८ वैशाख २०८१ शनिबार
समाज

१२० वर्षीया बृद्धा वलीले भनिन्- मैले काललाई जितेँ

अहिले १ सय २० वर्षकी जाजरकोट भेरीमालिका नगरपालिका-६ कि भीमा वली । उनलाई आँखा नदेख्ने र कान नसुन्ने बाहेके वोल्नलाई भने कुनै समस्या छैन । उनका १२ छोराछोरी मध्ये ९ छोराछोरीको मृत्यू भईसकेको छ । तस्बिर रासस ।

हेमन्त केसी

जाजरकोट- यहाँको भेरीमालिका नगरपालिका–६ की भीमा वली अहिले एक सय २० वर्षकी भइन्।। आफूले जन्माएका १२ छोराछोरीमध्ये नौ छोराछोरीको मृत्यु भइसकेको छ तर भीमा वली भने जीवितै छिन्।

एक सय २० वर्षीया भीमा वलीले अझै पनि आफूले पोलेको मकै र भुटेको भट्ट (भटमास) खानसक्ने बताउँछिन्। आँखा नदेख्ने र कान नसुन्ने वलीको बोल्नलाई भने कुनै समस्या देखिएको छैन । ६ भाइ छोरा र ६ बहिनी छोरीलाई जन्म दिएकी वलीले आफूले काललाई पनि जितिसकेको बताउँछिन्। अन्तिम १२औँ सन्तानका रुपमा कान्छो छोरा टीकाराम वलीलाई २०१६ सालमा जन्म दिएको उनले जानकारी दिइन्।

भात खाँदा आफूलाई घाँटीमा अड्कने बताउने भीमा वलीले मकैको रोटी दूधमा भिजाएर खान खजिलो हुने सबैलाई सुनाउँछिन्। प्रायः अन्य खानाबाट आफूलाई चिसो हुने बताउँदै आएकी एक सय २० वर्षीया वलीलाई चिया भने अनिवार्य खानैपर्ने बताउँछिन्। दैनिक खानामा दही, दूध पनि खाइरहेकी वलीले चाउचाउ खान पनि आफूले निकै मन पराउने बताउँदै भेट्न आउने सबलाई यस्ता उपहार लिएर आउन सल्लाह दिन्छिन्।

एक शताब्दीभन्दा बढी उमेर पुगेकी वलीले आफूले जन्म दिएका १२ सन्तानमध्ये हाल दुई छोरा र एक छोरी मात्र जीवित रहेको जानकारी दिइन्। जीवित रहेकामध्य छोरा हरिबहादुर वली र टीकाराम वली रहेका छन् भने छोरीमा ओइली खत्री रहेकी छन् ।

अन्य नौ दिदीबहिनी र दाजुभाइको यसअघि नै मृत्यु भइसकेको छ । विसं २०५२ सालमा नेपाली नागरिकताको प्रमाणपत्र बनाएकी वलीले नेपाल सरकारबाट बुझ्ने ज्येष्ठ नागरिक भत्ताले आफूले लगाउने कपडा र खानालाई चिनी, चियापत्ती खरिदमा खर्च गर्ने गरेको बताइन्। उनको जन्म विसं १९५२/५३ सालतिर भएपनि नागरिकता बनाउँदा विसं १९७५ साल लेखिदिएको उनले बताइन्। रासस

प्रकाशित: ४ कार्तिक २०७३ ०५:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App