७ वैशाख २०८१ शुक्रबार
अर्थ

१५ बैंकको हकप्रद पाइपलाइनमा

विष्णु बेल्वासे

काठमाडौं–२९ वाणिज्य बैंकमध्ये १५ वटा हकप्रद सेयर निष्कासनको अन्तिम तयारीमा जुटेका छन् । उक्त हकप्रद सेयर खरिदका लागि बैंकका लगानीकर्ताले २२ अर्ब ८० करोड १० लाख रुपैयाँ जुटाउनु पर्ने हुन्छ ।
एक वर्षभित्र चुक्ता पुँजी न्युनतम ८ अर्ब रुपैयाँ हुनु पर्ने वाध्यात्मक व्यवस्था केन्द्रीय बैंकले गरेपछि उनीहरुले पुँजी पु¥याउन हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् । उक्त बैंक मध्ये एनआइसी एसिया बैंकको सेयर खरिद गर्न चाहनेले आगामी बुधबार (१५ गते) भित्र फाराम भरी बुझाइसक्नुपर्ने सार्वजनिक सूचना जारी गरेको छ । उक्त बैंकले २५ प्रतिशत हकप्रद सेयर जारी गरेको छ ।
यसैगरी, सिटिजन्स बैंकले चुक्ता पुँजीको ५५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ । बैंकको हकप्रद सेयर खरिदका लागि साउन ९ गतेभित्र फाराम बुझाइसक्नु पर्नेछ ।

नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तभित्र वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब पु¥याउन निर्देशन दिएपछि उनीहरु धमाधम हकप्रद सेयर निष्कासन गर्ने तयारीमा जुटेका हुन् ।
नेपाल धितोपत्र बोर्डले पनि हकप्रद सेयर निष्कासन प्रक्रियालाई सहज बनाएको छ । बोर्डले अधिकतम १२ दिनभित्र हकप्रद सेयर निष्कासनको स्वीकृति दिइसक्ने बताएको छ । यसअघि हकप्रद सेयर निष्कासन स्वीकृतिका लागि १ महिनासम्म लगाउने गरेको थियो ।
केन्द्रीय बैंकले तोकेको अवधिभित्र चुक्ता पुँजी नपु¥याउने समयसम्म क्रेडिट रेटिङ प्रक्रिया पनि सहज बनाइएको छ । लगातार नाफामा सञ्चाति बैंकहरुले क्रेडिट रेटिङ गर्नु नपर्ने व्यवस्था गरिएको बोर्डका प्रवक्ता निरज गिरीले बताए । यसअघि क्रेडिट रेटिङ गर्न ३ महिनासम्म लाग्ने गरेको थियो ।
क्रेडिट रेटिङ गर्न लामो समय लागेका कारण हकप्रद सेयर निष्कासनमा ढिलाइ हुँदै आएको थियो । हकप्रद सेयर निष्कासनका लागि फास्ट ट्र्याकमा काम हुन थालेपछि बैंकरले केही सहज महसुस गरेका छन् ।
हालसम्म सबैभन्दा धेरै बढी लक्ष्मी बैंकले चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ भने सबैभन्दा कममा हिमालयन बैंकको १४.२८ प्रतिशत छ ।
नेपाल एसबिआई बैंकले प्रिमियममा २ अर्ब ६० करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्ने निर्णय गरेको छ । नेपाल बगांलादेश बैंकले चुक्ता पुँजीको ८० प्रतिशत, सानिमा, कृषि विकास र माछापुच्छे« बैंकले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेका छन् ।
सनराइज, प्राइम, सेन्चुरी बैंकले चुक्ता पुँजीको ३० प्रतिशत तथा एनआइसी एसिया, सिद्धार्थ र मेगा बैंकले २५ प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी गर्दै छन् । नेपाल बैंकले २३.७४ प्रतिशत हकप्रद सेयर जारी गरेर चुक्ता पुँजी बढाउँदै छ ।
केही वाणिज्य बैंकले वित्तीय संस्थालाई खरिद गरिसकेपछि हुन आउने चुक्ता पुँजी पछि हकप्रद सेयर जारी गर्दैछन् । सनराइज बैंकले नारायणी नेसनललाई खरिद गर्ने प्रक्रिया सकिएपछि हकप्रदको अनुुपात बढाउने बताएको छ ।
पुँजी वृद्धिको मामिलामा लगानीकर्तालाई स्पष्ट पार्न नसकेका एभरेस्ट र स्ट्यान्डर्ड चार्टर्डले पनि प्रिमियममा हकप्रद ल्याउने निर्णय गरे भने हकप्रदको आकार ह्वात्तै बढेर जानेछ ।
चुक्ता पुँजी तीन अर्ब हाराहारीमा रहेका यी बैंकहरुले कम्तीमा ५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेमा वाणिज्य बैंकहरुको हकप्रदको आकार बढ्ने निश्चित छ ।
मर्ज, एक्विजिसन वा थप सेयर निष्कासन (एफपिओ) को बाटोमा यी दुई बैंक गए भने मात्र हकप्रद आवश्यक नहुन सक्छ । बोनस सेयर दिएर यी दुई बैंकले पुँजी बढाउन सक्ने सम्भावना पनि त्यत्तिकै छ ।
चुक्ता पुुँजी कम भएका बैंकले हकप्रद सेयर निष्कासन गर्ने सम्भावना भएकाले पनि लगानीकर्ता त्यस्ता कम्पनीको सेयर खरिद गर्न आकर्षित भएका छन् । पछिल्लो समय कम चुक्ता पुँजी भएका स्ट्यान्डर्ड चार्टर्ड, एभरेस्टलगायतका बैंकको सेयर मूल्य बढेको छ ।
ती बैंकहरुले समेत हकप्रद सेयर जारी गर्ने हो भने बजारमा करिब ३० अर्ब रुपैयाँको हकप्रद सेयर अनुमान विज्ञहरुले गरेका छन् । हकप्रद खरिदका लागि लगानीकर्ताले ठूलो रकम लागि खर्चिनुपर्ने देखिन्छ ।

 

प्रकाशित: १२ असार २०७३ ०६:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App