७ वैशाख २०८१ शुक्रबार
प्रविधि

मोबाइल एपमा झुम्मिँदै बालबालिका

काठमाडौं- तपाईंका छोराछोरी बढ्तै मोबाइल एपको प्रयोग गर्दै छन्? यसो हो भने समयमै ध्यान पुर्‍याउनुहोस्, कतै आफ्नै छोराछोरी बर्बादीतिर धकेलिन सक्छन्। घन्टौं मोबाइल प्रयोग गर्ने टिनएजर तथा बालबालिकामा विभिन्न असर देखिएको पाइएको छ। मोबाइल एपले नेपाली समाजमा दिनहुँ असर पारिरहेको मनोचिकित्सकसँग काम गरिरहेका संस्था तथा विशेषज्ञले जनाएका छन्।

मोबाइल एप प्रयोगका कारण समस्या लिएर सामाजिक मनोचिकित्सक तथा परामर्श केन्द्रमा धेरै पुग्ने गर्छन्। कोटेश्वरकी १४ वर्षीया सुमिता क्षेत्री (नाम परिवर्तन) राजधानीको नाम चलैकै स्कुलमा पढ्थिन्। अविभावक दुवै विदेशमा थिए। त्यो समय उनले बढ्तै एप चलाइन्। स्कुलकै केटा साथीलाई केही बढी अंग प्रदर्शन भएको आफ्नो फोटो मोबाइलमार्फत पठाइन्। साथीले फोटो फेसबुकमार्फत सार्वजनिक गरिदिए।

त्यसपछि उनलाई स्कुलमा साथीहरुले घृणा गर्न थाले। परिवारका सदस्यले पनि हप्काउने, सम्झाउने गरे। दुवैतिरको दबाबका कारण किशोरीले तनाव लिन थालिन्। एक्लै बस्ने, असामाजिक हुन थालिन्। समस्याले गाँजेपछि उनलाई परिवारले मनोचिकित्सा सेवा तथा मनोपरामर्श केन्द्रमा पुर्‍यायो। उपचारपछि उनी सामान्य अवस्थामा फर्केको केन्द्रकी मनोविद् करुणा कुँवरले बताइन्।

'आफ्ना बालबालिकाले पढाइ बिगारेको, नसुतेको, समयमा नउठेको जस्ता समस्या लिएर अभिभावक आउँछन्। सबैको समस्याको केन्द्र मोबाइल एप नै देखिन्छ।'

कलंंकीका १८ वर्षीय युवकलाई परिवारले केन्द्रमा पुर्‍यायो, पढाइ बिग्रेको समस्या लिएर। मनोचिकित्सकले पत्ता लगाए कि उनमा मोबाइल एप प्रयोगको चर्को लत लागेको थियो।  यतिसम्म कि उनले घरका परिवारसँग बोल्ने समय समेत पाउँदैनथे। समयमा खाना नखाने, नसुत्ने र बिहान ढिला उठ्ने उनको यो व्यवहारले अविभावक दुःखी बन्दै गए। त्यस्तो व्यवहारप्रति गुनासो गर्‍यो भने उनले उल्टै रिसाउने र घर छोड्ने धम्की दिन्थे। उपचारपछि उनको लत छुटेको छ।

यस्तो लतको असर धेरैलाई परेको मनोचिकित्सक बताउँछन्। 

मोबाइल एपको बढी प्रयोगका कारण आफ्ना सन्तानमा समस्या देखिएपछि अविभावकहरू विभिन्न मनोचिकित्सा उपचार केन्द्रमा पुग्ने गरेको पाइएको छ। केन्द्रमा मनोउपचार गर्न आउने मासिक एक सयमध्ये ४० प्रतिशत एपले निम्त्याएको समस्यासँग सम्बन्धित छन्। तीमध्ये ३० प्रतिशत बालबालिका छन्।

पछिल्लो १८ वर्षदेखि सेवा दिँदै आएका मनोचिकित्सक  पशुपति महतको अनुभवमा चार वर्षयता बालबालिकामा मोबाइल एप बढी प्रयोगको असर देखिएको छ। 'सन् २०१० मा एकाध घटना देखेको थिएँ, यो अहिले घर–घरमा पुगेको देखिन्छ,' उनले भने।

पछिल्लो समय मोबाइल एपको प्रयोगले किशोरकिशोरीमा समस्या उत्पन्न भएको मनोचिकित्सा सेवा तथा मनोपरामर्श केन्द्रकी मनोविद् करुणा कुँवर बताउँछिन्। 'आफ्ना बालबालिकाले पढाई बिगारेको, नसुतेको, समयमा नउठेको जस्ता समस्या लिएर अभिभावक आउँछन्। सबैको समस्याको केन्द्र मोबाइल एप नै देखिन्छ,' उनले भनिन्।

हाल  तीव्र रुपमा वृद्धि भएको मोबाइल एप तथा सामाजिक सञ्जालसँगै यसको प्रभाव बालबालिका र किशोरकिशोरीमा परेको भ्वाइस अफ चिल्डे्रनकी कार्यक्रम अधिकृत कृति भट्टराईको अनुभव छ। संस्थाले हाल  बालबालिकामा अनलाइन र इन्टरनेटको असरबारे अनुसन्धान गरिरहेको छ। अनुसन्धानको प्रारम्भिक चरणमा स्कुले बालबालिकाले फेसबुकको बढी प्रयोग गरेको पाइएको भट्टराई बताउँछिन्।

मनोचिकित्सकका अनुसार उपचारका लागि आउनेहरुले घरपरिवार, साथीभाइ, आफन्तसँग प्रत्यक्ष भेटघाट नगर्ने, रातदिन एप चलाएर बस्ने, खाना समयमा नखाने, बिहान ढिला उठ्ने गरेको र पढाइ बिगारेको पाइएको छ। नेसनल इन्स्टिच्युट अफ साइको काउन्सिलिङकी सिनियर परामर्शदाता कञ्चन रावत भन्छिन्, 'मोबाइल एप प्रयोग गर्न नपाएका नानी भने हीनभावनामा पुगेर उपचारमा आएका छन्।'

सामाजिक सञ्जाल बढी चलाउने किशोरीहरु यौन शोषणमा पर्न पुगेको मनोविद् करुणा कुँवर बताउँछिन्। 'फेसबुकै केटासाथीले फोटो एनिमेसन गर्ने र त्यही फोटो देखाइदिने धम्की दिएर यौन शोषण गर्ने प्रयास गरेको पनि  देखिन्छ,' उनले भनिन्, '८–९ कक्षाका नानीमा भने एप बढी चलाएरै नियमित गतिविधि बिग्रँदै गएको पाइन्छ। नयाँ–नयाँ एप आइरहेको अभिभावकलाई जानकारी हुँदैन, त्यही एपको फोटो दुरुपयोग  गरेर सेक्स अफर गरेको समेत देखिन्छ।'

छात्रवासमा बस्ने विद्यार्थी, बढी व्यस्त अविभावकका छोराछोरी इन्टरनेटको लतमा पर्दै गएको मनोचिकित्सक महत बताउँछन्। 'यसमा मुख्य दोषी अविभावक छन्, छोराछोरीलाई समय दिनुको सट्टा हातहातमा ल्यापटब र मोबाइल दिएका हुन्छन्,' उनले भने।

दीर्घकालीन असर

मनोचिकित्सकका अनुसार सानै उमेरदेखि लामो समयसम्म यस्ता एप चलाएमा  यसको दीर्घकालीन असर पर्छ। एकोहोरो रुपमा इन्टरनेटमै व्यस्त हुँदा उनीहरुको दिमाग त्यसमै मात्र बढी सक्रिय हुनाले मस्तिष्कको विकासमै फरक हुन्छ। मनोविद कुँवरका अनुसार बालबालिकाको अन्यत्र  विकास हुनुपर्ने मस्तिष्क सानो क्षेत्रमै सीमित बन्दै जान्छ। मस्तिष्कले सामाजिक क्रियाकलापमा भाग लिनै छोड्छ। मनोविद् कुँवर भन्छिन्, 'ह्युमन बिइङको रुपमा सक्रिय हुने बे्रन नै निष्त्रि्कय बन्दै जान्छ।' 

बढी समय एपमा बिताउने बच्चालाई पछि गएर सामान्य अवस्थामा फर्काउन समेत मुस्किल हुने कुँवर बताउँछिन्। उनी भन्छिन्, 'असामाजिक व्यवहारका कारण कतिपयका वैवाहिक जीवन समेत ध्वस्त भएको अनुसन्धानले देखाएको छ।

सानैदेखि यस्ता गतिविधिमा भुल्दा बच्चाले धेरै कुरा गुुमाउने मनोचिकित्सक पशुपति महत बताउँछन्। महतका अनुसार बच्चाको मानसिक विकासका लागि उफ्रिने खालको गतिविधि, सामाजिक भेटघाट पारिवारिक कुराकानी जस्ता क्रियाकलापको भूमिका हुन्छ। यस्ता गतिविधिले उसको समग्र विकासमा सहयोग पुग्ने महत बताउँछन्।

बालबालिकालाई मोबाइल एपको अनुचित प्रयोगबाट कसरी जोगाउने?

सकेसम्म नानीहरुलाई मोबाइल एप प्रयोगको लतमा लाग्नुअघि नै जोगाउनुपर्छ। लत लागिसकेको खण्डमा भने अविभावकको नम्र व्यवहारबाटै बाहिर निकाल्न सकिने मनोचिकित्सक बताउँछन्।

लतमा लागिसकेकाहरुसँग शालीन र सम्मानपूर्वक कुराकानी गर्ने, एपको प्रयोगबाट भएका घटनाबारे जानकारी दिने, उनीहरुले प्रयोग गर्ने गरेका एपको निगरानी राख्ने मनोचिकित्सकको सुझाव छ। मनोविद् कुँवर भन्छिन्, 'कम प्रयोग गर्ने तरिका नम्र रुपमा सिकाउन सकिन्छ। पूरै बन्देज लगाउन सम्भव छैन।'

विभिन्न बहानामा इन्टरनेट प्रयोग गर्न चाहने छोराछोरीलाई सकेसम्म साझा कोठामा प्रयोग गर्न मिल्ने गरी कम्प्युटर, ल्यापटब जस्ता सामग्री दिने, घरमा सीमित प्रविधिको पहुँच गराउने, प्रयोग अवधि तोक्ने गर्न सकिन्छ।

प्रकाशित: २ कार्तिक २०७३ ०२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App