७ वैशाख २०८१ शुक्रबार
विचार

दशैंको समाजशास्त्र

दशैं भर्खरै सकिएको छ। दशैंको ठूलो शास्त्रीय महत्व, विधि छ। विभिन्न समुदायले केही फरक ढंगले मनाउने दशैं पूर्णतः वैदिक विधिबमोजिम नै होला/नहोला तर ती सबै नै हाम्रा दशैं हुन्। किनकि तिनलाई हामी सब मनाउँंछौं। भारत वर्ष र नेपाल दुवैतिर दशैं मनाउने स्थानीय चालचलन केही फरक भए पनि भित्री कुरा र धर्मशास्त्रीय मान्यतामा खासै फरक छैन। समुदाय र ठाउँपिच्छे हुने त्यस्ता फरकले कालान्तरमा छुट्टै परम्पराको रूप लिन्छन् जो त्यस समुदाय वा ठाउँको मौलिकता कहलिन्छन्। एउटै समुदाय र एउटै ठाउँमा पनि समयक्रममा दशैं मनाउने चलनमा परिवर्तन आउँंदै जान्छ, गएको छ। पहिले यस्तो परिवर्तनको गति धेरै ढिलो हुन्थ्यो र थाहा हुन्नथ्यो। अहिले विज्ञान प्रविधिको तीव्र विकास र भूमण्डलीकरणले गरेर परिवर्तनको गति तीव्र भएको छ र एउटै पुस्ताले महसुस गर्न सक्ने भएको छ। संस्कृतिहरु यसैगरी निर्माण र परिवर्तन हुँंदै जाने कुरा हुन् तर हामीकहाँ परिवर्तनप्रति अनुदार एकथरि छन् भने अर्काथरि धर्म र पर्वका हरेक कुरामा खोट देखाउन उद्यत 'समाजशास्त्री' लबी एकातिर छ त राजनीतिक उद्देश्यले दशैंलाई लिएर भ्रामक विवाद झिक्ने 'एक्टिभिस्ट' समूह अर्कोतिर छ। पछिल्ला दुईथरीबाट दशैंको धार्मिक र सामाजिक पक्षउपर नियोजित प्रहार भइरहेको छ।

दशैं हाम्रो देश, समाज र बहुसंख्यक हिन्दु नेपालीको सबैभन्दा महान् र लामो चाड हो। राज्य वा शासकहरुले सम्पूर्ण जनतालाई 'हिन्दुकरण' गर्नकै लागि दशैंलाई अनावश्यक महत्व दिएको होइन एकथरीले प्रचार गरेझैं।

आश्विन शुक्ल प्रतिपदाका दिन पूजाघरमा जमरा राखी घटस्थापना गरेपछि नवमीसम्मका नौ दिन शक्तिस्वरूपा नवदेवीको पूजा आराधना गर्दै शक्तिको उपासना गर्ने र दशमीको दिन टीका विसर्जन गरेर भगवतीको प्रसादका रूपमा मान्यजनहरुका हातबाट उमारेको जमरा र रातो अक्षताको टीकासहित आशीर्वाद ग्रहण गर्ने दशैंको धार्मिक मान्यता र चलन हो। रातो टीका नलाउनेले पहेंलो लांउँंछन्। दशमीका दिन भगवतीले महिषासुर राक्षसको वध गरेको पौराणिक मान्यताअनुसार रातो टीकासहितको विजयोल्लासका साथ केही दिन खुसियालीपूर्वक उत्सव मनाउने गरिएको हो। असूरी शक्तिमाथि दैवी शक्तिको विजयको यो पौराणिक कथाको अन्तर्निहित सन्देशचाहिँ असतमाथि सतको विजय हो। जसको पुष्टि यही समयमा नौ दिनसम्म चलेको युद्धपछि रामले रावणलाई वध गरेको अर्को पौराणिक प्रसंगले पनि गर्छ। हिन्दु धार्मिक मान्यतामा मातृशक्तिलाई ठूलो महत्व दिइएको कुराको प्रमाण पनि हो दशैं।   

गुण–दोषकै आधारमा दशैं हाम्रो देश, समाज र बहुसंख्यक हिन्दु नेपालीको सबैभन्दा महान् र लामो चाड हो। राज्य वा शासकहरुले सम्पूर्ण जनतालाई 'हिन्दुकरण' गर्नकै लागि दशैंलाई अनावश्यक महत्व दिएको होइन एकथरीले प्रचार गरेझैं। पाका संस्कृतिविद् सत्यमोहन जोशीका शब्दमा 'दशैं सनातनी पर्व हो≤ हिन्दुले नि मान्ने, बौद्धले नि मान्ने। हिन्दुले दशैंमा देवीको पूजा गर्छन्, बौद्धले प्रज्ञाको। हिन्दुले रातो टीका लांउँछन्, बौद्धले सेतो। हिन्दुले काटमार गरेर मनांउँंछन्, बौद्धले नगरी।' जोशी मात्र खस जातिइतरका एक्ला विद्वान् होइनन् यसो भन्ने, जगमान गुरुङ जस्ता मूर्धन्य संस्कृतिविद्लगायतका थुप्रै विद्वान् दशैं हिन्दु/गैरहिन्दु सबै नेपालीको सनातन चाडपर्व हो भन्ने कुरामा एकमत छन्। शतायु हुनै आँटेका राष्ट्रकवि माधव घिमिरे लमजुङको पुस्तुन, बाहुनडाँडामा बिताएको बाल्यकाल सम्झँदै भन्छन्– 'गुरुङ र बाहुनको बाहुल्य भई अरु जातजातिको पनि बसोबास रहेको हाम्रो गाउँमा दशैंको टीका थाप्न सबै एक अर्कोको घरमा जान्थे। गुरुङहरु नवमीलाई विशेष मान्थे, हामी बाहुनहरु अष्टमीलाई मान्थेम्। उनीहरु हाम्रो पूजाआजामा सरिक हुन्थे, उनीहरुकोमा हामी।' यस्ता यावत् ऐतिहासिक तथ्य बंग्याउँंदै एक्टिभिस्ट लबीले भने दशैं जनजातिको चाड होइन, यसलाई हिन्दु शासकले जनजातिमाथि जबर्जस्ती लादेका हुन् भन्दै जनजाति समुदायमाझ दशैं बहिष्कारको चलन चलाए। केही समय लहर चलेपछि समाजले नपचाएको त्यो राजनीति प्रेरित अभियान अचेल क्रमशः फिका र निस्तेज भएको छ।

हिन्दु धर्मावलम्वीहरुमै पनि मधेसी र पहाडे खस समुदायले मनाउने चलन र दशैंलाई दिने महत्वमा फरक छ। पूर्वी र मध्य नेपालका मधेसी समुदायका लागि छठ दशैंजत्तिकै महत्वको चाड हो। बहुसंख्यक भारतीय हिन्दु नवरात्रिभर नवदेवीको व्रत बसेर दशैं मनाउँछन्। खाए पनि फलफूल वा 'चोखो' मात्र खान्छन्। कतिपय मांसाहारीले पनि त्यस बखत माछा/मासु खाँदैनन्। हुन त नवरात्रिभर बिहान बेलुकी चण्डी, दुर्गा सप्तशती, भगवती स्तोत्र आदि पाठ गरेर उपवास लिने र महाअष्टमी वा महानवमीका दिन भगवतीलाई बलि दिएपछि त्यसको प्रसादका रूपमा मासु खाने चलन हाम्रोमा पनि पछिसम्म थियो। कतिपय नैष्ठिक बूढापाका अहिले पनि त्यसै गर्छन्।

भारतमा बंगालमा अन्तभन्दा धेरै धूमधाम र विशेष श्रद्धाका साथ नवरात्रि मनाउँछन्। भारतमा र हाम्रै मधेसमा पनि नवरात्रिभर ठूल्ठूला पण्डालमा दुर्गाका माटाका मूर्ति सजाइ पूजा गरेपछि मूर्तिलाई नदी, समुद्रमा लगेर विसर्जन गरिन्छ। पहाडी क्षेत्रमा भने शक्ति पीठमै गई दर्शन/पूजा गर्ने, बलि दिने चलन छ। काठमाडौं उपत्यका र पूर्वमा पूर्णिमाका दिन टीका विसर्जन नगरुन्जेल लगाइने टीका पश्चिम पहाडमा दशमीको दिनमात्र लगाइन्छ। काठमाडौं उपत्यकामा निधारको मध्यमा मात्र लगाइने टीका पहाडतिर पूरै निधारभरि लगाइन्छ। एक्टिभिस्टहरुले आरोप लगाएझैं काठमाडौंका शासकले नै दशैं सबै जनतामा थोपरिदिएका भए त यस्ता सबै विधिमा एकरूपता हुन्थ्यो होला। ठाउँपिच्छे चलन फरक हुँदैनथ्यो होला।

नेपालमा र खासगरी खस समुदायमा यो चाडको महत्व सबभन्दा बढी हुनुका आफ्नै धार्मिक, सांस्कृतिक, सामाजिक मौलिक कारण छन् तर केही समययतादेखि उद्देश्यपूर्ण तवरबाट त्यसको विरोध वा राजनीतीकरण गरिएको, गर्न खोजिएको छ। हो, यसमा गर्नुपर्ने समयानुकूलका सुधारका विषयमा बहस गर्न सकिन्छ, गर्न पनि पर्छ। किनभने दशैंका नाममा धेरै सामाजिक विकृति देखिँदैछन्। उदाहरणका लागि, दशैंका नाममा अनावश्यक तडकभडक गर्ने, फिजुलखर्ची गर्ने चलन बढेको छ। यद्यपि त्यस्ता अपसंस्कृतिका समाजशास्त्रीय, अर्थशास्त्रीय 'डाइनामिक्स' हुन्छन्। तिनमा सुधार ल्याउन न राज्यले 'पुलिसिङ' गरेर हुन्छ न स्वघोषित प्रगतिशीलहरुले 'मोरल पुलिसिङ' गर्न खोजेर। तिनलाई सुधार्ने जिम्मा समाजको हो, सरोकारवाला समूहको हो। राज्यले डण्डा चलाएर तिनमा सुधार हुँदैन लोकतन्त्रमा≤ बेसरोकारवाला अथवा विधर्मीले अर्ति दिएर त झन् प्रत्युत्पादक हुन्छ यस्ता संवेदनशील कुरामा। नवरात्रिमा देवीलाई अनिवार्य पशुबलि दिने चलनमा सुधार ल्यांऔं। वास्तवमा अहिले पनि काटमार नगर्नेहरुले फर्सी, कुभिण्डो, घिरौंला जस्ता वनस्पति 'बलि' दिएर, जीवहत्या नगरी कालरात्रि पूजा गर्ने धेरै छन्। त्यस्ता कुराको अनुशरण गरौं। किनकि, हिंसा आफैंमा अमानवीय हुँदा त्याज्य त हुँदै हो, देवीको प्रसादका रूपमा मासु खाने चलन अत्यधिक मासु खाने चाडका रूपमा स्खलित र रूपान्तरित हुनु भनेको धर्म, नैतिकता, जनस्वास्थ्य, पशु अधिकार हरेक कोणबाट गलत पनि हो। झन् अहिले त यसमा रक्सी, बियरको खोलो बग्ने विकृति पनि थपिएको छ।

त्यस्तै, फूलपातीदेखि द्वादशीसम्मको छ दिन बिदा, त्यसमा घटस्थापना र कोजाग्रत पूर्णिमाका दिनको थप २ दिन बिदा निस्सन्देह लामो हो। यसमा छलफल गरौं। सुधार, संक्षेपीकरण गर्नुपर्ने भए सरोकारवाला र संस्कृतिविद्हरु बसेर स्वस्थ्य, सकारात्मक बहस चलाउँ र समुदायको सहमतिमा सुधार गरौँ। नेपालमा दशैं जस्ता सांस्कृतिक कारण बाहेक राजनीतिकलगायतका थुप्रै अरु कारणबाट पनि धेरै सार्वजनिक बिदा दिइने गरिन्छ। जातजाति, संस्कृतिको बहुलता र विविधता हुँदा विभिन्न समुदायको आवश्यकता र आकांक्षा सम्बोधन गर्न यसो गरिएको छ। 'पहिचान' राजनीतिको अहिलेको दौडमा यसमा सुधार गर्न सकिने अवस्था छैन। पहिचानको ज्वरो कम भएपछि, राजनीतिक संक्रमण सकिएपछि, राजनीति र लोकतन्त्र परिपक्व हुंँदै गएपछि, शिक्षाको प्रसार र देशको औद्योगिकीकरण हँुंदै गएपछि यस्ता बिदा कटौती हुनुपर्ने माग स्वयं जनसमुदायबाटै आउनेछन्। अहिले यो माग व्यावसायिक समूहबाट मात्र आइरहेको छ।

तर दशैंमा लामो बिदा दिएको दशैं हिन्दुको चाड भनेर होइन। विदेश गएका, घर छाडी काममा टाढा पुगेका नेपाली च्ााहे ती जुनसुकै धर्म/संस्कृति मान्ने किन नहुन्, वर्षको एकपल्ट दशैंमा घर आंउँंछन्। खेतीपाती, मौसमलगायतका विभिन्न कुराका अनुकूलताका हिसाबबाट दशैंको समय सबभन्दा उपयुक्त समय पनि हो त्यसरी घर फर्कन। त्यसमाथि दशैं सबभन्दा बढी जनसंख्याले सर्वाधिक महत्व दिने पर्व त हुँंदै हो। लामो बिदा दिने उपयुक्त समय र बहुसंख्यक जनताले उत्साहका साथ मनाउने पर्व दशैंबाहेक अरु नै छन् भने भनौँं≤ त्यही समयमा यो लामो बिदा सारौंला। दशैं बिदामा सपरविार २–४ दिन घुम्न जाने चलन पनि अचेल चलेको छ। जसबाट आन्तरिक पर्यटन प्रबर्द्धन भएको छ, देशको अर्थतन्त्रलाई फाइदा पुगेको छ। बजारमा माग सिर्जना भएर अर्थतन्त्र चलायमान, गतिशील बनेको छ। यस्तो हुने हुनाले नै विकसित मुलुकमा त लामो बिदालाई प्रोत्साहित नै गरिन्छ। हामी जस्तै धर्म निरपेक्ष घोषित पश्चिमा मुलुकहरुमा क्रिसमसदेखि नयाँ वर्षसम्म न बीचमा बिदा लिएर, दिएर बिदालाई लामो पार्ने चलन छ। त्यहाँ त यहुदी, मुसलमान कसैले पनि धर्म निरपेक्ष देशमा किन इसाईले मनाउने क्रिसमससँग गाँसेर लामो बिदा दिएको भनेर कोकोहोलो गर्दैनन्। 

तडकभडक र फजुलखर्ची बढ्न जाँदा गरिबहरुले प्रतिस्पर्धा गर्न सकेनन्, उनीहरुले उल्लासमय, ऋणमुक्त र चिन्तामुक्त भएर दशैं मनाउन पाएनन् भन्नेे कुरा जायज हो। तर त्यसमा दशैंको दोष छैन, आडम्बर देखाएर पर्वलाई भद्दा तुल्याउने उच्चवर्गीय अहकांरको दोष छ। पर्वहरु संस्कृतिगर्भा हुन्छन्, सही संस्कृतिलाई जन्म दिने कि गलत संस्कृतिलाई भन्ने कुरा समुदाय र त्यसका अगुवाहरुमा निर्भर गर्छ। जहाँसम्म गरिबको कुरा छ, के दशैं के अघिपछि गरिबी त सके निवारणै, नभए पनि न्यूनीकरण गर्नुपर्ने कुरा हो। लोककल्याणकारी राज्यले के/कस्ता उपाय अवलम्बन गरी गरिबलाई दशैं मनाउन राहत दिन सक्छ, आफ्नो बुताले भ्याएसम्म त्यो गर्नुपर्छ।

वास्तवमा दशैंको सर्वाधिक सवल राष्ट्रिय र सांस्कृतिक पक्ष भनेकै यो नेपाली जातिको साझा चाड हो, हाम्रो पहिचान हो। देशभित्र मात्र होइन, संसारैभर जहाँजहाँ नेपाली डायस्पोरा पुगेका छन्, चाहे ती पूर्वोत्तर भारतदेखि आसामसम्मका पुराना बस्ती हुन् चाहे अमेरिका–अस्ट्रेलियादेखि अरब–मलेसियासम्मका अहिलेका नयाँ गन्तव्य, त्यहाँका नेपाली सकेसम्म, भ्याएसम्म आपसमा जम्मा भएर उल्लास र उमंगका साथ दशैं मनांउंँछन्, टीका र शुभकामना साटासाट गर्छन्। भर्खरै बिबिसी नेपाली सेवाले प्रसारण गरेको एउटा रिपोर्टअनुसार नेपाली कामदार धेरै भएका अरब मुलुकमा नेपालीले धूमधामसँग दशैं मनाएको देखेर कतिपय रोजगारदाताले उनीहरुलाई दशैं मनाउन त्यो दिन बिदा दिन थालेका रहेछन्। नेपाली ग्राहकलाई हेरेर त्यहाँको बजारमा खसीलगायत दशैंका सामान आपूर्ति हुन थालेको रहेछ। यो सब त्यहाँका शेखहरुले त गराइदिएका होइनन् होला≤ खस, दलित, मधेसी, जनजाति सब सराबरी रहेका नेपालीले आफंै गरेका होलान्।

त्यस्तै, अमेरिका, अस्ट्रेलिया, पूर्बोत्तर भारतमा पनि समुदाय आफैंले नै धूमधामसँग दशैं मनाएका होलान्, त्यहाँका इसाई वा धर्म निरपेक्ष शासकले मनाउन लगाएका त होइनन् होला। त्यसैले नेपालमा चांहिँ हिन्दु शासकले हिन्दुकरण गर्ने क्रममा दशैंलाई महत्व दिएको भन्ने आरोपले जातीय राजनीति गर्नेहरुको, धर्म परिवर्तन गराउनेहरुको, अन्तर्राष्ट्रिय दाता र गैससहरुको गुप्त एजेन्डालाई त सहयोग पुर्‍याउला तर त्यसले यथार्थलाई प्रतिविम्बित गर्दैन। उनीहरुको आरोप, प्रचार सत्य भएको भए त देश धर्म निरपेक्ष भइसकेपछि दशैंलाई जनसमुदायले उत्तिकै वा अझ बढी महत्व दिने थिएनन्, जुन अहिले दिएका छन्।

प्रकाशित: १ कार्तिक २०७३ ०४:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App