coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

उपन्यासको ग्ल्यामर

भाउपन्थी

नेपाली साहित्यको सिर्जनात्मक पक्षमाथि अहिले अनेक आक्रामक आक्षेपहरू लगाउन सुरु गरिएको छ। पहिले यसलाई अनुत्पादक क्षेत्र भनियो, तर अहिले पनि त्यो धारण फेरियो भन्नेमा शंका नै छ। नेपाली साहित्य उत्पादक होस् वा अनुत्पादक यसले समयअनुसारको परिवर्तनप्रति संवेदनशीलता देखाउँदै आएको छ। मस्ल्यवादी साहित्यमा राजनीतिक दलगत दृष्टिकोणको अभाव हुन्छ नै र त्यो आवश्यक पनि हुन्छ। नेपाली साहित्यले बढी असहमति र आलोचनात्मक स्वर मुखर गर्ने हुनाले राजनीति साहित्यप्रति उपेक्षा भाव राख्ने गर्छ। यस्तो उपेक्षादेखि साहित्य भयभित हुने गर्दैन। यो नै साहित्यको मूल स्वभाव हो। तर, साहित्यको मूल समस्या यो होइन। यद्यपि, साहित्यको गति अवरुद्ध गर्ने समस्याको सिर्जना गर्नमा यस पक्षको पनि भूमिका छ। यस समयको साहित्य पढ्दा समसामयिक विकृति, मूल्यहीनता र दण्डहीनता, अकर्मण्यता र परिव्याप्त भ्रष्टाचारको परिवेशले यसमाथि गहन प्रतिक्रियात्मक असर पारेको छ। अनिश्चय, अनिर्णय र दण्डहीनता आदि तथा गरिबीको बढ्दो अवस्था र दुरवस्थालाई साहित्यले पचाउन सकिरहेको छैन। सम्पूर्ण साहित्यको मूल स्वर पनि यसैको चित्रण हुन पुगेको छ। तर, यस्ता अभिव्यक्तिको विश्लेषणमा त्यसभित्रको सिर्जनात्मक आक्रोशको स्वर नियाल्नु उपयुक्त हुन्छ।

रोचकता 'स्टोरी टेलिङ' को दक्षताबाट नै उत्पन्न हुने गुण हो, तर यसको अतिरेकताले प्रायः यथार्थदेखि विमुख गराउँछ। हालका कतिपय उपन्यास लेखनमा रोचकता निर्वाहको लोभमा परेर विषय भताभुंग भएका कृति पनि छन्। मूलतः आजका औपन्यासिक कृतिले वर्तमान नेपाली समाजको मर्म, भोगाइ, आशा–निराशा, आक्रोश, जीवन संघर्ष र वर्तमानमा मुलुकमा व्याप्त राजनीतिक विकृति र विसंगति उतारेका छन्।

समसामयिक साहित्यमा पहिले जस्तो कविता प्रमुख केन्द्रीय विधाका रूपमा स्थापित वा मुखर छैन। यसो भन्नाले कविताको शक्ति वा क्षमता घटेको छ भन्न खोजिएको होइन। कविताको हाराहारी अन्य विधाको विकास भएर आउनुलाई इंगित गरिएको मात्र हो। एक समय साहित्यको पर्याय कविता हुने गर्थ्यो भने अन्य विधा सहायक। तर, ०४६ पछि नेपाली साहित्यको प्रत्यक्ष परिवर्तन र विकास देखिने गरी गद्यका सबै विधाले अत्यन्त द्रुत र घनारूपमा विकास गर्दै आएका छन्। यस्ता गद्य विधामध्ये उपन्यास नै प्रमुख हुन पुगेको छ। अन्यमा कथा, निबन्ध, व्यंग्य, नाट्यलेखन र पत्रकारिताका गद्य रहेका छन्। गद्य भन्नाले पत्रकारिताको भाषालाई पनि समाविष्ट गर्नुपर्ने हुन्छ। कविताको स्वरले पनि अर्को विस्फोटक आयाम खोजिरहेको छ। कवितामा पहिले जस्तो केन्द्रीय कविको खोजी अब गरिँदैन, तर कविताको पठन सम्पूर्ण काव्यको समष्टिगत स्वरलाई आत्मसात् गर्ने हिसाबले गरिन्छ। समग्र काव्य लेखनको सन्दर्भमा नै कविविशेषको स्वरको पहिचान गर्ने प्रवृत्ति बढेको छ।

नेपाली समाजले यताका केही दशकमा एकअर्काका पूरक र जहानियाँ तथा हुकुमी शासनको परिवर्तनका लागि भिन्नभिन्न आन्दोलनहरू सफलतापूर्वक सम्पन्न गरेको छ। ती आन्दोलनहरू सत्ता परिवर्तनका लागि मात्र नभएर सामाजिक रूपान्तरण र नवीन मूल्यमान्यता स्थापनाका लागि पनि भएका हुन्। तर, सत्ता परिवर्तनसँगै अगुवा रहेको राजनीतिको विकृतिले नेपाली जनताको अभीष्ट र आकांक्षा पूरा गर्ने लक्षण देखिएन। परिवर्तनका सबै जनआन्दोलनले जनादेशलाई मूर्त गराउनतिर सचेष्ट नरही राजनीति केवल सत्ताको खेलमा रमायो। मुलुकको राजनीतिमा प्रमुख प्रवृत्ति यो देखियो र जनतामा नैराश्य तथा राजनीतिप्रति वितृष्णा पैदा हुन गएको आभास भइरहेछ। साहित्य पनि यसबाट अछुतो रहेन। तर, उसको मूल स्वर निराशावादी नभएर जनआन्दोलनहरूबाट जनताले गरेका अपेक्षाको तिरोहणले जनताको निराशाले जन्माएको आक्रोशलाई व्यक्त गर्ने रह्यो। यसै स्वरले समकालीन साहित्यको पहिचान स्थापित गर्ने कार्य गर्‍यो, तापनि यो धार अर्थात् आक्रोशको स्वर क्षीण नरहेको स्वीकार गर्नुपर्छ।

नेपाली साहित्यमा राजनीतिक विचारपक्ष बोकेको लेखनको सबल प्रवेशले साहित्यिक लेखनलाई कमजोर मात्र तुल्याएन, विचारविशेषको पक्षधरताको चस्मा लगाएर गरिने समालोचनाले पनि साहित्यलाई दिग्भ्रमित पार्ने कार्य गर्‍यो। यसखालको समालोचनाले साहित्यको आन्तरिक रचनात्मक शक्तिलाई राजनीतिक विचारगत स्वार्थमा उपयोग गर्ने अवसर दिएको देखिन्छ। यद्यपि, राजनीति मानव समाजको एक अभिन्न र आवश्यक अंग हो। राजनीतिक वादको विचारविशेषले उत्प्रेरित समालोचनाको प्रयोग सन्तुलित भएन भने त्यसको दृष्टि स्वतः एकांगी हुन पुग्छ। साथै, त्यस्तो समालोचनाले आफ्नो अनुकूल नहुने स्वस्थ र मूल्यवादी लेखनलाई निरर्थ तुल्याउने प्रचार गर्छ। तर, बढी संख्याका यस्ता समालोचनाका बीच पनि नेपाली साहित्यले आफ्नो मूल्यवादी गतिलाई परित्याग नगरी राम्रा रचना प्रस्तुत गर्न सकेको छ।

नेपाली साहित्यमा उपन्यास लेखनको उदय अथवा यसको विकासबारे खासै चर्चा यहाँ अपेक्षित छैन। नेपाली साहित्यमा उपन्यास सुरुदेखि नै लोकप्रिय विधा रहँदै आएको छ। वर्तमान नेपाली उपन्यासको लोकप्रियता एकाएक बढेको होइन। पृष्ठभूमिमा कारक तत्वका रूपमा बजारमा उपन्यासको माग बढेर आएको पाइन्छ। विश्वको परिदृश्यमा लोकप्रिय र नोबेल पुरस्कारप्राप्त उपन्यासहरूको लगातार उपस्थितिले नेपाली साहित्यमा पनि उपन्यासको आकर्षण बढ्दो थियो र छ पनि। नेपाली साहित्यमा उपन्यास लेखनले सय वर्षभन्दा बढी समय पार गरिसकेको छ। यो तथ्यले मात्र नेपाली उपन्यास लेखनको समयगत अवधिलाई जनाउँछ, तर विश्वको उपन्यास लेखनसित गति मिलाउँदै यस अवधिभित्र नेपाली उपन्यास लेखनले तय गरेको रचनागत यात्रा पनि कम आकर्षक र रोचक छैन।

सुरुमा तिलस्मी प्रकारका विषयबाट आरम्भ भएको उपन्यास लेखन पछिल्लो अवस्थासम्म आइपुग्दा अनेक धारमा बाँडिएको पाइन्छ। नेपाली उपन्यासको तिलस्मी धारपछि मनोवैज्ञानिक धारको लेखन शक्तिशाली भएर आएको देखिन्छ। तिलस्मीबाट मनोविज्ञानतिर फड्को मार्नुले नेपाली उपन्यासले गरेको विकासको द्रुततालाई इंगित गर्छ। विचारणीय छ तिलस्मी प्रकारका उपन्यास लेखन र मनोवैज्ञानिक युगमा आइपुग्दासम्म्को बीचको अवधिमा आदर्शवादी–यथार्थवादका केही कृति आए पनि नेपाली उपन्यासको गति सुस्त रह्यो, तर उपन्यास लेखनले विश्व उपन्यासको गतिविधिलाई आत्मसात् गर्दै आधुनिक उपन्यासहरू पनि सफलतापूर्वक प्रस्तुत गर्न सक्यो। यसले साबित गर्छ नेपाली औपन्यासिक यात्राको धार परिवर्तन अपेक्षा गरेभन्दा अत्यन्त अप्रत्याशित र द्रुत रह्यो।  

उपन्यासलाई अनेक उपकरणहरूको संयोजनबाट उपलब्ध हुने एउटा गाथा मान्दा हुन्छ। नेपाली उपन्यासलाई उच्चता प्रदान गर्ने कृतिहरूको गणना गर्दा खासै संख्यामा उतिविधि पाइँदैन। तर, ती कम संख्याका कृतिले नेपाली उपन्यासलाई अत्यन्त बलियो धरातल प्रदान गरेका छन्। तिनको लेखनलाई विवेचित गर्न अहिलेको जस्तो निश्चय पनि भित्री विषयवस्तुको उल्लेखले नपुग्ने हुन्छ, तर तिनका पछाडि रहेको उत्प्रेरक वैचारिक तत्व वा दर्शनको पनि ज्ञान हुनुपर्ने खाँचो छ भन्ने तत्कालीन समामलोचनाले भ्रम गराउँथ्यो र तर्साउँथ्यो। उपन्यासको स्वतन्त्र पठन विकसित थिएन। यसले उपन्यास एक यस्तो क्षेत्र मानियो जहाँ साधारण पाठकले सहजै प्रवेश गर्न सक्दैन। तर, केही त्यस्ता उपन्यास पनि लेखिए जो लोकप्रिय हुनाका साथै समालोचकीय मूल्यमान्यतामा प्रशंसित पनि भए।

नेपाली उपन्यासको यात्रा विविधतापूर्ण छ भन्दा मात्रै पनि यसको यात्राको एक समग्र खाका प्रस्तुत हुन्छ। उपन्यास लेखनप्रति पुराना–नयाँ लेखकहरूका आकर्षण बढ्नुका पछाडि यसले हाल स्थापित औपन्यासिक बजारको विस्तृत लोकप्रियताका कारणले मात्र हो भने पनि त्यो हलुका भनाइ हुने छैन। पहिले लेखनतिर प्रवृत्त हुन कवि हुने प्रचेष्टा रहन्थ्यो भने अहिले लेखनमा रूचि राख्नेले सोझै उपन्यास विधामा हामफाल्न पनि सक्छ। उपन्यास विधामा नभए यात्रावृत्तान्त वा आत्संस्मरणतिर, तर त्यस्तो लेखनतिर जसले आख्यानात्मकता लिएको होस् र जसले गद्यको प्रयोगद्वारा विस्तृत प्रस्तुति दिन सकोस्। तर, कवि हुने प्रयास अहिले अवरुद्ध छ भन्नु उपयुक्त नभए पनि कवि हुने रहर सरह लोकप्रिय उपन्यास लेखक हुने रहर पनि हाराहारीमा छ र यसले समकालीन औपन्यासिक प्रतिभाहरू पनि जन्माएको छ। औपन्यासिक प्रतिभाहरू मात्र होइन, आत्मवृत्तान्त, आत्मसंस्मरण, यात्रावृत्तान्त र जीवनी लेखनको आख्यानात्मक गद्यलाई पनि नेपाली साहित्यमा यसअघि भन्दा बढी नै प्रस्तुत गरेको छ। 

कुनै पनि समयखण्डको एक कालावधिमा समसामयिक रूपमा कुनै एउटा विधा सम्बद्ध साहित्यको संवाहक वा प्रतिनिधि हुने गरी लोकप्रिय भइदिएको हुन्छ। यो तथ्यलाई स्वीकार गर्दै यसो पनि भन्न सकिन्छ– अहिले नेपाली साहित्यलाई गतिशील राख्ने एक शक्तिशाली र लोकप्रिय विधा उपन्यास हो। यसको प्रतिस्पर्धात्मक लेखनमा पनि यसले उपलब्ध गराउन सक्ने सफलता वा सफल भएमा पाइने लोकप्रियताप्रति लेखकहरूमा प्रत्यक्ष–अप्रत्यक्ष आकर्षण दुर्निवार छ। यस आकर्षणलेे उपन्यासप्रति लेखकहरू तानिए, तानिइँदै छन्।

अर्कातिर मासिक पत्रिका वा अन्य प्रकाशनहरूमा छोटा रचना कथा आदि लिएर साहित्यक समाजमा कथाकार वा कवि वा निबन्धकारका रूपमा उपस्थित हुनुभन्दा एउटा ढक्कैको कृति लिएर पाठकसमाजमा परिचय स्थापित गर्नु लेखकका लागि बढी चुनौतीपूर्ण देखियो। रचना छपाउन पत्रपत्रिकामा दौडधुप गर्नुभन्दा उपन्यास लेखेर प्रकाशकको अफिस धाउनु बरोबरको काम देखियो, तर उपन्यास छापिएमा त्यसले उपन्यासकारका रूपमा छुट्टै पहिचान दिने भयो। रचनागत रूपमा पनि लेखकीय क्षमता र कौशल प्रदर्शन गर्ने स्पेस उपन्यासमा बढी पाइने हुनाले लेखक आकृष्ट हुनुको अर्को कारण भयो। औपन्यासिक कृतिको स्थायित्व र प्रतिष्ठा बढी दीर्घकालिक हुने तत्व तथा पाठकसम्म एकल पहुँच हुने माध्यम औपन्यासिक कृति नै ठहरिन आएकाले लेखक उपन्यास लेखनतिर बढी प्रवृत्त भयो। 

उपन्यासहरूको प्रकाशन बढ्दै गए पनि सबै उपन्यास सफल कृति हुन सक्दैनन्, यो तथ्य सर्वस्वीकृत छ। तर, समकालीन साहित्यमा उपन्यासले नै लेखकीय लोकप्रियता वा सिर्जनउन्मुखता बटुलेको छ। अन्य विधाका लागि लेखकहरू संलग्न रहे पनि कथा वा अन्य आख्यान लेखनको परिणति उपन्यास लेखनमा गएर हुने गरेको छ। यसरी पनि उपन्यास अहिले नेपाली बजारमा सर्वत्र उपलब्ध एक सशक्त साहित्य कर्म भएर आएको छ। तर, सबै उपन्यास यस हिसाबले लेखिएका छैनन् तिनका पछाडि कुनै एउटा दर्शन वा विचारले काम गरेको होस्। यति हो, कतिपय उपन्यास दलीय वा राजनीतिक विचार बोकेर आएका छन्। तिनको छुट्टै पठन परिवेश छ। कतिपय उपन्यास विषयका दृष्टिले रोमान्टिक किसिमका हल्काफुल्का पनि छन्, तर बजारलाई ध्यानमा राखेर तिनको प्रस्तुतिमा आवरणलगायत भित्री पृष्ठका कागज र फन्टहरूसहित भाषा परिष्कृत र स्तरीय हुने गरेका छन्। यसो हुनाले उपन्यास साहित्यक मूल्यको कृतिभन्दा कताकति विक्रय गरिने पुस्तकरूपी वस्तुको रूपमा परिणत भएको पनि छ। यथार्थमा रकम तिरेर किनिने सबै चीज प्रथमतः वस्तु नै हुने गर्छन्। यो साक्ष्य भए पनि तर तिनले उपन्यासको बजार विस्तारलाई नै सहयोग गरेका छन् र उपन्यासप्रति पाठकमा केही नभए रूचि र आकर्षण बढाइदिएका छन्।

समसामयिक उपन्यास लेखनमा शैल्पिक दक्षता बढेर आएको छ। वियगत रूपमा पनि महिलावादी विषयका औपन्यासिक कृतिहरू पनि आएका छन्, ती सफल छन्। तर, विषय जस्तो भए पनि उपन्यास लेखनको आधारभूत तत्वहरूलाई आनुपातिक सम्मिश्रणद्वारा प्रयुक्त घटनाक्रमहरू यस कारण पनि मिलाउँदै ल्याइएका छन् जसले पाठकमा पठन उदासीनता नआओस्। विषयको विविधता पनि प्रचुर नै छ। आञ्चलिकतालाई समसामयिक सामाजिक–राजनीतिक संकट र दुष्चरित्रका मध्यमा राखेर राष्ट्रिय रूप दिइएको छ। उपन्यासका पात्रको भोगाइ कुनै एउटा क्षेत्रको नभई राष्ट्रिय सन्दर्भमा अनुभव हुने गरी प्रस्तुति दिइएको हुन्छ। भाषा कहीँको पनि कुनै पनि बोलीमा बोलिएको होस् त्यसले मुलुकभरिका सबै ठाउँ–सबै क्षेत्रमा हुने अनुभव साम्यता वा समान संकट र मूल्य क्षयलाई वा मानव जीवनका सुख–दुखका अनुभूतिलाई व्यक्त गरेको हुन्छ। समकालीन उपन्यासमा आञ्चलिक भाषालाई चटनीका रूपमा प्रयोग नगरेर भित्री संरचनाको एक अविभाज्य अंशको रूपमा प्रयुक्त गरिएको हुन्छ। आञ्चलिक भाषालाई स्वभावतः अत्यन्त रचनागत सम्मान दिइएको हुन्छ। समकालीन उपन्यासको यो एउटा स्तुत्य पक्ष हो।

नेपाली उपन्यास विधाले यस्तोखालको शैल्पिक र भाषिक दक्षता यसअगावै सधैँ नयाँ रहिरहने केही पुराना कृतिलाई छाडेर अन्यत्र नपाइने प्रयोग गरेको छ। तर, यसो भन्दैमा शैल्पिक र भाषिक दक्षता नै उपन्यासलाई परिपूर्णता दिने तत्व नमानिएलान्। हुन पनि हो तर उपन्यास लेखनको कालक्रमिक अध्ययन गर्नेहरूका लागि यो परिवर्तनले अवश्य पनि चमत्कृत गर्ने गरेको छ। नेपाली उपन्यासको यात्रामा अझै पनि सम्पूर्ण नेपाली समाजको व्यथा र भोगाइ आउन सकेको छ भन्न सकिन्न। नेपाली उपन्यास विधा नेपाली समाजका कटु यथार्थ जुन राजनीतिक, सामाजिक र सांस्कृतिक वा भूकम्पीय भोगाइ, भ्रष्टाचार र इतिहासमा अँध्यारा पाटाहरूभित्र संश्लिष्ट रूपमा प्रवेश गर्न सकेको छैन, प्रवेश गर्न डराएको अनुभव हुन्छ तापनि त्यो क्षमता नेपाली उपन्यासले अवश्य पनि आर्जन गरिछाड्ने छ।   

उपन्यास प्रकाशन एउटा विकट विषय हो। संस्थागत प्रकाशनको मूल्यांकनको लामो प्रक्रिया अनिश्चय र साँघुरो आर्थिक सीमाहरूका कारण औपन्यासिक कृति छोटो समयमै छापिन नसक्ने बाध्यता हुन्छ। यसको लाभ मनासिब रूपमै स्वतन्त्र प्रकाशकहरूले उठाएका छन्। उनीहरूले भिन्नभिन्न लेखकका साहित्यक मात्र नभई बजार हेरी गरिने चयनद्वारा औपन्यासिक कृति प्रस्तुत गर्दै उपन्यासको बजार सिर्जना गर्न सफल भएका छन्। आज जुन किसिमले उपन्यास लेखनले नयाँ उचाइ लिएको छ त्यसमा एउटा महत्वपूर्ण अर्को तत्व हो 'स्टोरी टेलिङ' को विकास। स्टोरी टेलिङले केही हदसम्म प्रतिभालाई लोकप्रियताको शिखरसम्म पुर्‍याउन सक्छ र मुलुकको यथार्थदेखि विमुख गराउन पनि सक्छ। अन्ततः स्टोरी टेलिङ एउटा गुण अवश्य हो र आवश्यक तत्व पनि।

वर्तमानमा देखापरेका मुलुकका धेरै र विकट समस्याले पाठकलाई नराम्ररी अँचेटेको समयमा उपन्यासको कथावस्तु र कथनशैलीले मानसिक रिलिफ पनि दिन सकेको अनुभव गरिन्छ। एउटै विषय/घटनाबारे अनेक पात्रहरूको जमघट र द्वन्द्व/संवादका माध्यमबाट सामाजिक परिस्थिति, प्रेम, यौन, भिन्नभिन्न मानसिक उद्वेलन आदिको कुशल संयोजन/चित्रणबाट उपन्यास भरिपूर्ण हुन्छ। यी सबैको रोचक प्रस्तुति नै वर्तमान उपन्यासको ग्लयामरीकृत प्रस्तुति हो। ग्लयामरले विज्ञापनदेखि उपन्यासकार–पाठक अन्तर्क्रियासम्म धेरै ठाउँ ओगटेको छ। कृतिको प्रचारका रूपमा हालका व्यवसायनिपुण प्रकाशकहरूले उपन्यासको प्रचार अत्यन्त आकर्षक रूपमा गर्ने गरेका छन् । त्यसले बिक्री पनि ह्वात्तै बढाएको छ। साथै, पाठकका बीच उपन्यासलाई आत्मसम्मान पनि दिलाएको छ। उपन्यासलाई किनेर पढ्नुपर्ने पुस्तक रहेछ भन्ने चेतना पाठक वर्गमा उत्पन्न गराउने काम सम्बद्ध कृतिका विज्ञापनले गराएको छ। स्क्र्याच कुपनद्वारा विदेश भ्रमण वा बम्पर प्राइज नदिए पनि कुन पुस्तक किन्ने र के पढ्ने भन्नेमा अलमलिइरहेको पाठकलाई यस्ता विज्ञापनले ठाउँमा नपुर्‍याए पनि बाटो देखाउन सघाएका छन्।

नेपाली पाठकको एउटा अलमल छ। राम्रो कृतिको पहिचान ऊ स्वयंले कमै गर्न रूचाउँछ। राम्रो कृतिको पहिचानका लागि कि त पुरस्कारको प्रतीक्षा गरिएको हुन्छ वा कुनै पत्रिकामा छापिएको प्रचारात्मक समालोचना पढ्न पाइएको हुनुपर्छ। यी दुवै माध्यमले पनि उपन्यासलाई नयाँ बजार उपलब्ध गराएको छ। पुरस्कार पाएको कृति बजारमा ह्वात्तै बिकेको छ। बीचमा पठन संस्कृतिको कुरा उठाइएर पाठक वर्गलाई पुस्तक पढ्न प्रेरित गराइँदै छ। तपाईं आलु किन्नुहुन्छ, सिमी किन्न्ुहुन्छ तर पुस्तक किन्नुहुन्न भन्ने भावको पठन संस्कृतिको प्रश्नले पाठकलाई किन पुस्तक किनिएनछ भन्ने हीनभावनामा जाक्ने पनि गर्छ।

मध्यमवर्गको पाठक यस हीनतालाई प्रक्षालन गर्न पनि पुरस्कृत पुस्तकको प्रतीक्षामा हुन्छ। अन्य कृतिभन्दा उपन्यास किन्दा नै पढ्न लाभदायक हुने पाठकको ठहर छ, किनभने उपन्यास प्रायः पठनीय र रोचक हुने पाठकले पाउने गरेको छ। रोचक हुनु उपन्यासको गुणात्मकता हो। रोचकता उपन्यास बिक्रीको एक अर्को प्रमुख तत्व बन्छ। जति रोचक पठनमा हुन्छ उति नै उपन्यास सफल हुने ठहरिने गरेको छ। वास्तवमा रोचकता 'स्टोरी टेलिङ' को दक्षताबाट नै उत्पन्न हुने गुण हो, तर यसको अतिरेकताले प्रायः यथार्थदेखि विमुख पनि गराउँछ। त्यसो भए पनि यसले पाठकलाई तान्न सफल हुन्छ। हालका कतिपय उपन्यास लेखनमा रोचकता निर्वाहको लोभमा परेर विषय भताभुंग भएका कृति पनि छन्।

यी सबै तत्व उपन्यासका आसपास विद्यमान सहायक तत्व हुन्। मूलतः आजका औपन्यासिक कृतिले वर्तमान नेपाली समाजको मर्म, भोगाइ, आशा–निराशा, आक्रोश, जीवन संघर्ष र वर्तमानमा मुलुकमा व्याप्त राजनीतिक विकृति र विसंगति उतारेका छन्। राष्ट्रियताको हीन अवस्था, अन्योल र तिनको वास्तविकताको सशक्त र यथार्थ चित्रण गर्ने गहन रचना क्षमताको कृति आउन बाँकी नै छ भनेर उम्किन सकिन्छ तर जति आएको छ त्यसलाई पर्याप्त छैन भनेर अझ अर्को सशक्त औपन्यासिक कृतिको प्रतीक्षा गरिनु अनुचित नहोला। समकालीन उपन्यास लेखनले यहाँ (आज) सम्मको जुन यात्रा तय गरेको छ त्यसको शैली, शिल्प र भाषापक्षसहित भित्री संरचनाको विस्तृत र गहन समालोचनाको सबैलाई प्रतीक्षा छ। समालोचना अध्ययनशैलीका टुक्रे प्रस्तुतिमा अलमलिइरहेका बेला यस्तो आशा दिवास्वप्न हुन सक्छ।

 मुलुकले गृहयुद्धसमानको द्वन्द्व, भूकम्प र पहिरो–बाढीको निर्ममता पनि भोग्दैछ, राजनीतिको विकृत खेल पनि टुलुटुलु हेर्दै–सहँदैछ। यो भोग्ने तप्काका जनताको व्यथा र अवस्था पाठकसमक्ष उपन्यासले ल्याउन बाँकी नै छ। ल्याइएजतिका औपन्यासिक कृतिको साहित्यिक समालोचनात्मक मूल्यांकन कम भएको छ र मूल्यांकन गर्न ढिलो भएको छ। भन्न सकिन्छ, यी सबै काम अब सुरु गर्दा हुन्छ किनभने नेपाली साहित्यको उपन्यास लेखन सर्वथा अर्को तर नयाँ फेजमा प्रवेश गरिसकेको छ र यस फेजका अनेक मानक औपन्यासिक कृतिहरू पाइसकेको छ। तर, समालोचना लेखनभन्दा पनि यसको प्रकाशनकोे अर्को विकराल समस्या छ। कारण स्पष्ट छ, नियमित प्रकाशन हुने आर्थिक क्षमता भएका संस्थागत साहित्यक त्यस्ता स्वतन्त्र समालोचनाप्रति सहिष्णु छैनन्। र, समालोचनाका पाठकहरूको उसै पनि रहेको कमी त अवश्य नै पछिसम्म कायम रहिरहनेछ।

प्रकाशित: ६ कार्तिक २०७३ ०४:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App