगम्बर। 'यही प्रेरणाले मलाई टेलिकमको यो नेतृत्वमा पुर्‍याएको हो,' उनले भनिन्।

टेलिकमको स्विचिङबाट सेवा प्रवेश गरेकी उनले मर्मत, सञ्चालन, योजना, सूचना प्रविधि, व्यवस्थापनलगायत आयोजनाको जिम्मेवारी सम्हालेकी छन्। तारसहितको टेलिफोन (ल्यान्डलाइन) सेवालाई डिजिटल प्रविधिमा पुर्‍याउनुमा उनको ठूलो योगदान छ। यस्तै, जिएमएम मोबाइल आयोजनाको प्रबन्धक भएर उनले सेवामा गुणस्तर कायम गर्दै देशभर सेवा विस्तारमा जोड दिइन्। उनलाई विश्वास छ– टेलिकमका आधा दर्जन बढी निर्देशनालयको जिम्मेवारी एवं अनुभवले उच्च तहमा पुर्‍याएको हो।

प्रकाशित: २२ आश्विन २०७३ ०३:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App