८ वैशाख २०८१ शनिबार
अर्थ

जोमसोम-कोरला सडक स्तरोन्नति गरिँदै

पोखरा- मुस्ताङ सदरमुकाम जोमसोमदेखि चीनको सीमा कोरलासम्मको सडक स्तरोन्नति हुने भएको छ। ट्र्याकमात्र खुलेको उक्त सडक स्तरोन्नति गर्न सबै प्रक्रिया अघि बढाइएको छ। सडक स्तरोन्नति गर्न टेन्डर आह्वान गरी निर्माण कम्पनी छान्ने प्रक्रिया चलिरहेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ।

डिभिजन प्रमुख राजेशप्रसाद पौडेलका अनुसार दुई वर्षभित्र सक्नेे गरी सडक स्तरोन्नति गरिँदैछ। त्यसका लागि १ सय १० किलोमिटर दुरीको जोमसोम–कोरला खण्डलाई सात खण्डमा बाँडिएको छ। सातमध्ये अहिले तीन खण्डको टेन्डर आह्वान भएर निर्माण कम्पनी छनोट भइसकेको उनले बताए।

'तीनवटा कम्पनी छानिएका छन्। ती कम्पनीसँग सम्झौताको तयारी भएको छ,' उनले भने, 'बाँकी चारवटा कम्पनीका लागि टेन्डर आह्वान गर्दैछौं। केही दिनमै थप कम्पनीका लागि आह्वान हुँदैछ।' सडक विभागले केही महिनाअघि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गर्दा सडक स्तरोन्नति गर्न करिब ४ अर्ब १० करोड रुपैयाँ लागत अनुमान गरिएको थियो। त्यही आधारमा अहिले ७ वटा निर्माण कम्पनीलाई काम लगाउने तयारी भइरहेको उनले बताए। स्तरोन्नतिमा सरकार आफैंले लगानी गर्ने पौडेलको भनाइ छ।

'दोहोरो सवारी गुड्न मिल्ने गरी दुई लेनको सडक तयार हुनेछ। अहिलेका लागि सडकमा ग्राभेल मात्र हुनेछ,' उनले भने, 'नालाबाहेक सडक ९ मिटर चौडा हुनेछ।' उनका अनुसार नेपालसँग चीनको दीर्घकालीन व्यापार सुरु भएर पर्याप्त सवारी चल्न थालेको खण्डमा गाडीको प्रकृति हेरेर सडक कालोपत्रे गरिनेछ। 'भविष्यमा गाडी आवागमन हेरेर सडक कालोपत्रे हुन सक्छ। अहिलेका लागि ग्राभेलिङ मात्र हो,' उनले भने, 'ग्राभेलिङ मात्र गर्दा पनि सडक निकै व्यवस्थित हुनेछ।'

पौडेलका अनुसार ट्र्याकमात्र खुलेको यो खण्डमा अहिले सवारीको सहज आउजाउ छैन। स्तरोन्नतिको क्रममा अहिले गाडी गुडिरहेको ट्र्याकमै सडकको केही खण्ड नपर्न पनि सक्ने उनले बताए। 'अहिलेको ट्र्याक उत्तिसारो मिलेको छैन। घुम्ती मिलेको छैन। त्यसैले अब स्तरोन्नति गर्दा स्थायी रुपमा हुने गरी बन्नेछ,' उनले भने, 'त्यसैले कतिपय ठाउँमा नयाँ ट्र्याक खोलेर रुट नै परिवर्तन हुन सक्छ।' त्यसबाहेक सडकमा पर्ने पुल पनि आगामी वर्षभित्र निर्माण भइसक्ने छन्। केही पुल अहिले पनि निर्माण भइरहेको उनले बताए। यो खण्डमा पाँचवटा पुल निर्माण हुनेछन्।

दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्न चालु आवमै ३० करोड रुपैयाँ अर्थ मन्त्रालयसँग माग गरिएको छ। त्यो रकम छानिएका तीनवटा कम्पनीलाई काममा लगाउन खर्च गरिनेछ। 'साउनदेखि नै काम सुरु हुनेछ। त्यसका लागि चालु आवमै बजेट मागेका हौं। आगामी आवको बजेट आएर काम थाल्दा ढिलो हुन सक्छ,' पौडेलले भने, 'सधैंभरि काम गर्न नमिल्ने भएकाले पनि दुई वर्ष अवधि दिइएको हो।'

उनका अनुसार साउनदेखि सुरु भएको काम कात्तिकसम्म चलिरहनेछ। त्यसपछि हिउँ पर्ने भएकाले फागुनसम्म काम रोकिनेछ। चैतपछि पुनः काम सुरु हुने उनले बताए। 'सिजन पर्खेर काम गर्नुपर्ने भएकाले पनि अहिले नै थाल्नुपरेको हो,' उनले भने।

जोमसोम–लोमान्थाङ खण्डमा ७ वर्षअघि नै ट्र्याक खुलाए पनि समर–भियनाको अप्ठेरो भीरमा गाडी वारपार गर्न नसक्दा सम्पर्क टुटेको थियो। केही महिनाअघि मात्र नेपाली सेनाले समर–भियना खण्डको ट्र्याकलाई केही सहज बनाएको थियो। मुस्ताङ बस तथा जिप व्यवसायी संघका उपाध्यक्ष सूर्य सुनुवारका अनुसार अहिले निकै मुस्किलका साथ यो सडकमा सवारी गुड्दै आएका छन्। उनका अनुसार करिब २३ किलोमिटर खण्डको जोमसोमदेखि छुसाङसम्म दैनिक बस चल्छन्। चैले र छुसाङ जोड्ने कालीगण्डकी नदीमाथि पुल नहुँदा बस वारपार गर्न सक्दैनन्। त्यसपछि चैलेदेखि लोमान्थाङसम्म जिप चल्छन्। चैलेदेखि लोमान्थाङसम्म ५२ वटा जिप चल्छन्। जोमसोम–छुसाङसम्म ५० वटा जति गाडी चल्छन्।

'चैलेदेखि लोमान्थाङसम्म फोरह्विल गाडी मात्र चल्न सक्छन्। छुसाङ–जोमसोम अरु पनि चल्छन्,' उनले भने, 'ग्राभेलिङ भयो भने सहज हुन्छ। ठाडो उकालोमा चलाउँदा गाडीले समेत सहजै भार तान्न नसक्ने भएकाले बेलाबेलामा दुर्घटना हुने गरेका छन्।' यात्रुबाहक बाहेक हिउँदमा कालीगण्डकी नदी भएर लोमान्थाङसम्म ढुवानीका साधन चल्दै आएका छन्। कालीगण्डकी नदी पटकपटक पार गर्दै ढुवानीका सवारी मात्र गुड्छन्। ठाडो उकालो बाटो भएकाले चल्तीको सडकमा ढुवानीका सवारी गुड्न सक्दैनन्।

सडक स्तरोन्नति भएमा चीनसँग दीर्घकालीन व्यापार गर्न सहज हुने मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले बताए। 'माथिल्लो मुस्ताङ पूरै तिब्बती व्यापारीमा निर्भर छ। तल्लो मुस्ताङ पोखरासँग निर्भर रहन्छ। यो सडक स्तरोन्नति भएमा पूरै मुलुकलाई नै सहज हुन्छ,' उनले भने, 'हामीले धेरै पहिलेदेखि सडक स्तरोन्नति गर्नका लागि आवाज उठाइरहेका छौं। बल्ल स्तरोन्नति हुने खबर पाएका छा्रै। यसले हामीलाई खुसी बनाएको छ।' उनका अनुसार कालीगण्डकी नदीमाथि पुल बनेर सडकमा सहज सवारी चल्न सकेको खण्डमा त्यसले मुस्ताङको पर्यटन उद्योग समेत फस्टाउनेछ।

प्रकाशित: १३ असार २०७३ ०४:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App