७ वैशाख २०८१ शुक्रबार
विचार

मादक पदार्थ र संस्कृति

विशेषतः हिन्दु नेपालीको विशिष्ट पर्व दशंै, तिहार र छठको लहरले हाल उत्साहित एवं हर्षित छ देश। सिन्धु नदीको सभ्यता अर्थात विशाल महाभारत खण्डमा जब आर्यहरुको प्रवेश भयो अनि यहाँका मूलवासी, अनार्य, प्रविड, मंगोललगायतका शासक र राज्यमाथि कल, बल र छलपूर्ण नियन्त्रण गर्न आर्यहरुले सुरु गरे। युद्धको नियम मूल्य मान्यतामाथि भलै ध्यान दिएका थिएनन् तथापि आर्यहरुले यहाँ आफ्नो शासन हत्याए। छोटकरीमा देवता या दानवको काल्पनिक आततायी रुझानहरु र भ्रम यत्ति नै हो। युद्ध हारेका तत्कालीन आदिवासी, मूलवासी शासक र जाति समुदाय असुर या दानव ठहरिए भने युद्ध जित्ने जाति त्यति बेलाका …हाइ कमान्ड' स्वर्गका राजा, देवता कहलिए। आखिर इतिहास त जित्नेले नै लेख्ने न हो। तथापि अहिलेसम्म पनि हाम्रो समाजमा चाड–पर्व, उत्सव खुशियाली दुःखलगायतका अवस्थामा रमाइलोका लागि मादक पदार्थ सेवन अर्थात मापसे गर्ने प्रचलन प्राचीन नै हो। अझ कथित मतावली समुदायमा त मर्दा–पर्दा विभिन्न समारोह अवसर, पितृ–पूजा जन्म–मृत्युलगायतका शुभ–अशुभ अवसरमा जाँड रक्सी अनिवार्य चाहिने संस्कृति पाइन्छ।

जन्म, मृत्यु, पितृ, पूजा, सबैमा देउतालाई जाँड रक्सी चढाउनैपर्ने पनि कुनै नियम या धार्मिक परम्परा हुन सक्छ? यो त सरासर कुरीतिसिवाय केही हुँदै होइन।

यो मतावली शब्द मत अर्थात मादक पदार्थ र बली आर्थात बली चढ्ने मिलेर मातिएर आफँै बली चढ्ने जात भन्ने अर्थ लाग्छ। तर कतिपय आदिवासी जनजाति, दलित वर्ग–समुदायका शिक्षित व्यक्तिसमेत आफूलाई मतावली जाति भएको बताउन लाज मान्दैनन्। राजा पृथ्वीनारायण शाहको शासनपछि त एक राजा एक देश, एक धर्म, एक भाषा, एक संस्कृति जस्ता साम्प्रदायिक निरंकुशता लादियो। बौद्ध, किराँत, इस्लामलगायतका अहिन्दु समुदायको हक खोसिन पुग्यो। अनि सबैले दशै, तिहार, छठ मनाउने, टीका लगाउने (जबकि अनार्य र अहिन्दुमाथिको रक्तपातपूर्ण विजयको प्रतीक हो रातो टीका) मूर्ति पूजा गर्ने एउटै व्यवहार राष्ट्रभर लागु हुन पुग्यो। यसको अवशेष अझै पनि जताततै देख्न र भोग्न पाइन्छ। तर यहाँ जाँड र रक्सीलगायत मादक पदार्थ सेवन गर्ने परम्पराले पारेको नकारात्मक पक्षको सवालमा चर्चा गरिनेछ।

 मापसेका कारण समाजमा धेरैको इज्जत, मान प्रतिष्ठा समाप्त त भएकै छ नै, कैयौको अकालमा मृत्युसमेत हुन पुगेको छ। चाडपर्वमा मात्र मनोरञ्जनका लागि नभई मापसेले धेरैको दैनिकी बन्न पुगी समाजको उत्थान र समृद्धिमा नकारात्मक भूमिका खेलिरहेको छ। स्वास्थ्य, शिक्षा, पोषण, अधिकारको हनन्, महिला हिंसा, बलात्कार, अन्याय, विभेद र गरिबीको प्रमुख कारण बन्न पुगेको छ, अनियन्त्रित मापसे। जो जिन्दगीभर मापसे र धूमपान गरेर क्यान्सरलगायतका खतरनाक रोगको शिकार हुन पुग्छन् अनि राष्ट्रले उसैलाई स्वास्थ्यमा अनुदान दिने कार्य गर्दै जाने हो भने राष्ट्रको समृद्धि कहिले होला? मुटु रोग, टिबी, क्यान्सर, कलेजो, दम, हृदयघात, पक्षघातलगायतका धेरै प्राणघातक रोगको कारण हो मापसे। त्योभन्दा पनि महारोगबारे त आजसम्म चर्चासमेत हुने गरेको छैन। सामाजिक विकृति, हिंसा, अन्यायको समेत प्रमुख कारण हो मापसे। सडक दुर्घटनाको समेत प्रमुख कारण यही हो। एक व्यक्तिको मापसे लतले समाज नै दुर्गन्धित हुन पुग्छ। सामाजिक रोगको महामारी मापसेको निरुपणका निम्ति कुनै पनि संघ, संस्था, संगठन, समुदाय, सरकार गम्भीर बन्न सकेका देखिन्न। बिडम्वना, विशेषतः गैरव्राह्मण, क्षत्री समुदाय, आदिवासी, जनजाति, दलित, मधेस, तराईका र पहाडका विभिन्न जाति समुदायमा मापसेको महामारी नियन्त्रण गर्ने कुनै संयन्त्र छैन। आजकल त व्राह्मण, क्षत्री जातिमा समेत जाँड रक्सी परम्परा मौलाउँदै गइरहेको छ।

मादक पदार्थ पितृलाई या देउतालाई समेत नभई हुन्न भन्ने विशेषगरी आदिवासी–जनजाति समुदायको चल्ती या परम्पराभित्र राजनीतिक एवं कूटनीतिक कारण लुकेका छन्। मापसेमा लिप्त बनाइराख्ने र अशिक्षित, असभ्य, अधिकार खोज्न अक्षम, गरीब, निमुखा बनाइराख्ने पूर्वशासकहरुको …मास्टर प्लान… नै हो। तिमीले त जातैले पाएको कुरा जाँड रक्सी त खानैपर्छ नि जस्ता भनाइ आजपर्यन्त जीवित छ। त्यतिमात्रै होइन, घर–घरमा जाँड रक्सी निर्माण गरिन्छ। बाह्रै मास घरमा जाँड रक्सी टुट्दैन। अनि बालक, महिलादेखि घरका सबै सदस्य मापसे गर्न सिपालु हुन्छन्। यो विगतका शासक वर्गले निकै गम्भीरतापूर्वक रचेको षड्यन्त्र हो। अझै हाम्रो समाजले बुझ्न सकेको छैन। जन्म, मृत्यु, पितृ, पूजा, सबैमा देउतालाई जाँड रक्सी चढाउनैपर्ने पनि कुनै नियम या धार्मिक परम्परा हुन सक्छ? यो त सरासर कुरीतिसिवाय केही हुँदै होइन।

संसारमा मान्छेलाई बाँध्न सक्ने, नियन्त्रणमा राख्न सक्ने शक्तिशाली हतियार केवल विचार नै हो। विचारले मात्रै मान्छेको सम्पूर्ण भ्रम, खराब बाटो, दृष्टिदोषबाट मुक्त गराउन सक्छ। हाम्रो समाजमा कैयौ पुस्ता मापसेको लतमा डुबेर निष्काम निरर्थक जीवन जिए, अनि अकालमा मृत्युको मुखमा पुगे। यस्ता विकृतिबाट मुक्तिका लागि सामाजिक चेतना, जागरण, शिक्षा र विचार अभियान समाजमा चल्नु जरुरी छ। यति कार्य गर्न कुनै कम्युनिस्ट …फिलोसोपी… या जार्गनको सहायता लिनै पर्दैन। अस्वस्थ, अक्षम, असभ्य अझ जँड्याहाजनले राष्ट्रलाई कहाँ पुर्‍याउँछ? सोच्ने बेला भइसकेको छ। त्यसैले अनिवार्य मापसे संस्कृति होइन, विकृति हो। यसलाई सच्याउन ढिलाई नगरौँ।

महामन्त्री, बहुजन शक्ति पार्टी

प्रकाशित: ८ कार्तिक २०७३ ०४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App