coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

सुनबिर्के फुल्टिन

टङ्क भट्टराई

त्यस्तो मान्छे सायदै भेटिएला जसले जीवनमा केही नचोरेको होस् । देवताकै कुरा गर्ने हो भने पनि भगवान् कृष्णजस्तो चोर अर्को को थियो होला र ?

    चोर्दाको मज्जै बेग्लै । सानोमा म पनि चोर्नमा खप्पिस थिएँ । मान्छेलाई परिस्थितिले, संगतले र अभावले चोर बनाउँछ । मेरो चोर जीवन यिनैमध्येमा पर्छ । चोर हुँदाका मेरा विशिष्ट अनुभूतिहरू निकै छन् । तीमध्ये केही यहाँ उल्लेख गर्न चाहन्छु ।

     म यस्तै नौ–दस वर्षको हुँदो हुँ । सिमलबोटे चतुरमानका माहिला छोरा रुद्रको बिहे हुने भयो । साइनोले मैले उनलाई दाजु भन्नुपथ्र्यो । उनी प्रहरीमा भर्ना भएका थिए ।

     जन्ती जानुपर्ने थियो मात्तिमको बोफुइँमा । केटाकेटी नाथे न हो रहर र ढिपी थामी नसक्नु हुन्थ्यो । पढ्नमा त पटक्कै रूचि नहुने । खालि खेल्नमा र बरालिनमा मात्रै । कसैको जन्त जान पाउँदा चामलको भात र मासुको झोल खान पाइने भो भनेर हामी खुसी हुन्थ्यौँ र साथीसाथी मिलेर रमाउँथ्यौ । जन्त त जाने, तर लुगा हुँदैनथे । एकजोर लुगाले वर्षभरि पु¥याउनुपथ्र्यो । स्कुल जाँदा तिनै, काम गर्दा तिनै । धुन र नुहाउन त वर्षको त्यस्तै तीन–चार चोटि हुन्थ्यो होला । कपाल, जिउ र लुगाभरि जुम्राको रजाइँ !

     जन्त जानको लागि आमाले माथि कैलासको लुगा मागिदिनुभयो । म थिएँ मरन्च्याँसे बाउन्ने । ऊ भने खाइलाग्दो ज्यान भएको । लुगा काहीँ–कतै मिल्दैनथे । न कम्मर मिल्थ्यो न हात खुट्टाको लम्बाई । त्यै पनि बटारबुटुर पारेर खुसी हुँदै म हान्निएँ सिमलबोटेतिर । पञ्चैबाजा बजिरहेका थिए । बेउलो अन्माउने बेला भएको थियो । बूढापाका, तन्नेरी, केटाकेटी आफ्ना कच्याङमच्याङ परेका लुगा कपडा हेर्दै जन्ती जान तयार थिए । तर, मेरो ध्यान भने अचानक मोडियो । सुनको जस्तै बिर्को भएको सुनबिर्के फुल्टिनतिर । चित्रबहादुर दाइको छोरा रामले भोटाका गोजीमा त्यो फुल्टिन भिरेको थियो । साइनाले भतिज परे पनि ऊ म भन्दा निकै सिनियर थियो । जन्तीको लर्को बाटो लाग्यो । मेरो ध्याउन्न भने फुल्टिनतिर गयो । मेरा आफ्ना थुप्रै साथी थिए, तर ती सबैलाई छोडेर म रामको पछिपछि लाग्न थालेँ । यसो भीडमा फुल्टिनतिर हात बढाउन खोज्थेँ, डर लागिहाल्थ्यो । थाहा नपाएजस्तो गर्थें । केही गरी उसले थाहा पायो भने ‘कति राम्रो रछ, एकछिन हेर्नुपरो’ भनेर फुुुुुत्त निकाली म फुल्टिन सुम्सुम्याउथेँ र फेरि उसको गोजीमा भिरिदिन्थेँ । सिमलबोटेदेखि मात्तिम त्यत्रो लामो बाटोमा पटकपटक प्रयास गर्दा पनि म सफल हुन सकिनँ । बाटोमा बसेको ठाउँ, हिँडेको ठाउँ मैले उसलाई एकैछिन छोडिनँ ।

बेउलीको घर आयो । स्वयम्बरको बेला र जन्ती पर्सिने बेला भीड हुन्छ त्यही मौकामा फुत्त निकाल्न परो भन्ने सोच मेरो थियो । त्यो बेला उसको गोजीमा निकैचोटि हात लगेँ । कहिले कसले देखेजस्तो, कहिले उसैले थाहा पाएजस्तो लाग्थ्यो । त्यो भीडमा पनि मैले फुल्टिन हात पार्न सकिनँ ।

    बेहुली भतेर खाइसकेपछि सबै लाखापाखा लागे आआफ्ना नातागोतातिर । म पनि साँझ परेपछि दौँतरीहरूसँग परालको कुन्यु खोज्नतिर लागेँ । त्यत्रो लामो प्रयास गर्दा पनि फुल्टिन चोर्न नसकेकोमा म निकै दुःखी भएँ ।  अब भोलि कसरी चोर्ने होला ? रातभरि सपनामा पनि त्यही सुनबिर्के फुल्टिन मेरा आँखाअगाडि नाचिरह्यो ।

    बिहान उज्यालो भयो । घरगाँउकाहरू बेहुली अन्माउनतिर लागे । केही जन्ती जन्तेबाख्रो तयार गर्न लागे । रातभरिको परालको धुलो टक्टक्याउँदै म पनि दौँतरीहरूसँग जन्तेबाख्रातिर लागेँ । बिहानीको झुल्के घामसँगै भोटाका गोजीमा सुनबिर्के फुल्टिन टल्काउँदै राम पनि आइपुग्यो । मैले उसको अनुमति लिएर दुई–तीनचोटिजसो सुनबिर्के निकालेर सुम्सुम्याएँ । बिर्को खोलेर हत्केलाभरि लेखेँ । कति राम्रो लेखेको ! म झन् मोहित भएँ । ‘यस्तो फुल्टिन मेरो पनि भए त ! अथवा यसलाई चोर्न पाए त कति काइदा हुने थियो !’ मेरो मन भाँडिन थाल्यो ।

     ‘अबचैँं नचोरी छोड्दिन जे पर्छ परोस्’ आँट कसेँ ।

      जन्तेबाख्रो खाएर मात्तिमबाट जन्ती साप्सु खोलातिर ओरालो लाग्यो । म पनि सुरुवाल तान्दै अरू दौँतरी छोडेर रामको पछिपछि लागेँ । फुल्टिन चोर्न भीडभाडै हुनुपर्ने बाटोमा त्यस्तो भीडभाड कहीँ भएन । पाँच–सात जना, पाँच–सात जनाको झुण्ड जंगलको बाटो हिँड्दै कुइभीर पहरो आइपुग्यो । त्यहाँबाट भने सबैजना पंक्तिबद्घ भएर पञ्चैबाजाको सुरमा हिँड्न थाले । फलाँटे, सेरा गाउँ हुँदै सिमलबोटे आइपुग्न लागिसकेको थियो । फुल्टिन चोर्न कति जमर्को गरेँ, तर सकिनँ ।

      तै एकचोटि अन्तिममा जीउ छोड्नु परो भनेर कम्मर कसेँ ।

     जन्तीको लावालस्कर बेहुलाको घर आइपुग्यो । बेहुली हेर्न सबै गाउँले आइमाई केटाकेटी जम्मा भएका थिए । दुलही भित्राउने विधिविधान चल्दै थियो । मैले नजानिँदो गरी रामलाई छोडेको थिइनँ । ठूलो गाउँ भएकोले बेहुली हेर्ने मान्छेको धुइरो खपिसक्नु थिएन । मेरो उत्तम मौका यही हो भनेर म सुनबिर्के फुल्टिन हात पार्ने दाउ रच्दै थिएँ । मान्छेको ठेलमठेल बढेको बेला मैले सुटुक्क सुनबिर्के फुल्टिन निकालँे र एक्लै लुसुक्क बाह्रबीसेको उकालो लागेँ ।

      अन्ततोगत्वा मेरो प्रयास सफल भयो । दुई दिनको बिहा कार्यक्रमभरि जन्ती जाँदा र आउँदा ती उकालीओराली हिँड्दा, खोलानालाहरू तर्दा, सबैजना आफ्ना दुःख बिर्सेर रमाइरहँदा म भने किञ्चित रमाउन सकेको थिइनँ । सुनबिर्के फुल्टिनतर्फको मोहले म पागलझैँ भएको थिएँ । जेहोस् म चोर्न सफल भएँ । रामको फुल्टिन त हरायो, तर कसले चोरेको हो भन्ने उसलाई पत्तो भएन । त्यत्रो अथक प्रयासपछि सुनबिर्के फुल्टिन हात पारेकोमा म यत्ति खुसी भएँ कि दुई–चार दिन त त्यसको सीमै रहेन ।

      फुल्टिन त चोरेँ, तर मसी थिएन । आमासँग दस पैसाको टाँक मसी लेइमागेँ । तर, टाँक मसी हालेपछि फुल्टिनले लेख्तै लेखेन । सायद त्यसलाई डिब्बाको मसी चाहिन्थ्यो होला । त्यतिखेर मलाई पत्तो भएन । भए पनि कल्ले किन्दिने ? तैपनि करिब एक महिनासम्म कसैलाई नदेखाइ फुल्टिनलाई गुपचुपै राखेँ । पछि घरमुनि टारे गरामा ‘हेर फुल्टिन बुबाले लेइदिनुभको’ भनेर साथीहरूलाई देखाउँदै थिएँ । दिक्तेल स्कुल पढेर झर्दै गरेका सुबिदारका खड्ग काका हामी भए ठाउँ आए । ‘कसको कलम हो यो ? केटाकेटीलाई यस्तो किन चाहियो ?’ भनेर आफ्नो गोजीमा हालेर बाटो लागे । उनी ठूला थिए म सानो । म रुँदै तलसम्म झरेँ, तर मलाई आँखा तर्दै ती काकाले झण्डै गोदे । म लुरुक्क परेर जीवनको प्रिय वस्तु हराएझैँ निराश भएर बाटो लागेँ ।

त्यो रातभरि मलाई निद्रा लागेन ।

     सुनबिर्के जसरी आयो त्यसैगरी गयो पनि । कापीमा एक शब्द लेख्न पाइनँ ।

आज त्यस्तै तीस–बत्तीस वर्ष भइसक्यो होला । राम केसी आर्मीको जागिर खाएर सुबिदारसम्म भइसक्यो । अहिले कोटेश्वरमा घर बनाएर बसेका छन् । संयोगले सुबिदारका खड्ग काका पनि निकै भो रामकै छिमेकी भएर बसेका छन् । यी दुई पात्रलाई जब म कहीँ भेट्छु, कहीँ देख्छु त्यो सुनबिर्के फुल्टिन मेरो आँखाअगाडि आएर अचानक उभिन्छ र मलाई चोर–चोर भन्दै जिस्कयाउन थाल्छ ।

प्रकाशित: २२ आश्विन २०७३ १०:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App