coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

व्यवस्था नयाँ, शैली पुरानै

मुलुकले गणतन्त्रको यात्रा तय गरेको वषर्ौं भइसक्दा पनि सर्वसाधारण निरंकुश तथा सामन्ती राजतन्त्रको स्मरण गर्न बाध्य  छन्। लोकतान्त्रिक गणतन्त्रका राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य जिम्मेवार पदाधिकारीको नफेरिएको मानसिकताका कारण राज्यप्रणालीबाटै विदा भइसकेको राजतन्त्रको भूतले जनतालाई बेलाबखत तर्साउँदै आएको छ। गणतान्त्रिक नेपालको प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार बिहानै आफ्ना दुई छोरी, स्वकीय सचिव तथा एक सभासद्सहित सप्तरीको प्रसिद्ध छिन्नमस्ता मन्दिर दर्शन गर्न पुगेकी थिइन्। स्वाभाविकै हो, भगवान्को मन्दिरमा जाँदा जुत्ताचप्पल फुकालेर भित्र प्रवेश गर्नु। तर, उदेकलाग्दो कुरा कहाँ पुगेर सुरु हुन्छ भने– राष्ट्रपति र उनीसँगै गएका व्यक्तिका जुत्ताचप्पल बोक्ने कामचाहिँ नेपाली सेनाले गरे– गर्न लगाइयो! हाम्रो संस्कृति तथा परम्परामा कसैले पनि कसैलाई जुत्ताचप्पल बोकाउनुलाई उचित मानिँदैन। यस्तो परम्परालाई सभ्य समाजमा सरासर गलत मानिन्छ। राजतन्त्रका समयमा राजामहाराजा, महारानी, मुमा बडामहारानी तथा तिनका परिवारको जुत्ताचप्पल बोकाएको देखिन्थ्यो, तर त्यसबखत सञ्चार माध्यम बलिया र विस्तारित नहुनाले ती कुरा सार्वजनिक हुँदैनथे। चाकरी, चाप्लुसी र दरबारको नजिक पर्न चाहने सेना, प्रहरी तथा प्रशासकबाटै सगर्व यस्ता काम हुन्थे। जन्मजात मुलुकको शीर्ष तहमा पुग्ने राजतन्त्र हटेर मुलुकमा जनताद्वारा चुनिने राष्ट्रपति राष्ट्रप्रमुख हुने व्यवस्था बहाल भएको पनि एक दशक हुन लागिसकेको छ। तर, शीर्ष तहमा पुग्ने व्यक्तिमा किञ्चित पनि फेरिन नसकेको पुरातन तथा सामन्ती सोचले मुलुकमा परिवर्तनको अनुभूति हुन दिइरहेको छैन।

उसो त सेना, प्रहरी तथा प्रशासनमा चाकरी बजाउने परम्परा नौलो होइन। पदमा रहेका व्यक्तिलाई व्यक्तिगत ढंगमा खुसी पार्न सक्दा आफ्नो पदोन्नति वा विश्वासपात्र बन्न सकिने मनोविज्ञान व्याप्त छ।

राष्ट्रपति वा अन्य विशिष्ट व्यक्तिको सवारीका समयमा सर्वसाधारणले घन्टौँ भोग्नुपरेको कष्टले पनि राजतन्त्रकै झझल्को दिँदै आएको छ। यस्ता क्रियाकलापले सर्वसाधारणमा परिवर्तनको अनुभूति हुन दिँदैन नै साथमा सेनाको मनोबल पनि गिराउँछ। आफ्नो सवारीको समयमा सर्वसाधारणलाई सास्ती नहोस् भनेर राष्ट्रपति, प्रधानमन्त्री आफँै सचेत हुनुपर्छ। पदीय मर्यादा तथा आवश्यक सुरक्षाका कारण सडकलाई केही खुकुलो पार्नु आवश्यक भए पनि घन्टौँ आवागमन रोक्नु जरुरी छैन। पूर्वराष्ट्रपति रामवरण यादवले आफ्नो सवारीका बखत गाडी नरोक्नू भनी बोलेका पनि थिए, तर त्यो व्यवहारमा लागु हुन सकेन। वर्तमान राष्ट्रपति भण्डारीले यस विषयमा खासै चासो राखेको देखिएन। भरखरै सकिएको दसैँको कोजाग्रत पूर्णिमाका दिन राष्ट्रपति भक्तपुरस्थित नवदुर्गा मन्दिर जाँदा एम्बुलेन्स समेत रोकिएको खबर सेलाएको छैन। गणतन्त्र स्थापनापछि वा मुलुकले नयाँ संविधान पाइसकेपछि पनि विशिष्ट व्यक्तिको व्यवहारमा परिवर्तन नआउँदा गणतन्त्र संस्थागत गर्नै समस्या पर्न सक्छ। लोकतन्त्र वा गणतन्त्र जेसुकै नाम दिए पनि राज्यसञ्चालनको तहमा पुगेका व्यक्तिले जनसामान्यमा अनुभूत हुनेखालको व्यवहार नदेखाएसम्म व्यवस्था परिवर्तनले मात्र केही हुँदैन। परिवर्तन कोरा शब्दले मात्र संस्थागत हुन सक्दैन, जिम्मेवार तहका अधिकारीको कार्यशैली, जीवनशैली तथा व्यवहारमै आमूल परिवर्तन आउनुपर्छ। सामन्ती संस्कार र शैली नत्यागेसम्म व्यवहार लोकतन्त्रसम्मत हुन सक्दैन। लोकतन्त्र भनेको व्यवहार पनि हो।

उसो त सेना, प्रहरी तथा प्रशासनमा चाकरी बजाउने परम्परा नौलो होइन। पदमा रहेका व्यक्तिलाई व्यक्तिगत ढंगमा खुसी पार्न सक्दा आफ्नो पदोन्नति वा विश्वासपात्र बन्न सकिने मनोविज्ञान व्याप्त छ। यही मनोविज्ञानले राष्ट्रपति भण्डारी र उनीसँग मन्दिर दर्शन गर्न गएका व्यक्तिको जुत्ताचप्पल सेनाले बोकेको वा तिनलाई कसैले निर्देशन दिएर बोक्न लगाएको पनि हुन सक्छ। तथ्य के हो पत्ता लगाउनु आवश्यक छ। यसले राष्ट्रपति भण्डारीको छवि उजिल्याउँदैन। निरंकुशतन्त्रमा स्थापित यस्ता गलत मान्यता भत्काउन स्वयं राष्ट्रपति अग्रसर हुनुपर्छ। उनलाई बदनाम गराउन पनि यस्तो प्रयास भएको हुन सक्छ। नेपाली सेनाको सर्वोच्च कमान्डर संविधानतः राष्ट्रपति हुन्। कमान्डरले आफूमातहतको निकायको मनोबल उच्च पार्ने तथा सम्मान बढाउने काम गर्न सक्नुपर्छ। तर, जानेर–नजानेर वा थाहा पाएर–नपाएर सेनालाई जुत्ताचप्पल बोकाउने जुन काम भएको छ, त्यो सर्वथा निन्दनीय छ। सेनालाई राष्ट्रका गौरव तथा राष्ट्रियता र स्वाभिमानको प्रतीकका रूपमा पनि हेरिन्छ। नेपालमा महिला राष्ट्रप्रमुख भएको विषयलाई सारा लोकले चासोपूर्वक नियालिरहेको छ। नेपालभित्र यसको प्रशंसा व्यापक भएकै हो। प्रशंसा तथा चासोलाई कायम राख्न र सकेसम्म यसमा बढोत्तरी गर्न पनि राष्ट्रपतिले पदीय दायित्व र मर्यादामा चुक्नु हुँदैन। देशको शान्ति–सुव्यवस्थाका लागि गठन गरिएका सेना कसैको जुत्ताचप्पल बोक्ने निकाय होइन– हुनु हुँदैन। यस्तो गलत परम्पराको तत्काल अन्त्य हुनुपर्छ।

प्रकाशित: ८ कार्तिक २०७३ ०४:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App