८ वैशाख २०८१ शनिबार
अर्थ

कोरला जोड्ने सडक खन्दै चीन

मुस्ताङको कोरला नाका छुने गरी चीनले खनेको सडक ।

पोखरा–चीनले दीर्घकालीन रुपमा नेपालसँग व्यापार विस्तार गर्ने उद्देश्यसहित अहिले नेपालतर्फको नाकासम्म आइपुग्ने गरी धमाधम आफ्नो भूभागमा सडक विस्तार गर्न थालेको छ । नेपाल–चीन नाका मुस्ताङको कोरलासम्म आउने गरी चीनले धमाधम सडक विस्तार गर्न थालेको हो ।
चीनले आफ्नो भूभागमा अहिलेसम्म करिब २० किलोमिटर सडक तयार पारिसकेको छ । ढोङवासेन खण्डबाट चीनले कोरलातर्फ सडक विस्तार गर्न थालेको हो । यसअघि मरुभूमि जस्तै सुक्खा र खुला घाँसे मैदानमा तिब्बततर्फ गाडी गुडे पनि व्यवस्थित सडक थिएन । अहिले नेपालसम्मको नाकालाई छुने गरी सडक निर्माण गरिरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिए ।
उनका अनुुसार ढोङवासेन बजारलाई नेपाल–चीन नाका कोरलासम्म जोड्ने गरी चीनले सडक निर्माण गरेको हो ।

‘पाँच महिनामा करिब २० किलोमिटर सडक निर्माण गरेको चिनियाँ सुरक्षाकर्मीले बताएका थिए,’ केही दिनअघि नेपाली प्रशासकसँगको भेटघाटमा चिनियाँ सुरक्षाकर्मीको भनाइ उद्धृत गर्दै अधिकारीले भने, ‘कोरला–ढोङवासेन बजार जोड्ने गरी सडक निर्माण तीव्र रुपमा भइरहेको छ । उनीहरुले आफ्नो भूभागमा सडक निर्माणलाई तीव्रता दिएका छन् ।’ ढोङवासेनदेखि कोरला नाकासम्मको दुरी करिब ३५ किलोमिटर पर्छ ।
अधिकारीका अनुसार चीनले उक्त सडक कालोपत्रे गर्ने तयारीसमेत गरेको छ । ‘अहिलेसम्म गाडी गुडेका थिए । तर, सडकको स्वरुप थिएन । खुला, घाँसे र समथर मैदान भएकाले गाडी गुड्न कुनै समस्या थिएन,’ उनले भने, ‘तर, अहिले धमाधम सडक नै विस्तार गरिरहेको छ । ढोङवासेनसम्म उक्त सडक विस्तार गरेर कालोपत्रे गर्ने चीनको तयारी भएको सुरक्षाकर्मीले हामीलाई जानकारी दिएका छन् ।’ ढोङवासेन हुँदै यो सडक सिगात्से जोडिन्छ । चीनले दोहोरो सवारी चल्न मिल्ने गरी सडक निर्माण गरेको छ । सडकको दायाँबायाँ नाला बनाउने गरी फराकिलो सडक बनाएको उनले बताए ।

उद्योग वाणिज्य संघ मुस्ताङका अध्यक्ष खगेन्द्र तुलाचनका अनुसार तिब्बत खण्डको घाँसे मैदानमा अहिले चीनले सडक निर्माण गरिरहेको छ । ‘यसअघि घाँसे मैदानमा गाडी गुडिरहेका थिए । तर, अब व्यवस्थित सडक बनाएर चीनले सवारी गुडाउँदैछ । नेपाल खण्डमा अहिलेसम्म खासै प्रगति भएकै छैन,’ उनले भने, ‘मुस्ताङको माथिल्लो ६ वटा गाविस स्थानीय बजारसँग भर पर्दै आएको छ । अहिले माथिल्लो भेगमा मेला चलिरहेको छ । नेपालतर्फ सहज आवागमन नहुँदा व्यापार गर्न जाँदा पनि सहज छैन ।’
सदरमुकाम जोमसोमलाई माथिल्लो मुस्ताङको लोमान्थाङसँग जोड्न कालीगण्डकी नदीको जोमसोम र छुसाङमा पुल चाहिन्छ । अहिले दुवै ठाउँमा पुल निर्माण भइरहेको छ । पुल निर्माण भएर सहज गाडी जान सक्ने भएपछि मात्र जोमसोमलाई लोमान्थाङसँग जोड्न सकिन्छ । त्यसबाहेक ट्र्याक मात्र खुलेको जोमसोम–लोमान्थाङ खण्डलाई ग्राभेल गर्न सके बल्ल नेपालतर्फको पहँुच बढ्ने मुस्ताङका सांसद महेन्द्र शेरचनले बताए ।

शेरचनका अनुसार अहिले चीनले सडकबाहेक आफ्नो भूभागमा भन्सार चेकपोस्ट र सुरक्षाकर्मीका लागि व्यवस्थित बसोबासको व्यवस्था मिलाउन थालेको छ । ‘चीनले आफ्नो भूभागमा सडक मात्र होइन, भन्सार चेकपोस्ट र सुरक्षाको व्यवस्था समेत मिलाएको छ । तर, नेपालको सुरुआत अझै भएको छैन,’ उनले भने, ‘नेपालतर्फ पनि सडक फराक बनाएर ग्राभेल गर्ने तयारी भएको छ ।’
उनका अनुसार नेपाल र चीनबीच द्विपक्षीय व्यापार गर्न नेपालले पनि लोमान्थाङमा भन्सार चेकपोस्ट सहित सुरक्षाको भरपर्दाे व्यवस्था गर्नुपर्छ । त्यस्तै सडक पनि फराक र ग्राभेल गर्नुपर्छ । तर ती काम अझै सुरु भएका छैनन् । ‘हाम्रोतर्फको सडक चक्ल्याउन र भन्सार व्यवस्था गर्न पहल गरिरहेका छौं । हामीले आवाज उठाएको धेरै समय भइसक्यो । तर, काम भएको छैन,’ उनले भने, ‘आशा गरौं हाम्रो भूभागमा पनि पूर्वाधार छिटै बन्नेछन् ।’ सभासद शेरचनका अनुसार चीन सरकारले अहिले तीव्र गतिमा आफ्नो खण्डमा विकास निर्माणका काम गरिरहेको छ । तर नेपालतर्फ खासै काम भएको छैन ।

‘चाहना हुने हो भने नेपाल खण्डमा पनि सडक फराकिलो र पूर्वाधार बनाउन धेरै कठिन छैन । कालीगण्डकीमा पुल बन्दैछन् । जोमसोमदेखि करिब १ सय किलोमिटर लोमान्थाङसम्मको खण्डमा ग्राभेल मात्र गर्न सके द्विपक्षीय व्यापार बढाउन सघाउँछ,’ शेरचनले भने, ‘त्यसका लागि सरकारले चासो दिनुपर्छ ।’ उनका अनुसार अहिले जोमसोम–लोमान्थाङ खण्ड फराकिलो बनाउने गरी तयारी भए पनि कहिलेदेखि काम हुन्छ भन्ने यकिन छैन ।

 

प्रकाशित: १२ असार २०७३ ०६:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App