८ वैशाख २०८१ शनिबार
अर्थ

पर्यटकले अब पाटेबाघ हेर्न पाउने

नेपालगन्ज- पश्चिम तराईको पर्यटकीय गन्तव्यका रुपमा स्थापित बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धनका गतिविधि सुरु भएका छन्। विश्वकै दुर्लभ पाटेबाघ संरक्षणका लागि पाँच वर्षअघि स्थापना भएको निकुञ्जमा पर्यटक भित्र्याउने प्रयासस्वरुप पूर्वाधार निर्माणसँगै पहिलोपटक हात्तीसार स्थापना गरिएको हो। निकुञ्जका लागि १० वटा हात्तीको दरबन्दी स्वीकृत भएकोमा पहिलो चरणमा ४ वटा हात्ती ल्याइएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए।

‘अहिलेलाई ४ वटा हात्ती सहित ८ जना माउते ल्याएका छौं, आगामी आर्थिक वर्षको कात्तिक–मंसिरतिर बाँकी हात्ती र माउते ल्याउने तयारी गरिरहेका छौं,’ उनले भने। हाल निकुञ्जको महादेवपुरी गाविस–२, बुच्चापुरमा अस्थायी रुपमा रहेको हात्तीसारमा हात्ती राखिने प्रमुख संरक्षण अधिकृत भण्डारीले बताए। उनले भने, ‘यसपछि स्थायी रुपले ढकेरी र कोहलपुरको खड्गवारमा हात्तीसार स्थापना गरिनेछ, त्यहाँबाट पर्यटकलाई घुमाइनेछ।’ दरबन्दी अनुसार एउटा हात्तीको स्याहार गर्ने ३ जना माउते हुनेछन्।

कर्मचारी अभावका कारण दरबन्दी अनुसार हाल माउतेको जनशक्ति पूर्ति हुन नसकेको हो। ‘हात्तीलाई चराउन भुइँघाँस र डालेघाँस निकुञ्जभित्र उत्पादन भइसकेको छ,’ भण्डारीले थपे। उनका अनुसार हात्तीलाई बिहान र बेलुका हरियो घाँसलाई डल्लो (कुची) बनाएर धान, सक्खर वा भेली र नुन खुवाइन्छ। एउटा हात्तीका लागि दैनिक १५ किलो धान, साढे २ किलो सक्खर वा भेली र १५ ग्राम नुन खुवाउनु पर्छ।

हात्तीसार स्थापना भएसँगै वन्यजन्तु अवलोकनका लागि पर्यटकीय गतिविधि सुरु भइसकेको निकुञ्जले जनाएको छ। ‘हात्तीसार स्थापना भइसकेपछि निकुञ्जमा पर्यटन भिœयाउन धेरै उपयोगी भयो,’ प्रमुख संरक्षण अधिकृत भण्डारीले भने ‘तोकिएको निश्चित शुल्क तिरेर अब स्वदेशी र विदेशी पर्यटक हात्ती सफारी गर्न सक्नेछन्।’ हात्ती सफारीका लागि निकुञ्जले स्वदेशी पर्यटकका लागि प्रतिघन्टा ५ हजार, सार्क मुलुकभित्रका पर्यटकका लागि १५ सय र अन्य मुलुकका पर्यटकको हकमा २५ सय रुपैयाँ शुल्क तोकेको छ।

यसका साथै गाडीबाट सवार गर्न निकुञ्जभित्र १ सय २० किलोमिटर वनपथ (कच्ची सडक) तयार गरिएको छ। निकुञ्ज मुख्यालय शम्शेरगन्ज र कोहलपुरबाट प्रवेश गरेर चुरेको फेदसम्म पुग्ने व्यवस्था मिलाइएको छ। ‘विश्वकै दुर्लभ वन्यजन्तु पाटेबाघ हेर्न चाहने पर्यटकका लागि यो नजिकको गन्तव्य हो,’ एक पर्यटन व्यवसायीले भने ‘नेपालगन्ज विमानस्थलमा उत्रिसकेपछि राजमार्ग हुँदै आधा घन्टामै पुग्न सकिने निकुञ्ज भएकाले पर्यटकका लागि धेरै सहज छ।’ मुलुकको कान्छो निकुञ्ज भए पनि बाँके निकुञ्ज धेरै अगाडि बढिसकेको पर्यटन व्यवसायी बताउँछन्।

वन्यजन्तु अवलोकनका लागि निकुञ्जले खासकुश्मा–४ गोठेरी, ठुरिया जंगल लगायत स्थानमा घाँसेमैदान तथा मचान निर्माण गरिसकेको छ। निकुञ्जका पर्यटकलाई लक्षित गरेर नेपालगन्जमा सुविधायुक्त होटल र मध्यवर्ती क्षेत्रमा होमस्टे सञ्चालनमा आइसकेका छन्। निकुञ्जको मध्यवर्ती क्षेत्र चिसापानी गाभर भ्याली र ढकेरीमा स्थानीय थारु संस्कृतिमा आधारित होमस्टे पनि सञ्चालित छन्। 

प्रकाशित: १३ असार २०७३ ०४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App