५ वैशाख २०८१ बुधबार
अन्तर्राष्ट्रिय

चाँडो प्रक्रिया थालौंः इयु

युरोप–युरोपियन युनियन सम्बद्ध राष्ट्रले ब्रिटेनले जनमत संग्रहको नतिजा अनुरुप चाँडो बहिर्गमनको प्रक्रिया थाल्न आग्रह गरेका छन्। जर्मन विदेशमन्त्री फ्रान्क वाल्टर स्ट्यानमेयरले शनिबार चाँडो भन्दा चाँडो वार्तामा बसेर निष्कर्ष निकाल्न आग्रह गरेका हुन् । स्ट्यानमेयरले भने, ‘संझौतावार्ताहरु तत्काल गर्न अत्यावश्यक छ किनभने सदस्य राष्ट्रहरु युरोपको भविष्यबारे केन्द्रित हुन आवश्यक छ ।’
 ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरुनले आफूले नेतृत्व गरिरहेको मत झिनो मतले पराजित भएपछि आउँदो अक्टोबरमा राजीनामा दिने घोषणा गरेका थिए । उनले आफूपछिको नेतृत्वले बहिर्गमनको प्रक्रिया पूरा गर्ने बताइरहँदा युरोपियन युनियन सम्बद्ध राष्ट्रका प्रतिनिधिहरुको प्रतिक्रिया आएको हो । यसअघि युरोपेली आयोगका अध्यक्ष जा क्लड योङकरले पनि इयुबाट ब्रिटेनको बहिर्गमनको प्रकिया तीव्र रुपमा अघि बढाउन आफूले वार्ता सुरु गर्न चाहेको बताएका थिए ।

बिहीबारको जनमतसंग्रहको परिणामपछि राजीनामा दिने घोषणा गरेका ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरन पदबाट नहटेसम्म वार्ताका लागि कुर्नुको कुनै अर्थ नहुने धारणा उनले राखेका छन ्।

जनमतसंग्रहको परिणामको प्रभावबारे तीव्र बहस चलिरहँदा शनिबार उक्त विषयमा छलफल गर्न युरोपेली संघका ६ संस्थापक देशका विदेश मन्त्रीको बैठक बसेको थियो । ऐतिहासिक जनमतसंग्रहमार्फत युरोपेली संघबाट सम्बन्ध विच्छेद गर्ने निर्णयमा ब्रिटेन पुगेपछि ब्रलिनमा शनिबार बिहान ६ संस्थापक इयु सदस्य राष्ट्रका परराष्ट्र मन्त्रीहरुको बैठक बसेकोे । जर्मनी, फ्रान्स, इटली, बेल्जियम, लक्जमबर्ग र नेदरलण्डसका विदेशमन्त्री सहभागी बैठकलाई आगामी साता ब्रिटेनको सहभागिता विना बस्ने इयु शीर्ष बैठकको तयारीका रुपमा लिइएको छ ।

अक्टोबरमा राजीनामा दिने घोषणा गरेका ब्रिटेनका प्रधानमन्त्रीले इयुबाट वहिर्गमनका बारेमा आफ्ना उत्तराधिकारीले वार्ता सुरु गर्ने बताएपनि युरोपेली नेताहरुले तत्कालै वार्ता सुरु गर्नुपर्नेमा जोड दिइरहेका छन् ।

जर्मनीको एउटा टेलिभिजनलाई दिएको अन्तर्वार्ता युरोपेली आयोगका प्रमुख जां क्लड योन्करले ब्रिटेनका नागरिकहरुले युरोपेली संघ छाड्ने निर्णय गरिसकेकाले वहिर्गमनका शर्तबारे वार्ता सुरु गर्न अक्टोबरसम्म कुर्नुको अर्थ नरहेको बताए ।

उनले भने, ‘हामी ब्रिटेनले आफ्ना जनताको निर्णयको कार्यान्वयन तत्कालै थालोस् भन्ने चाहान्छौँ । उक्त प्रक्रिया जति पीडादायी भएपनि ढिलो हुँदा अनावश्यक रुपमा अनिश्चितता बढाउनेछ ।’

उनले इयुका बाँकी २७ सदस्य राष्ट्रको एकता निरन्तर कायम हुनेमा भने जोड दिएका छन् । अब ब्रिटेनले लिज्बन सन्धिको धारा ५० लाई क्रियाशिल गराउनुपर्नेछ जसले उसलाई इयुबाट अलग हुने विषयमा वार्ता गरी निचोडमा पुग्न दुई वर्षको समय उपलब्ध गराउँछ ।

युरोपेली परिषदका अध्यक्ष डोनल्ड टुस्कले क्यामरनले अन्य सदस्य राष्ट्रसँग वार्ता गरिसकेपछि बुधवार बस्ने शीर्ष बैठकमा ब्रिटेनको बहिर्गमन प्रकियाबारे छलफल हुने बताएका छन् । ब्रिटिश प्रतिनिधि बिनाको पहिलो इयु शिखर सम्मेलन बुधबार डाकिएको छ । त्यसको अघिल्लो दिन ब्रिटिश प्रधानमन्त्री क्यामरनले इयुका सदस्यराष्ट्रहरुसँग बैठक गर्दैछन् । विश्वव्यापी स्टक बजार ब्रेक्जीट पछि स्वाट्टै तल झरेको छ । ब्रिटेनमा भएको जनमतसंग्रहमा इयु छोड्ने र नछोड्ने पक्षमा  क्रमश ५२ र ४८ प्रतिशत मत आएको थियो ।

ब्रिटेनको जनमतसंग्रहको परिणामपछि युरोपभर अझै हलचल मचिरहेको छ । उक्त परिणामले इयु भरका राष्ट्रवादी र लोकप्रियतावादी भनिने दलहरु बलियो भएका छन् तर युरोपेली एकतामा जोड दिइरहेका शक्तिहरुले पनि आफू चुनौति सामना गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरिरहेका छन् । कयौँले युरोपेली संघमा तत्काल सुधार हुनुपर्नेमा जोड दिएका छन् । फ्रान्सका राष्ट्रपति फ्रान्कोइस होल्यान्डले भनेका छन् ‘अब पहिलेकै पारामा काम गरेर हुँदैन ।’
क्याप्सन ः शनिबार बिहान जर्मनीको बर्लिनमा युरोपियन युनियन सम्बद्ध संस्थापक ६ देशका विदेशमन्त्रीको बैठकमा सहभागी विदेशमन्त्रीहरु वैठकपछिको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै । बैठकमा  लक्जमवर्ग, जर्मनी, फ्रान्स, बेल्जियम, डेनमार्क, इटलीका विदेशमन्त्रीको सहभागिता रहेको थियो । वैठकले ब्रिटेनलाई बहिर्गमनको प्रक्रिया चाँडो थाल्न अनुरोध गर्ने निष्कर्ष निकालेको थियो । तस्बिर ः रोयटर्स

 

 

प्रकाशित: १२ असार २०७३ ०४:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App