coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रहरी कारबाहीमा १८ माओवादी मारिए

नयाँदिल्ली- भारतीय पूर्वी राज्य उडिसामा भएको प्रहरी कारबाहीमा परी कम्तीमा पनि १८ जना नक्सालवादी मारिएका छन्। सोमबार दिउँसो सो कारबाही भएको बताइएको छ।

कारबाहीका क्रममा दुईजना प्रहरी पनि घाइते भएका समाचारमा उल्लेख गरिएको छ । ओडिसाको मालकानगिरी नामक जङ्गलमा प्रहरी र नक्सालवादी लडाकूबीचमा दोहोरो गोली हानाहान भएको थियो।

सोही क्रममा १८ जना नक्सालवादी मारिएका भारतीय प्रहरीले जानकारी दिएको छ। ओडिसाको सदरमुकाम भुवनेश्वरबाट प्रहरी र नक्सालवादी लडाकूबीचमा दोहोरो गोली हानाहान भएको जङ्गल करिब ६५० किलोमिटर दक्षिणपश्चिम क्षेत्रमा पर्दछ।

आन्द्रप्रदेश र ओडिसाको संयुक्त विशेष प्रहरी बलले सो कारबाही गरेको थियो । उक्त संयुक्त बलमाथि सोमबार बिहानै नक्सालवादी लडाकूहरुले हमला गरेका थिए।

हमलापछि ठूलो सङ्ख्यामा नक्सालवादी मारिएका जानकारी भारतीय प्रहरीले सोमबार बिहान नै दिएको थियो ।

भारतीय प्रहरीले सोमबार अपरान्ह सो झडपमा मारिने माओवादीको सङ्ख्या १८ पुगेको जनाएका छन्। त्यसमा परी अरु पनि कैयौं प्रहरी घाइते भएका प्रहरीको भनाइ छ।

उक्त जङ्गल क्षेत्रमा करिब ५० देखि ६० जना नक्सलाइट्स जम्मा भएका सूचनाको आधारमा सो जङ्गललाई घेराहाली प्रहरीले कारबाही थालेको थियो।

तर प्रहरीको कारबाही सुरु हुनु अगावै नक्सलाइट्सले प्रहरीमाथि हमला थालेका थिए । यसअघि पनि सो जङ्गलमा ठूलो सङ्ख्यामा नक्सालवादी मारिएका थिए । नक्सालवादीलाई माओवादी पनि भन्ने गरिन्छ।

भारतीय पूर्वी राज्यहरुमा सन् १९६७ देखि नै माओवादी आन्दोलन सुरु भएको हो । जमिनदारी प्रथाका विरुद्ध र गरिबहरुको हक अधिकारको स्थापनाका लागि भन्दै उनीहरुले भारतमा विगत लामो समयदेखि नै हिंसात्मक विद्रोह सुरु गरेका थिए।

हालसम्म ती विद्रोहीका कारण सयौं नागरिकको ज्यान गइसकेको छ । प्रहरीले खोजी र कारबाहीको काम जारी नै राखेका छन्। रासस/ सिन्ह्वा

 

प्रकाशित: ८ कार्तिक २०७३ १०:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App