७ वैशाख २०८१ शुक्रबार
अन्य

रङहरूको आहाल

रमेश श्रेष्ठ

          नेपाली कलाको चर्चा, चित्रण र अभिव्यक्तिका बारेमा सन्दर्भ मात्र जोड्दा पनि सबैलाई छिचोल्दै अघि आइपुग्ने नाम हो नारायणबहादुर सिंह । तीन दशकसम्म पनि उनकै नाम अघिल्तिर आउँछ, किन भयो त यस्तो ? धेरै कोणहरू बनेर आउने गर्छ यसको जवाफ मस्तिष्कमा, दृष्टिहरूका माझमा ।

          एकदिन म सुप्रसिद्ध कलाकार अग्रज शशि शाहको निवास कुपन्डोल पुगेको थिएँ । धेरै कुरा गर्ने उत्कण्ठा थियो त्यसैले म त्यहाँ गएको थिएँ । शाह आफै पनि धेरै कुरा गर्ने इच्छा भएको, समय लिएर बस्नुभएको थियो । तर, हाम्रो संवादको तगारोका रूपमा उहाँको कान उभिएको थियो । जोसँग कुरा गर्ने इच्छाले, कुरा सुन्ने र सुनाउने इच्छाले म पुगेको थिएँ । जसले मेरा कुराहरू सुन्ने इच्छा राखेको मैले अनुभूत गरेको थिएँ । उहाँ नै कान एकदमै सुन्न नसक्ने अवस्थामा रहेको पाएपछि धेरै कुरा लेखेर सुनाउथे मैले वहाँलाई, वहाँ ए..... भन्ने शब्दको उच्चारण लम्बाउँदै उत्तर दिनु हुन्थ्यो ।

          कुराकानीकै सिलसिलामा मैले लेखेर देखाएँ– नेपाली चित्रकला क्षेत्रको स्थिति कस्तो पाउनुभएको छ ? चित्र बनाउनेहरू त धेरै छन्, तर राम्रो लेख्ने मान्छे नै छैन । कुरा धेरै गर्छन्, तर चित्रकलाका बारेमा लेख्न सक्दैनन्, के भन्नु यस्तै छ । लेख्न सक्ने जस्ता केही छन् जस्तो लाग्थ्यो । तर, खै केही लेख्दैनन् । एउटा नेपाली कलाको मानक व्यक्तिबाटै यस प्रकारको अभिव्यक्ति आउँदा मलाई निकै गम्भीर बनायो । आफूसँग आफैलाई जोडेर आत्मालाप जस्तै आफैसँग धेरै कुराकानी गरिरहेँ । मभित्र पनि धेरै कुराले बोल्न तँछाडमछाड गरिरह्यो, बोलिरह्यो । म आफैभित्र गुञ्जिएको कुरालाई एउटा आज्ञाकारी व्याकुल श्रोतालेझैँ लगातार सुनिरहेँ ।

          नेपाली कला जहाँसम्म पुगेको छ, त्यहाँ नेपाली कलालाई मन नपराइएको ठाउँ नै छैन भन्छन् कतिपय मानिसहरू । किन मुख हरायो त नेपाली कलाको ? नेपाली कलाका बारेमा लेख्ने–बोल्नेहरूले आफ्ना झुण्ड र आफ्नाहरूका लागि मात्र डम्फु बजाउन लेख्न खोज्छन् कि क्या हो ? या राम्रा चित्र बनाउन नसक्ने भएपछि लेखनतिर जम्छु भन्ने अभिलाषा राखेर लेख्दा पनि नजमेकाहरू धेरै भएर हुन् कि ? चित्रविधाका असफल नायकहरू राजनीतिक लेपन पाएर हाउभाउ वृत्तमा सफल निर्देशक बन्छु भन्ने सानो सोचका कारण कमजोर भएका हुन् कि ? कला लेखन विधामा पनि सीधा र सपाटपना हावी भएकै कारण यस प्रकारको वातावरण बनेको हो कि ? कहाँ गए त त्यत्रा कलाविधाका स्नातक र स्नातकोत्तरहरू ? खै कहाँ छन् स्वनामधन्य कलाविज्ञहरू ? कि तिनीहरूले पढ्नका लागि मात्र पढेका थिए या पढेपछि जिजिविषाको भुतले लेखेट्दा उनीहरूको यात्रा भ्रम हुन गयो ? यस्तै धेरै प्रश्नबीच मैले आफूलाई आफूभित्रै  घेरिएको पाएँ र पनि रङहरूकै असीम प्रेमले रङकै आहाल बनिरहेको यस्तैबेला कहिलेकाहीँ मभित्रको कविताले नेपथ्यमा उभिएर गिज्याएझैँ गरेको पनि अनुभूति पनि मैले पिउने गरेको छु । आखिर  पिउने मौका नै पाएपछि मात्ने अधिकार पनि मसँग छ भन्ने नबिर्सिकनै म पनि मातिएछु । मनमा आफ्नै मनमा पनि मानिसहरू प्रायः यसरी नै बहकिने गर्छन् । 

          जीवनका धेरै कुरालाई समयसँग साक्षी राखेर मैले मेरो दोस्रो एकल चित्रकला प्रदर्शनी गत भदौ २४ देखि ३० गतेसम्म राजधानीकै मुटुमा अवस्थित बबरमहलको आर्ट काउन्सिलमा सम्पन्न गरेको थिएँ । मैले सरल ठानेका केही कुरा मेरा लागि बोकाको मुखमा कुभिन्डो भनेजस्तो भएको थियो । कलाकृति सिर्जना गरी मात्र देखाउने कि बेच्नतिर पनि उन्मुख हुने ! म कलाकृतिहरू सिर्जना गरेर आफूलाई रङहरूको दुनियाँमा आर्थिक सबलताका साथ उभिनपर्छ भन्ने मान्यता राख्नेहरूको हुलमा उभिन मन पराउनेमध्येको एक ठान्छु । त्यसैले कलाकृति राम्रो मूल्यमा धेरै बिक्री होस् भन्ने अरु कसैले नदेखिने गरी उब्जेको मेरो भित्री चाहना थियो । प्रदर्शनीको दृष्टिले दोस्रो भए पनि काठमाडौँमा भएको यो मेरो एकल कला प्रदर्शनी पहिलो थियो । यस सम्बन्धी धेरैखालका अनुभवहरू मेरा लागि नयाँ नै थिए ।

एकजना मेरा मित्रले भन्नुभएको थियो, प्रत्येक दिन क्रमशः पत्रिकामा तपाईंको कलाको समीक्षात्मक चर्चा भयो भने चित्रहरू धेरै बिक्री हुन सक्छन् । पत्रिकामा क्रमशः  प्रदर्शनीको समाचार त आयो,  तर मेरा कलाको प्रवृत्ति र त्यसले समयलाई गरेको सम्बोधनको समीक्षात्मक चर्चा भने आएन । सबैलाई थाहा भएकै कुरा हो, समाचार र समीक्षा धेरै फरक कुरा हो । समाचारले बाजाको आकार बनाउन सक्छ, तर समीक्षाले बाजा नै  बजाउँछ । त्यसको सौन्दर्य र मोहकतालाई सर्वत्र फैलाउन पनि मद्दत गर्छ । कविताको सर्जक भएकै कारण म यसको सौन्दर्यको अलिकति तृष्णा राख्थेँ । मेरो कला प्रदर्शनी सकिएलगत्तै अर्काे कलाकै एक विधाको प्रदर्शनी भयो । त्यो प्रदर्शनी चलिरहेको अवस्थामै समीक्षा पनि आयो । शीर्षक हेरेपछि म पुलकित भएँ । मेरो नभएर के भो त अरु एक कलाकारको भए पनि समीक्षा त आयो नि ! खुसीले पढ्न लागेँ समाचार, तर त्यो समीक्षा खल्लो थियो । अझै भन्नुपर्दा आँखा नभएकाले अरुको आँखाको ओठमात्रै टिपेर गाउन लागेजस्तो । या सीदा पचाउन कुनै एक अल्छी पुरेतले कार्मकाण्ड गरेजस्तो । मनमा अलिकतिबाट धेरै भएर आए अनेकौँ सन्दर्भहरू । फेरि सम्झिएँ शशि शाहको कुरालाई– लेख्ने मान्छे नै छैन । र, बनाएँ आफ्नै एउटा दृष्टिकोण यो पहुँचको राजधानीमा दिनेहरू भन्दा मागेर लिनेहरू नै धेरै छन् ।

          कला सन्दर्भकै अनुभूतिको एकदिन, दिनभरि जीवनमा भोग्नुपर्ने कुराहरूको अधिकांश अंश भोगेर डेराको कोठामा मात्र के छिरेको थिएँ फोनको घन्टी बज्यो, परिचित आवाजले सोध्यो पेन्टिङ कति बिक्री भयो ? मैले भनेँ आठवटामा सात ओटा गन्तव्यतिर लागिसक्यो, एकवटा मसँगै नासोको रूपमा छ । ए... भन्ने आवाजसँगै फोन काटियो । मैले प्रदर्शनीको सेरोफेरोमै अनुभव गरेको थिएँ धमिलो आकारमा, मेरो प्रदर्शनीमा एकथरि जल्नेहरू थिए । अर्काेथरि खुसीले बल्नेहरू पनि थिए । हाँसेर हात मिलाउनेहरू सबैले तपाईंलाई माया गरेको नठान्नुस् है आफ्नो चुनावकालीन समयको कुराको विषय लिएर मेरा प्रिय मित्र रविन्द्र अधिकारीले मलाई सुझाएको कुरा बेस्सरी सम्झिएँ । तर पनि यी दुवैथरिका बीचमा साँझजस्तै भएर आफ्नै मनको आँगनमा उभिरहेको थिएँ म । रङहरूको बीचको बैजनी रङ र साँझको बैजनी रङको महिमा अलि धेरै फरक भएको, यसको आकाश र आकार फरक हुने गरेको दिक्षा मभित्र ब्युँझिएर रहेको थियो । धेरै पहिलेदेखि नै थाहा थियो मलाई सिर्जनशील ईष्र्याले मानिसलाई अघि बढ्न ठूलो मद्दत पु¥याउँछ । उसो त नेपाली कलाको विविधतामा यति धेरै सिर्जनशीलताको मूल छ, आफूलाई तिखार्न सक्नेले समयको चाल्नीमा छानिएर समयसँगैको समय भएर आफ्नो कला अनुष्ठानमा मुस्कुराइरहेको हामी पाउँछौँ । उनीहरूको प्रशस्तीमा शब्दहरू समुद्रझैँ उर्लिरहेको पाउँछौँ । तर, आफूलाई तिखार्न नसक्नेहरू प्रत्येक दिन मक्किएको कपडाझैँ आफैसँग आफै भएर च्यातिइरहेका हुन्छन् । आफ्नो कमजोरीलाई बाहिरी शृंगारले लुकाउन खोजिएकै कारण अनेकौँ रूपमा भास्सिइरहेको पनि हामी देख्छौँ ।

          त्यसैले म आफू बाँचिरहेको समयसँग निवेदन गर्न चाहन्छु, नेपाली ललितकलाको क्षेत्र मूलहरूको पनि महामूल हो । यसलाई आफ्नो अनुष्ठानको माध्यमबाट अझै हराभरा बनाउने प्रयत्नमा रङहरूले आफ्नो हृदयको अप्रिय दागहरूलाई पखालेर तिर्खामुक्त हुँदै अग्रसर भयो भने समीपमै सयौँ नारायणबहादुरहरू रङसँगै रङजस्तै मुस्कुराउने छन् । हजारौँ शशि शाह, मनुजबाबु, वत्सगोपाल, उत्तम नेपाली, दुर्गा बराल, किरण मानन्धर र शशिकलाहरू नदीजस्तै भएर रङमै बहिरहने छन् । नयाँ र पुराना पुस्ताका सबै शिल्पीहरूका अनुहारमा नयाँ समयको घाम मुस्कुराइरहनेछ ।

मलाई थाहा छ यो मेरो आफ्नै हृदय रङहरूको आहाल बस्दाको उत्कण्ठा मात्र हो । सबैको अनुपम प्रित पाए यो उत्कण्ठा समयकै उत्कण्ठा भएर गुञ्जिन पनि त सक्छ ।

प्रकाशित: २२ आश्विन २०७३ १०:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App