८ वैशाख २०८१ शनिबार
राजनीति

महाभियोगमा साझा धारणा बनाउँदै तीन दलका युवा नेता

काठमाडौं- प्रमुख राजनीतिक दलका युवा नेता अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोगलाई साझा प्रस्तावको रूपमा अघि बढाउन सहमत भएका छन्।

राजधानीमा सोमबार साँझ भएको नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका युवा नेता तथा सांसदको भेलाले कार्कीविरुद्धको महाभियोग प्रस्ताव राष्ट्रिय आवश्यकता भएको निष्कर्ष निकालेको हो।

संवैधानिक निकायलाई निष्पक्ष, पारदर्शी बनाउन कानुनी व्यवस्था गर्ने, संविधान संशोधन र कार्यान्वयनमा साझा धारणा बनाउने भेलाको निष्कर्ष छ।

'महाभियोग प्रस्तावलाई साझा प्रस्तावका रूपमा अघि बढाउन, संवैधानिक निकायलाई निष्पक्ष र पारदर्शी बनाउन सहमति भएको छ,' नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद धनराज गुरुङले भने, 'यो नेपाली राजनीतिमा टर्निङ प्वाइन्ट हुनेमा सबै विश्वस्त छौं।'

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सकिएलगत्तै भएको भेलाले कार्कीले पदको दुरुपयोग गरेर समानान्तर रूपमा देश चलाउन खोजेको र अख्तियारको दुरुपयोग गरेर विभिन्न काम गरेकाले महाभियोग ल्याउन उचित रहेको निष्कर्ष निकालेको छ।

'महाभियोगको प्रस्ताव कसैको विरुद्ध षडयन्त्र नभई परिस्थितिका कारण ल्याउन आवश्यक भएको भन्ने साझा धारणा हो,' एमाले युवा नेता तथा सांसद रविन्द्र अधिकारीले भने, 'यो उनले अख्तियारको दुरुपयोग गरेर जसरी संवैधानिक निकायलाई सञ्चालन गरे, त्यसको उपज हो।'

कांग्रेसका केही नेताले भने अहिलेको गठबन्धन भत्काउने उद्देश्यले महाभियोग प्रस्ताव ल्याएको भन्दै त्यसमाथि अविश्वास व्यक्त गर्दै आएका छन्।

भेलामा युवा नेताले सबै दलका शीर्ष नेतासँग छलफल गर्ने सहमति भएको कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए।

एमाले र माओवादी केन्द्रका एक सय ५७ सांसदले बुधबार साँझ कार्कीविरुद्ध महाभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए। प्रस्तावमाथि संसद्मा मंगलबार छलफल हुने कार्यक्रम छ।

एक तिहाइभन्दा बढी सांसद रहेको कांग्रेसले महाभियोगबारे अहिलेसम्म निर्णय गरेको छैन। कार्कीले संसदको महाभियोग समितिको बैठकमा प्रस्तुत गर्ने स्पष्टीकरणपछि मात्रै निर्णय लिने कांग्रेसले जनाएको छ।

संसद्को पूर्ण बैठकले कार्कीविरुद्धको प्रस्तावलाई महाभियोग समितिमा पठाउने छ। समितिमै अख्तियार प्रमुख कार्कीले स्पष्टीकरण दिने मौका पाउनेछन्।

एमाले नेता रविन्द्र अधिकारीले संविधान निर्माणका समयमा साझा धारणा बनाउन यो समूह सक्रिय रहेको र अहिले महाभियोग प्रस्तावपछि फेरि सक्रिय हुन लागेको बताए।

'यो समूहले संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन गराउने र संविधान संशोधनको विषयमा समेत सहमतिका लागि पहल गर्नेछ,' अधिकारीले भने।

भेलामा नेपाली कांग्रेसका युवा नेता तथा स्वास्थ्यमन्त्री गगन थापा, सांसदहरू धनराज गुरुङ र रामहरि खतिवडा, केन्द्रीय सदस्यहरू सुरेन्द्र पाण्डे, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल, नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकाल, समितिका सभापतिहरू प्रकाश ज्वाला, रविन्द्र अधिकारी, पूर्वमन्त्री शेरधन राई, सांसद पार्वत गुरुङ सहभागी रहेका थिए। त्यस्तै, नेकपा माओवादी केन्द्रका नेता तथा ऊर्जामन्त्री जनादर्न शर्माको सहभागी थियो।

प्रकाशित: ९ कार्तिक २०७३ ०१:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App