४ वैशाख २०८१ मंगलबार
अन्य

प्राविधिक शिक्षामा आकर्षण

नेपालगन्ज– ‘बी प्लस’ ल्याएर एसएलसी उत्तीर्ण गरेकी नेपालगन्ज–५, देवाफुलबारीकी साक्षी सिजापती स्टाफ नर्सको ब्रिज कोर्स तयारी गर्दै छिन्। ‘सानैदेखि नर्सिङ विषय पढ्ने इच्छा हो, बाबा–मम्मीले पनि इच्छा अनुसारको विषय पढ्न सल्लाह दिनु भएको छ,’ उनले भनिन्, 'बिरामीको सेवा गर्न पाइने र पढिसकेपछि सजिलै जागिर पाइने भएकाले यो विषय पढ्ने सोच बनाएकी हु।यो विषय पढ्ने सोच बनाएकी हु।'

नर्सिङ पढ्न तयारी गर्ने उनी एक्ली होइनन्। साक्षीसँगै एसएलएसी उत्तीर्ण गरेका उनका थुप्रै साथीहरू प्राविधिक शिक्षा पढ्दै छन्। उनकी साथी अभिलाषा बिष्ट पनि नर्सिङ पढ्ने तयारीमा छिन्। नर्सिङ पढेर जागिर गरिसकेका आफन्तलाई देखेर अभिलाषालाई पनि यो विषयले आकर्षण गरेको हो। ‘सकभर सरकारीमा नाम निकाल्ने कोसिस गर्छु, नत्र प्राइभेट कलेजमा भए पनि पढेर इच्छा पुरा गर्छु,’ उनले भनिन्।

एसएलसी उत्तीर्ण गरिसकेपछि धेरैजसो विद्यार्थीको रोजाइ पछिल्लो समयमा प्राविधिक शिक्षा हुने गरेको छ। अरु विषयभन्दा प्राविधिक विषय पढेपछि सजिलैसँग रोजगारी पाइने अपेक्षाले गर्दा प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढेको हो।

 ‘सि प्लस’ ल्याएर एसएलसी उत्तीर्ण गरेका मिनराज ओली अटोमोबाइल सबओभरसियर पढ्ने तयारीमा छन्। यो विषय पढ्नुमा उनको एउटै कारण छ– रोजगारी पाइएला आशा।

प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढेसँगै जिल्लामा सरकारी र प्राइभेट स्तरमा थुप्रै कलेज सञ्चालनमा आएका छन्। सिटिइभिटीबाट अनुमति लिएर जिल्लामा सञ्चालित सरकारी र प्राइभेट कलेजले विभिन्न विषयको पढाइ सञ्चालन गरिरहेका छन्। कुनैपनि कलेजले विद्यार्थी अपुग भएको अनुभूति गरेका छैनन्।

सरकारीस्तरबाट सञ्चालित सिटिइभिटीको आंगिक भेरी प्राविधिक शिक्षालयमा डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ, डिप्लोेमा इन मेकानिकल इन्जिनियरिङ तथा टि–एसएलसी लेभलमा १८ महिने मेकानिकल सबओभरसियर, रेफ्रिजेरेसन एण्ड एयर कन्डिसन सबओभरसियर, अटोमोबाइल सबओभरसियर, इलेक्ट्रिकल सबओभरसियर, इलेक्ट्रोनिक्स सबओभरसियर, सिभिल सबओभरसियर र कम्प्युटर अप्लिकेसन एण्ड सेक्रेटरियल म्यानेजमेन्ट विषय पढाइ हुने गरेको छ। जिल्लाको एकमात्र सामुदायिक विद्यालय त्रिभुवन उच्च मावि, कोहलपुरमा डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र टि–एसएलसी लेभलको १५ महिने जुनियर कम्प्युटर टेक्निसियन विषय पढाइ भइरहेको छ।

 प्राइभेट कलेजबाट नर्सिङ, एचए, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ, ल्याब टेक्निसियन, फामर्ेेसी, रेडियोग्राफी कार्यक्रम सञ्चालन गरिरहेका छन्। यसैगरी टि–एसएलसी लेभल १५ महिने र १८ महिने कोर्समा सिएमए, एएनएम, अमिन, ल्याब असिस्टेन्ट, सिभिल सव ओभरसियर, प्लान्ट साइन्स जेटिए, पशु स्वास्थ्य, जुनियर कम्प्युटर टेक्निसियन सञ्चालनमा छ।

सिटिइभिटी पश्चिम क्षेत्रीय कार्यालय, कोहलपुरका अनुसार बाँकेमा प्राविधिक शिक्षा सञ्चालनका लागि अहिलेसम्म अनुमति लिएका सरकारी र प्राइभेट प्राविधिक कलेजको संख्या १५ पुगेको छ। प्राइभेटस्तरबाट नर्सिङ विषय पढाउने कलेज चार, एचए तीन, डिप्लोमा इन सिभिल इन्जिनियरिङ तीन, कम्प्युटर इन सिभिल इन्जिनियरिङ एक, ल्याब टेक्निसियन तीन, फार्मेसी एक र रेडियोग्राफी दुई कलेजमा सञ्चालन छ। टि–एसएलसी लेभलको १५ महिने र १५ महिने सिएमए विषय पढाइ हुने कलेज तीन, एएनएम एक, अमिन दुई, ल्याब असिस्टेन्ट चार, सिभिल सबओभरसियर तीन, प्लान्ट साइन्स जेटिए एक, पशु स्वास्थ्य दुई र जुनियर कम्प्युटर टेक्निसियन एक रहेको छ।

प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण कति धेरै छ भन्ने पुष्टि यहाँका कलेजमा भर्ना हुने विद्यार्थी संख्याबाट हुन्छ। यस क्षेत्रको एकमात्र सरकारी कलेज भेरी प्राविधिक शिक्षालयमा पढ्न विद्यार्थीको तछाड–मछाड नै हुन्छ। मध्यपश्चिमसहित मुलुकका बिभिन्न जिल्लाबाट आउने विद्यार्थीको चापले गर्दा शिक्षालयलाई सिटिइभिटीले तोकेको कोटा पुर्‍याउन समस्या हुँदैन। शिक्षालयका उपप्रमुख पारश खड्काले प्राविधिक शिक्षालाई सरकारले प्राथमिकतामा राखेको र रोजगारी पाउन सहज भएकाले विद्यार्थीको आकर्षण बढेको बताए। उनका अनुसार सिटिइभिटीले शिक्षालयमा सञ्चालित डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङका लागि हरेक वर्ष ४८ कोटा निर्धारण गर्छ। उक्त कोटाका दोब्बर, तेब्बर बढी विद्यार्थीले प्रतिस्पर्धा गर्छन्। यस्तै डिप्लोेमा इन मेकानिकल इन्जिनियरिङमा २४ तथा टिएसएलसी लेभलमा १८ महिने मेकानिकल सबओभरसियरमा २४, रेफ्रिजेरेसन एण्ड एयर कन्डिसन सबओभरसियर २०, अटोमोबाइल सबओभरसियर २६, इलेक्ट्रिकल सबओभरसियर ३०, इलेक्ट्रोनिक्स सबओभरसियर र सिभिल सबओभरसियरमा २६/२६ तथा कम्प्युटर अप्लिकेसन एण्ड सेक्रेटरियल म्यानेजमेन्टमा ३० जनाको कोटा तोकिन्छ।

शिक्षालयका उपप्रमुख खड्काले प्राविधिक शिक्षाको बढ्दो मागलाई व्यवस्थापन गर्न कठिन भइरहेको बताए। ‘प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थी धेरै हुन्छन्, तर सिटिइभिटीले निश्चित कोटा तोकेकाले त्योभन्दा बढी भर्ना गर्न मिल्दैन,’ उनले भने।

सरकारी कलेजको जस्तै जिल्लाका प्राइभेट कलेजको अवस्था पनि उस्तै छ। प्राइभेट कलेजले पनि सिटिइभिटीले तोकेको कोटा हरेक वर्ष पूरा गर्छन्। नेपालगन्ज टेक्निकल कलेजले हरेक वर्ष स्वास्थ्य र इन्जिनियरिङ विषयमा सिटिइभिटीले तोकेको कोटा अनुसारको विद्यार्थी भर्ना गर्छ। डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र डिप्लोमा इन सिभिल इन्जिनियरिङ विषयका लागि सिटिइभिटीले तोकेको ४८/४८ तथा एचए कार्यक्रममा ४० विद्यार्थी भर्ना गरेर पढाइ सञ्चालन गर्दै आएको कलेजले आगामी नयाँ शैक्षिक सत्रबाट ल्याब टेक्निसियनको पढाइसमेत सञ्चालन गर्ने तयारीमा छ।

ल्याब टेक्निसियनका लागि उक्त कलेजले ३० जनाको कोटा पाएको छ। कलेजका प्रवन्ध निर्देशक किशोरकुमार पाण्डेयले कलेजमा विद्यार्थीको चाप धेरै भएको बताए। ‘प्रवेश परीक्षामा धेरै विद्यार्थी सहभागी हुन्छन्, तर निश्चित कोटा हुने भएकाले सबै विद्यार्थी भर्ना हुन पाउँदैनन्,’ उनले भने, 'प्राविधिक शिक्षामा स्वरोजगार हुने अवस्था भएकोले पनि विद्यार्थीको आकर्षण बढ्दो छ।'

स्टाफ नर्स र डिप्लोमा इन फार्मेसी विषय सञ्चालन गर्दै आएको मध्यपश्चिम प्राविधिक शिक्षालयले पनि हरेक वर्ष सिटिइभिटीबाट ४०/४० विद्यार्थी भर्ना गर्छ। कोटा अनुसार विद्यार्थी भर्ना सहज रूपले हुने शिक्षालयले जनाएको छ। उक्त शिक्षालयले पनि नयाँ शैक्षिक सत्रका लागि प्रवेश फाराम वितरण सुरु गरिसकेको छ। 

मुलुक शान्ति प्रक्रियामा प्रवेश गरेपछि जिल्लामा प्राविधिक कलेज धमाधम खुल्न थालेका हुन्। बिगत ८/९ वर्षको अवधिमा खुलेका प्राइभेट कलेजको संख्याले प्राविधिक शिक्षाको महत्वलाई दर्शाउँछ। सिटिइभिटी पश्चिम क्षेत्रीय कार्यालयका उपनिर्देशक अमर घर्ती नेपालगन्ज क्षेत्र प्राविधिक शिक्षालयको ‘हब’ नै भएको बताउँछन्। मध्यपश्चिममा सबैभन्दा बढी बाँकेमा प्राविधिक कलेज सञ्चालनमा रहेको उनले जानकारी दिए। ‘सरकारले प्राविधिक शिक्षाको विकासमा जोड दिइरहेको छ, रोजगारी सजिलैसँग पाइने भएकाले प्राविधिक शिक्षा पढ्न विद्यार्थीहरू बढी आकर्षित हुन्छन्,’ घर्तीले भने। जिल्लामा सञ्चालित कलेजमा सबैभन्दा बढी नर्सिङ, एचए, अमिन र फार्मेसी पढ्ने विद्यार्थी धेरै रहेको उनले बताए।

प्रकाशित: १२ असार २०७३ ०४:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App