५ वैशाख २०८१ बुधबार
कला

कलाका 'महाकाली'

नारीलाई आदि शक्तिका रूपमा पुजिने पर्व हो, दसैं। दसैंमा नारी शक्तिको प्रतीकका रुपमा नवदुर्गा, काली, दुर्गाभवानी लगायत माताको  पूजा–आराधना गरिन्छ। हिन्दू धर्मशास्त्रले यी प्रतीक वा स्वरुपलाई नारीभित्रको सकारात्मक ऊर्जा र सृष्टिकै जननी शक्तिका रुपमा व्याख्या गरेको पाइन्छ।

यी आदि शक्तिले दानव शक्ति वा भनौं समाजको खलपात्र महिषासुरको नाश गरी मानवताको रक्षा गरेको धर्मशास्त्रमा उल्लेख छ। क्रिस्चियन धर्ममा पनि यशुलाई जन्म दिएर संसारको रक्षा गर्ने नारी शक्ति भनेर 'मेरी क्रिसमस' मनाइन्छ। मुस्लिम धर्मले पनि जन्म दिने आमा अल्लाहजस्तै मान्य हुन्छन् भन्ने मान्यता राख्छ। जे–जसरी होस् नारी शक्तिको सम्मान हरेक धर्म र संस्कारले गर्छ। नेपालमा भने पर्वकै रुपमा नारी शक्तिलाई पूजा–आराधना गरिन्छ, हर्षोल्लास मनाइन्छ। पूजा गर्नेले पूजा गर्छन्। नगर्नेले पनि दसैंको नितान्त फरक संस्कारमा घुलमिल भएर रम्छन्। जसो गरे पनि नारी शक्ति छ भन्ने आभास हरेकले दसैंमा गर्छन्।

सिनेमामा नारी शक्ति उजागर गर्ने रेखा

कला क्षेत्रका नेपाली नारीले समाजलाई संस्कृतिको जर्गेना वा समाजलाई सुसंस्कृत बनाउन, समाजमा उत्पीडित नारीमा शक्ति जगाउन भूमिका खेलेको पाइन्छ। नारीलाई करुणा र शक्ति खानीका रुपमा देखाइएका धेरै चलचित्रमा अभिनय गरेकी छिन्, नायिका रेखा थापाले। काली, रावण, मालतीको भट्टी, रामप्यारी जस्ता उनी अभिनीत चलचित्र नारी शक्तिकै उजागर र आराधनामा आधारित छन्। अहिले उनी डायरी चलचित्रमा अभिनय गरिरहेकी छिन्। यसमा नारी शक्तिको फरक रुपमा उनी देखिँदैछिन्।

अहिले उनी डायरीकै सुटिङको दौरानमा छन्। सुटिङ युनिटसँग सुरुवाती दसैं मनाएपछि विराटनगरको घरमा दसैं मनाउने उनको योजना छ।

‘आमा, दाइहरु उतै हुनुहुन्छ। अष्टमीको दिन म विराटनगर जान्छु,' उनले भनिन्, ‘मजाले खान्छुु, रमाइलो गर्छु। मान्यजनको हातबाट टीका लगाउँछु, आफन्तलाई भेट्छु।'

उनलाई दसैं ताकाको सुन्दर मौसम निकै मन पर्छ। यो मौसममा सडकमा बालबालिकासँगै लंगुरबुर्जा खेल्ने योजना पनि छ उनको।

‘पिङ पनि खेल्छु,' उनी उत्साहित हुँदै भन्छिन्, ‘तास खेल्न साथीहरूले सिकाउँछु भनेका छन्।'

टीका लगाउने, मामाघर जाने, नयाँ लुगा लाउने यी सबै कुराले नै मन फुरुंग हुन्छ उनको। उनीसँगै रहेकी नायिका छुल्ठिम गुरुङ यसपालिको दसैं फरक हुने उल्लेख गर्छिन्। चलचित्र डायरीकी निर्मात्री भएकीले पनि उनी कलाकारलाई धेरै दिन छुट्टी दिनुभन्दा सँगै बसेर काम गर्दै दसैं मनाउने सोच सुनाउँछिन्। उनी भन्छिन्, ‘एक–दुई दिन रेस्ट पनि हुन्छ, त्यसपछि फेरि सुटिङ स्पटमै दसैंको रन्को छाउँछ।'

कर्ममा विश्वास गर्ने प्रियंका

अहिले नेपाली चलचित्र छक्का पञ्जा सफलतापूर्वक प्रदर्शन भइरहेको छ। जसकी नायिका प्रियंका कार्की यतिबेला चर्चामा छिन्। उनी छक्का पञ्जाको प्रचारप्रसारसँगै चलचित्र राधेको सुटिङमा व्यस्त छिन्।

राधे भनेको कृष्ण हो तर राधाबाट जन्मेको हो त्यो नाम। 'यसले पनि एउटा पुरुषको पहिचान बन्न नारीको कति भूमिका हुन्छ भन्ने देखाउँछ,' प्रियंका भन्छिन्।

प्रियंका कर्ममा विश्वास गर्छिन्। ‘मेहनत गर्छु। मेहनत र कर्ममा विश्वास गर्छु,' उनी भन्छिन्, ‘त्यसको फल छक्का पञ्जामा देखिएको छ। अब नयाँ फिल्ममा पनि झन राम्ररी देखाउँछु।'

दसैंले नयाँ फिल्ममा काम गर्न नयाँ ऊर्जा दिएको उनी सुनाउँछिन्। यसपालिको दसैं उनी काठमाडौंमै मनाउँदै छन्। राजधानीका ठूला हलमा टाँगिएको छक्कापञ्जाको पोष्टरले पनि प्रियंकाको दसैंलाई उत्साही बनाएको छ।

‘त्यसमाथि मलाई दसैंको बेला काठमाडौंको सडक एकदम मन पर्छ घुमफिर गर्छु,' उनी भन्छिन्, 'धुवाँधुलो हुँदैन। चिसो–चिसो हावामा श्वास लिन मजा आउँछ।' मिलन चाम्सको ‘ह्याप्पी डेज'मा अभिनय गर्न उनी दसैंलगत्तै लन्डन जाँदै छन्।

सफल दीपाश्री निरौला

सफल कलाकार दीपाश्री निरौला यस वर्षदेखि चलचित्र निर्देशकको रुपमा उदाएकी मात्रै छैनन्, सफलता हात पारिसकेकी छन्। उनी निर्देशित फिल्म छक्का पञ्जा भव्य प्रदर्शन भइरहेको छ।

‘दर्शकको मायाले यो दसैं मेरो सुपरहिट भएको छ,' उनी उल्लासमै भन्छिन्, ‘नयाँ उमंग लिएर विराटनगर घर जाँदै छु।'

यसपालिको दसैंमा उनी आफन्तसँग रमाउनेछिन्। उनका पाँच दिदीबैनी र दुई भाइ छन्।

‘बच्चामा म मामाको हातको दक्षिणा हेरेर मात्र टीका लाउँथे,' निरौला बाल्यकालको दसैं अनुभव बताउँछिन्, ‘कम भयो भने लडीबुडी गरेरै पनि दक्षिणा बटुल्थे।'

करिश्माको करिश्मा

नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री करिष्मा मानन्धर यही वर्षदेखि नेतृका रुपमा उदाएकी छिन्। नयाँ शक्ति पार्टी प्रवेश गरेकी करिश्मा अहिले राजनीतिक कार्यमै व्यस्त छिन्। २० दिनजति उनलाई पार्टीले उत्प्रेरकको भूमिका दिएको छ। योबीचमा दसैं पर्छ। फूलपातीसम्म उनी राजनीतिक कार्यमा व्यस्त हुनेछिन्।

करिश्मा भन्छिन्, ‘अष्टमीको दिन नजिकका साथीभाइ बोलाएर खानपिन र रमाइलो गर्छौं,' उनी भन्छिन्, ‘यसपालि छोरी कविता अमेरिकाबाट आउँदिनँ।  यसपालि घरमै श्रीमानसँगै दसैं मनाउँछु। मेरी आमाको हातबाट टीका लगाउँछु।'

दसैं सामाजिक नाता–सम्बन्ध बलियो बनाउने चाड भएको उनको धारणा छ।

कर्मशील माल्भिका

पूर्वमिस नेपाल माल्भिका सुब्बा, मनोरञ्जन क्षेत्रमा निकै मेहनती र 'बोल्ड' नारी मानिन्छिन्। मिस नेपाल भएपछि उनी अरुजस्तो हराइनन्, विवाहपछि पनि उनी मनोरञ्जन क्षेत्रमा सक्रिय रहिन्।

अहिले उनको ६ महिनाका छोरा छन्। 'बाबु सानो छ, उसको खानपिन र हेरविचार गर्नैपर्छ,' माल्भिका भन्छिन्, ‘भर्खर त पास्नी भयो। उसले के खान्छ? कसरी खान्छ? त्यो हेरेरै दसैं जान्छ होला।'

यो दसैं उनले छोराकै लागि सुम्पेकी छिन्। हुन त उनी सुत्केरी भएको दुई महिनामै काममा जान थालेकी हुन्। ‘महिलामा यस्तो शक्ति हुन्छ नि, त्यो पुरुषले अनुमानै गर्न सक्दैन्,' उनको अनुभव छ, ‘बच्चा जन्माएपछि त्यो शक्ति घट्दैन, दोब्बर हुन्छ।'

 

प्रकाशित: २२ आश्विन २०७३ ०४:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App