८ वैशाख २०८१ शनिबार
राजनीति

२४ घन्टा टिक्न सकेन गृहको अडान

काठमाडौं–गृहमन्त्री विमलेन्द्र निधिको ठाडो निर्देशनमा रातारात काठमाडौं तानिएका दुई जिल्लाका प्रहरी प्रमुख २४ घन्टा नबित्दै कार्यक्षेत्र फर्किएका छन् ।

वीरगन्जलाई केन्द्र बनाएर सक्रिय रहेका अन्तर्राष्ट्रिय हुन्डी कारोबारी सन्तोष जैन पक्राउ परेपछि अन्य कारोबारीको दबाबमा एसपी राजुबाबु श्रेष्ठ र सत्ताधारी नेकपा माओवादी केन्द्रका नेता विश्वनाथ साहलाई पक्राउ गर्ने तयारी थालेपछि सिरहाका एसपी श्याम ज्ञवालीलाई काठमाडौं डाकिएको थियो ।

दुवै एसपीलाई प्रहरी प्रधान कार्यालयमा राखेर अन्य एसपी पठाउने गृहमन्त्री विमलेन्द्र निधिको अडान २४ घन्टा नबित्दै फेरिएको हो ।
स्रोतका अनुसार निमित्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्मालाई अघि लगाएर मंगलबार गृह मन्त्रालय पुगेका दुवै एसपी र गृहसचिव लोकदर्शन रेग्मीबीच एक घन्टा लामो वार्तापछि बुधबार दुवैलाई कार्यक्षेत्र फिर्ता पठाउने तय भएको हो ।

हुन्डी कारोबारविरुद्ध पर्सामा कारबाही सुरु भएपछि बैंकमा डलरको कलेक्सन बढेको भन्दै राष्ट्र बैंकले श्रेष्ठलाई आउने शनिबार सम्मान गर्ने तयारी गरेपछि गृह र प्रहरी मुख्यालय पछि हटेको स्रोतले जनाएको छ ।

घटनाक्रम त्यतिबेला सुरु भयो, जब पर्साका एसपी श्रेष्ठ अवैध हुन्डी कारोबारीको लहरो तान्दै थिए । सिरहाका एसपी ज्ञवाली अपहरणजस्तो जघन्य अपराधमा नेकपा माओवादी केन्द्रका पूर्वसभासद विश्वनाथ साहलाई पक्राउ गर्ने तयारीमा थिए । साहउपर इन्जिनियर देवानन्द मण्डलको अपहरण गरेको आरोपमा अनुसन्धान भइरहेको थियो ।

स्रोतका अनुसार वीरगन्जमा सक्रिय अवैध हुन्डी कारोबारीमध्येका एक जैन परिवारलाई पक्राउ गरेपछि अन्य हुन्डी कारोबारी ठूलो रकमको ‘अफर’ लिएर गृहमन्त्री निधिसमक्ष पुगेका थिए । गृहमन्त्री निधि र गृहसचिव लोकदर्शन रेग्मीले दुवै एसपीलाई फिर्ता बोलाएर आफूअनुकूल एसपी पठाउने योजनाअनुसार शर्मालाई मनाएका थिए । सोहीअनुसार प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको गृहजिल्लामा गएका ज्ञवाली र आर्थिक विवादमा नमुछिएका एसपी श्रेष्ठलाई प्रहरी प्रधान कार्यालयले बिफ्रिङ भन्दै काठमाडौं बोलाएको थियो ।

हुन्डी कारोबारविरुद्ध पर्सामा कारबाही सुरु भएपछि बैंकमा डलरको कलेक्सन बढेको भन्दै राष्ट्र बैंकले श्रेष्ठलाई आउने शनिबार सम्मान गर्ने तयारी गरेपछि गृह र प्रहरी मुख्यालय पछि हटेको स्रोतले जनाएको छ ।

प्रहरी प्रवक्ता हेमन्त मल्लले जिल्लाको शान्ति सुरक्षाको अवस्था बुझ्नका लागि काठमाडौं आएका दुवै एसपी कार्यक्षेत्र फर्किएको जानकारी दिए । उनका अनुसार दुवै एसपीलाई बाहिर आएजस्तो काजसरुवा वा फिर्ता नभई सामान्य बिफ्रिङका लागि काठमाडौं बोलाइएको थियो ।

‘जिल्लाको अवस्थाका विषयमा केही छलफल थियो, आज कार्यक्षेत्र फर्कनुभयो अन्य केही होइन,’ मल्लले भने ।

वीरगन्ज उपमहानगरपालिका– ७ रेशमकोठीस्थित सन्तोष जैनको घरमा गत असोज १६ मा पर्सा प्रहरीले छापामारी घरधनी ५५ वर्षीय सन्तोष जैन, उनकी श्रीमती ५० वर्षीया उषा गोयनका, छोरा ३२ वर्षीय बिकी भन्ने अंकुर जैन, वीउनपा– ३ प्रगतिनगरका २३ वर्षीय जीवन ठाकुर र लंगडी– १ का ३३ वर्षीय सुनील कुमार पटेललाई ८१ लाख रुपैयाँ नगद र एक करोड ३२ लाख रुपैयाँको चेकसहित पक्राउ गरेको थियो । यसैगरी, ल्यापटप एक थान, फ्याक्स मेसिन एक थान, पैसा गन्ने मेसिन एक थान, मोबाइल सात थान र विभिन्न बैंकको चेक बुक ६ थानसमेत प्रहरीले बरामद गरी हुन्डी कारोबारको विषयलाई गहन अनुसन्धान अगाडि बढाएको थियो ।

सन्तोष जैनकी श्रीमती उषा गोयनकाको नाममा दर्ता रहेको न्यु नेहा ओभरसिजले वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य विभागबाट लिएको प्राइभेट फर्म दर्ताको प्रमाणपत्रमा सुर्तीजन्य वस्तु, निर्माण सामग्री, खाद्य सामग्री, सुनचाँदीको गरगहना तथा सजावटका समानको मात्र कारोबार गर्ने उल्लेख छ । तर, न्यु नेहा ओभरसिजले वीरगन्जका विभिन्न उद्योगपति एवं व्यापारीसँग गैरकानुनी रूपमा चर्को ब्याजदरमा कर्जा लगानी गर्ने तथा अवैध रूपमा मुद्राको ओसारपसार (हुण्डी) लगायत अवैध वित्तीय कारोबार गर्दै आएको सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले छापा मारेको थियो ।

स्रोतका अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृतिबिना कुनै पनि रकम निक्षेप, संकलन, ओसारपसार, लेनदेन गर्नु अवैध वित्तीय कारोबारभित्र पर्ने भएकाले प्रहरीले कारबाही थालेपछि पर्सा कांग्रेसका केही नेताको अवैध आयको बाटो रोकिएको थियो । न्यु नेहा ओभरसिज सञ्चालक महिला भएकाले उनलाई पक्राउ गर्न नहुने भनी नेताहरुले पर्सा प्रहरी प्रमुखलाई निरन्तर दबाब दिइरहेका थिए ।

प्रकाशित: ४ कार्तिक २०७३ ०३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App