१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

यसरी खस्यो त्रिसुलीमा बस (फोटो फिचर)

चितवन–दुर्घटनाका दृष्टिले निकै जोखिमयुक्त मानिएको नारायणगढ मुग्लिन सडक खण्डमा मंगलबार राति एक यात्रु बस सडकबाट तल त्रिशुली नदीमा खसेको छ। चितवन प्रहरीले दिएको जानकारी अनुसार राति अबेलासम्म भएको खोजबिनमा नौजनको जिवितै उद्दार भएको छ भने एकजना मृत अवस्थामा फेला परेका छन्। प्रहरीले कम्तिमा एक जना हराइ रहेको आशंका गरेको छ।

काठमाडौंबाट भैरहवा जाँदै गरेको लु १ ख ७३९१ नम्बरको बस मुग्लिनदेखि नौ किलो मिटर पर रिग्दी खोला भन्ने ठाउँ नजिक राति आठ बजेर २५ मिनेटमा त्रिशुलीमा खसेको हो। ‘बसमा ११ जना भएको कुरा आएको छ।  एकजना मृत फेला परेको अवस्था छ। नौजना घाइते अवस्थामा भेटिएका छन्’, चितवन जिल्ला प्रहरी कार्यालयका एसपी वसन्त कुँवरले जानकारी दिए।

एसपी कुँवरका अनुसार एकजना यात्रु हराइ रहेको आशंका छ। बस त्रिशुली नदीमा आधा डुबेको छ। घाइतेमा एकजना महिला छन्। ‘उद्दार गरेकामध्ये धेरैलाई बसभित्रै बाट झिकेको हो’, एसपी कुँवरले भने। घाइतेहरुको चितवन भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयबाट जानकारी प्राप्त भएको छ ।

सो सडक खण्डमा गएको भदौ १० गते रौतहटबाट पोखरा जाँदै गरेको यात्रु बस त्रिशुली नदीमा खस्दा २२ जनाको ज्यान गएको थियो। मुग्लिनभन्दा केही पर पृथ्वीराजमार्गको घोप्टेभिरमा पूर्व मुख्यसचिव तथा पूर्व गृहमन्त्री माधव घिमिरे चढेको जीप असोज नौ गते त्रिशुलीमा खसेर वेपत्ता भएको छ। जीपसँगै घिमिरे पनि वेपत्ता छन् भने तीनजनाको घटना स्थलमै निधन भएको थियो।

सबै तस्बिर साैजन्य : नारायणगढ मुग्लिन सडक आयोजना

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App