४ वैशाख २०८१ मंगलबार
अर्थ

अर्थतन्त्र सकारात्मक दिशातर्फ :  राष्ट्र बैंक

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर सन्तोषजनक हुने संकेत गरेको छ। तर, रेमिटेन्सको वृद्धिदरमा आएको सुस्तताका कारण अर्थतन्त्र सुधार हुन सक्ने सम्भावना देखिँदैन। गत आर्थिक वर्षको दुई महिनामा साढे २७ प्रतिशतले बढेको रेमिटेन्स अहिले जम्मा ६.६ प्रतिशतले मात्र बढेको छ। दुई महिनाको अवधिमा विदेशमा काम गर्न गएका नेपालीले एक खर्ब १४ अर्ब ७४ करोड रुपैयाँ नेपाल पठाएका छन्। साउनमा अघिल्लो साउनको दाँजोमा १ अर्ब ३३ करेाड घटेको रेमिटेन्स दोस्रो महिनामा अघिल्लो भदौको तुलनामा थोरै वृद्धि भए तापनि मध्यपूर्वमा देखिन थालेका आर्थिक संकटको प्रत्यक्ष नकारात्मक असर नेपाली अर्थतन्त्रमा पर्न सक्ने भदौ महिनामा रेमिटेन्सको वृद्धिदरमा सुस्तता आएबाट स्पष्ट देखिन्छ। भदौ तथा असोजमा चाडपर्वका कारण तुलनात्मक रुपमा अन्य महिनामाभन्दा बढी रेमिटेन्स देश भित्रिने गरेको छ।

राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको पछिल्लो अवस्था सार्वजनिक गर्दै चालु आवको आर्थिक वृद्धिदर सुधार हुन सक्ने संकेत देखिएको जनाएको छ।

दुई महिनाको अवधिमा नेपालबाट १३ अर्ब १८ करोड रुपैयाँको वस्तु तथा सेवा बिक्री भएको छ। तर नेपालले भने एक खर्ब ४९ अर्ब २ करोड रुपैयाँको किनेको छ। यसले गर्दा व्यापार घाटा १ खर्ब ३५ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ।

अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने कृषि, ऊर्जा, पर्यटन तथा उद्योग क्षेत्रमा सकारात्मक संकेत देखिएकाले अर्थतन्त्रको वृद्धि सम्भव हुने राष्ट्र बैंकले प्रक्षेपण गरेको छ। तर, अन्य सूचाकांकहरु सकारात्मक नदेखिएका कारण सुधारको संकेत देखिँदैन।

अघिल्लो वर्षको दुई महिनासम्ममा ३८ अर्ब ४८ करोड बचतमा रहेको चालु खाता यो वर्ष सोही अवधिमा ११ अर्ब १२ करोड रुपैयाँले घाटामा छ। व्यापार घाटा बढेको, विदेशी लगानीको लाभांश भुक्तानी उल्लेख्य रूपमा बढेको तथा वैदेशिक अनुदान घटेका कारण शोधनान्तर स्थिति ऋणात्मक बनेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

चालु आर्थिक वर्षको भदौको समग्र आर्थिक स्थिति सार्वजनिक गर्दै राष्ट्र बैंकले गत वर्षको ०.७७ प्रतिशतको आर्थिक वृद्धिमा यो वर्ष फड्को मार्न सक्ने सम्भावना देखाएको छ। तर, केन्द्रीय बैंकले प्रक्षेपण गरेजस्तै गरेर सुधार हुन सक्ने सम्भावना देखिँदैन।

दुई महिनाको अवधिमा नेपालबाट १३ अर्ब १८ करोड रुपैयाँको वस्तु तथा सेवा बिक्री भएको छ। तर नेपालले भने एक खर्ब ४९ अर्ब २ करोड रुपैयाँको किनेको छ। यसले गर्दा व्यापार घाटा १ खर्ब ३५ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ।

नेपालले भारतबाट मगाउने सामानको आयात ४९.८ प्रतिशत, चीनको २६.२ प्रतिशत र यी बाहेकका मुलुकबाट मगाउने सामानको आयात ३६.५ प्रतिशतले बढेको छ। नेपालले सबैभन्दा बढी यातायातका साधन तथा त्यसको पार्टपुर्जा, एमएस बिलेट, पेट्रोलियम पदार्थका साथै खानेतेल आयात गरेको छ।

यससँगै दूरसञ्चारका उपकरण, विद्युतीय सामान, रासायनिक मल, चाँदी, कोल्डरोल सिट इन क्वाइल, तयारी पोसाक लगायतको आयात पनि बढी भएको छ।

राष्ट्र बैंकका अनुसार, साउनको तुलनामा भदौमा मूल्य वृद्धि घटेको छ। साउनमा ८.६ प्रतिशत रहेको उपभोक्ता मूल्यवृद्धि भदौमा ७.९ प्रतिशतमा सीमित भएको छ। यो दर गत आर्थिक वर्षको भदौमा ७.२ प्रतिशत थियो।

सोही अवधिमा चिनीजन्य पदार्थ, फलफूल, दलहन तथा गेडागुडी, मदिराजन्य पेय पदार्थ, मसला, लत्ताकपडा तथा जुत्ताको मूल्य बढेकाले समग्र उपभोक्ता मुद्रस्फीति दर अपेक्षित रूपमा घट्न नसकेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ।

सोही अवधिमा खाद्य मुद्रास्फीति ७.७ प्रतिशत छ। अघिल्लो वर्षको भदौमा खाद्य मुद्रास्फीति ८ प्रतिशत थियो। उक्त अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य २०.६ प्रतिशत, फलफूलको मूल्य १६.६ प्रतिशत, दलहन तथा गेडागुडीको मूल्य १४.४ प्रतिशत, मदिराजन्य पेय पदार्थको मूल्य १३.४ प्रतिशत र मसलाको मूल्य १२.६ प्रतिशतले वृद्धि भएको छ।

यो अवधिमा गैरखाद्य समूहको मुद्रास्फीति ८.१ प्रतिशत पुगेको छ। गत वर्ष यो दर ६.६ प्रतिशत थियो। नेपाल र भारतबीच मूल्य वृद्धिको अन्तर पनि बढेको छ। भदौमा भारतको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.३ प्रतिशत थियो। नेपालको ७.९ प्रतिशत छ। सोही अवधिमा दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ३.६ प्रतिशत रहेको छ। गत वर्ष दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर २.८ प्रतिशत थियो।

देशको वित्तीय विवरण घाटामा गए पनि राष्ट्र बैंकले भने अर्थतन्त्रमा केही सुधारको संकेत देखिन थालेको जनाएको छ। पर्याप्त वर्षा हुनुका साथै कृषिजन्य सामग्रीको वितरणसमेत सहज भएकाले बर्खे बालीहरुको उत्पादन बढ्ने केन्द्रीय बैंकले जनाएको छ।

ऊर्जा तथा अन्य कच्चा पदार्थको आपूर्तिमा सुधार आएकाले उद्योगहरुको उपयोग क्षमता विस्तार भएको तथा पर्यटकीय होटलहरुको बेड अकुपेन्सी दरमा सुधार आएकाले पर्यटन व्यवसायमा सकारात्मक सुधार आएको उसले जनाएको छ। त्यसले अर्थतन्त्रमा राम्रो प्रभाव पार्ने राष्ट्र बैंकको अनुमान छ।

प्रकाशित: ७ कार्तिक २०७३ ०४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App