५ वैशाख २०८१ बुधबार
अन्य

सर्दुमा पुल नहुँदा सास्ती

धरान- 'यो सर्दु खोला हो, धरान र विगतको विष्णुपादुकाबीचको खोला। यो क्षेत्रका सांसद छैनन्? त्यहाँ नागरिक छैनन्? यहाँ आजसम्म एउटा पनि पुल छैन, सेउतीमा गन्न नसक्नेगरी पुल बनेको बन्यै छ,' धरान–८ का पुण्यबहादुर राईले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्। बाढी आएको सर्दु खोलामा मुस्किलले मोटरसाइकल तार्दै गरेको फोटोसमेत पनि उनले पोस्ट गरे।

उनले फेसबुकमा आक्रोश पोख्नुको कारण छ। किरातेश्वर कृषि सहकारी संस्थाका अध्यक्षसमेत रहेका उनी प्रत्येक दिन सर्दु खोलापारि धरान–२६, माछामारास्थित संस्थाको खेती र बंगुरपालन भएको ठाउँमा पुग्नुपर्छ। तर, बर्खा लागेपछि भने त्यहाँ जानेक्रम टुट्छ। सर्दुमा बाढी आउँदा उनी मोटरसाइकल थन्क्याउँछन्। सके खोलामा हेलिँदै पार गर्छन्, नसके जाँदैनन्। 'बर्खाभरि अवस्था यस्तै हो, जोखिम मोलेर सर्दु तर्नुपर्छ,' पूर्वब्रिटिस गोर्खा सैनिक राईले भने, 'सर्दुमा पुल नबन्दा विष्णुपादुका क्षेत्रका नागरिकले धेरै दुःख पाएका छन्।'

सर्दु खोलामा पुल नहँुदा विष्णुपादुका क्षेत्रका नागरिकले पाएको दुःख र सास्तीसामु उनको भोगाइ कमै हो। सर्दु खोला उर्लंदा उनी त माछामारा नगएपनि हुन्छ। तर, धरान बजारमा पूर्ण रूपमा निर्भर विष्णुपादुका क्षेत्रका सर्वसाधारणहरू जोखिम मोलेरै भएपनि खोला तर्नुपर्छ। साबिक विष्णुपादुका गाविस धरानमा गाभिएर उपमहानगरको वडा २४, २५, २६ र २७ भइसकेको छ। तर, सर्दुमा पुल बनेको हेर्ने वषौंदेखिको स्थानीयको सपना साकार भएको छैन। 'बजार आउने–जानेको बिजोग हुन्छ, ठूलो पानी पर्‍यो कि हामीले भगवान् सम्झनुपर्छ। हिँड्नै पाइँदैन, खोलाले छेकिहाल्छ,' भालढुंगा उच्च माविका शिक्षक एवं स्थानीय ओम सुच्चा राई भन्छन्, 'नुन–तेल सकिँदा अनि मान्छे बिरामी हुँदा गाडी नचलेर ज्यादै समस्या हुन्छ।'

विष्णुपादुका कृषिको उर्बरभूमि हो। त्यहाँको कृषिजन्य उत्पादनको प्रमुख बजार धरान हो। हरेक मंगलबार र शुक्रबार धरान–११ स्थित मंगलबारे चोकमा बजार (हटिया) लाग्छ। तर, बर्खामा बाढी आउँदा गाडी चल्दैनन्। स्थानीयले आफ्ना कृषिउपज बेच्न पाउँदैनन्। शिक्षक राई भन्छन्, 'बर्खाभरि हाम्रो दैनिकी ज्यादै जटिल बन्छ, कृषि उत्पादन, जिन्सी सामग्री भनेका बेला बेच्न पाइँदैन, पछि भनेको दाम पाइँदैन। नुन–तेल ल्याउनसमेत पाउदैनौं।'

स्थानीयले प्रायः साउन र भदौमा बर्सेनि भोगिरहेको पीडा हो यो। यसवर्ष समयमै मनसुन सक्रिय भएकाले दिनहुँजसो वर्षा भइरहेको छ। विष्णुपादुकाबासी अहिले त्यही समस्यासँग जुधिरहेका छन्।

धरान–११ बाट विष्णुपादुका हुँदै धनकुटाको आहाले जाने बाटो स्थानीयबासीले प्रयोग गर्ने प्रमुख र चल्तीको बाटो हो। यो बाटो हुँदै विष्णुपादुका, बराहक्षेत्रका ३ वडा र धनकुटाको आहालेका किसानले आफ्नो नगदेबाली धरान ल्याउने गर्छन्। यो बाटोमा पर्ने सर्दु र धरान–चतरा सडकखण्डमा पुल अतिआवश्यक छ। हालसम्म सर्दु खोलामा धरान–१३ देवी मार्गमा एउटा झोलुंगे पुल छ भने धरानको फुस्रे र धरान–२४ (विष्णुपादुका) जोड्ने एउटा पक्की पुल छ। तर, यो पुल भएको बाटो भएर स्थानीय हिँड्दैनन्। वडा नम्बर २४ का केही बस्तीका लागिमात्र त्यो बाटो र पुलले लाभ पुगेको छ।

राजनीतिक उपेक्षाको सिकार

पूर्वगाविस अध्यक्ष मणिराम राईका अनुसार ०४६ सालदेखि अहिलेसम्म स्थानीय नागरिकले सर्दु खोलामा पक्की पुलको माग निरन्तर गरिरहेका छन्। तर, केन्द्रीयस्तरमा पहुँच नपुग्दा स्थानीयको आवश्यकता र आवाज कसैले सुनेका छैनन्। धरान र साबिक पाँचकन्या गाविसबीचको सेउती खोलामा करिब ८ किलोमिटर क्षेत्रभित्र २ वटा पक्की पुल बनिसके। अझै २ वटा पक्की पुल निर्माणाधीन अवस्थामा छन्। एउटाबाहेक ती पुल केन्द्रीय बजेटबाटै बनेका हुन्। तर, धरानभित्रकै सर्दु खोलामा भने पक्की पुल बनाउन कसैको ध्यान पुगेको छैन। दलका नेता, उपमहानगरपालिकाले पनि केन्द्रीय बजेट वा योजनामा समेट्न आवश्यक पहल गरेको छैन।

 विगतमा साबिक गाउँ परिषद्बाट हरेक वर्ष प्राथमिकतामा राखेर सर्दु खोलामा पुलको माग भएर जान्थ्यो। तर, कतैबाट पनि सुनुवाई नहुँदा स्थानीयबासी निराश छन्। 'प्रक्रियागत रूपमा योजना माग गरेकै छौं, नेता र सांसदलाई भनेकै छौं। तर, हाम्रो माग कहिल्यै सुनुवाई भएन,' पूर्वअध्यक्ष राई भन्छन्, 'पहुँच पुगेन भनांै भने यही क्षेत्रबाट जितेका नेता मन्त्री भए, प्रधानमन्त्री पनि भए।'

प्रकाशित: १२ असार २०७३ ०४:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App