७ वैशाख २०८१ शुक्रबार
प्रविधि

गुगलले आपत्तिजनक सामाग्री हटाउने

बैंकक–गुगलले थाई राजदरबारको मानहानी गर्ने सामाग्री गुगल खोजीबाट हटाउने प्रस्तावमा सहमति जनाएको छ ।  थाइल्याण्डका उपप्रधानमन्त्री प्राजिन जुन्तोङले इन्टरनेट कम्पनी गुगल र गुगलको सहायक संस्था युट्युबमा खोजी गर्दा भेटिने ‘आपत्तिजनक’ सामाग्री हटाउने  बारेमा शुक्रबार भएको वार्तामा गुगलका प्रतिनिधि त्यस्ता समाग्री हटाउन तयार भएको बताएका छन् ।

राजद्रोहसम्बन्धी संसारकै सबैभन्दा कडा कानुनमध्ये एक भएको थाइल्याण्डमा राजा पुमिपोन अदुन्यादेतको निधनको शोकबाट गुज्रिरहेको छ । १३ अक्टोबरमा राजा पुमिपोनको निधन भएदेखि राजतन्त्रका लागि आपत्तिजनक १०० भन्दा बढी सामाग्री गुगलमा पाइएको जुनतोङले बताएका छन् । गुगलले प्रत्येक त्यस्तो सामाग्रीलाई मूल्यांकन गरेर थाइल्याण्डभित्र त्यस्तो सामाग्रीको पहुँच सीमित गर्ने बताएको छ ।

गुगलले सामाग्री हटाउनका लागि आफूले प्रयोग गर्दै आएका नीतिहरु अपनाउने बताएको छ । अनधिकृत सामाग्रीका बारेमा आधिकारिक तवरबाट सूचना पाएपछि त्यस्तो सामाग्रीको मूल्यांकन गरेर जुन देशमा निषेधित छ त्यहाँबाट हटाउने गुगलले बताएको छ ।

गुगलले समय समयमा ’पारदर्शिता प्रतिवेदन’ भन्दै सामाग्री हटाउने त्यस्तो अनुरोधका बारेमा जानकारी सार्वजनिक गर्ने गरेको छ । सन् २०१५ को जुलाई र डिसेम्बर महिनाबीच उसले थाई सरकारबाट ३३ वटा त्यस्ता अनुरोधहरु प्राप्त गरेको थियो । ती अनुरोधमा १,५६६ सामग्रीको उल्लेख गरिएको र ती मध्ये ९७ प्रतिशतले सरकारको आलोचना गरेको भनिएको बताइएको थियो ।

सरकारका अनुरोधमध्ये ८५ प्रतिशत मानेको र करिब १,३०० सय सामाग्री हटाइएको गुगलले बताएको छ । तर थाइल्याण्डभित्र कतिवटा सामाग्रीको पहुँच सीमित गरियो र कतिवटा हटाइयो भन्ने बारेमा उसले पूर्ण विवरण भने प्रकाशित गरेन ।

थाइल्याण्डको आपराधिक संहिताको धारा ११२ ले राजा रानी युवराज वा नायबको मानहानी गर्ने वा अपमान गर्ने मानिसलाई १५ वर्षको जेल सजाय दिइने उल्लेख गरेको छ ।

सन् १९०८ मा थाईल्याण्डको पहिलो आपराधिक संहिता बनेयता यो नियम यथावत छ र सन् १९७६ मा सजाय अझ कडा बनाइएको थियो । तर राजतन्त्रको अपमान भनेको केहो भनेर स्पष्ट रुपमा बताइएको छैन । गुनासो जसले पनि गर्न मिल्छ र प्रहरीले अनिवार्य त्यसमानि अनुसन्धान गर्नुपर्छ । गल्ती दोहोरिन सक्ने आशंकाका कारण आरोपका विवरण सार्वजनिक गरिंदैनन् ।

 

प्रकाशित: ८ कार्तिक २०७३ ०५:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App