८ वैशाख २०८१ शनिबार
समाज

उपत्यकामा रगत चरम अभाव

काठमाडौं- शल्यक्रियाको लागि आवश्यक पर्ने रगत उपलब्ध गराउँदै आएको रक्त सञ्चार केन्द्र (ब्लड बैंक) मा रगतको मौजाद सकिएको छ। चाडपर्वका बेला रक्तदाता उपत्यकाबाहिर गएकाले रगत संकलनमा कमी भएसँगै अभाव बढेको हो। रगत खोज्दै केन्द्र पुग्ने सेवाग्राहीले समयमै रगत पाउन सकेका छैनन्। सप्तरीका धीरेन्द्र राय यादव मामा राम एकवाल राय यादवको पेट शल्यक्रियाका लागि आवश्यक रगत खोज्न बैंकको कार्यालय बालकुमारी पुगे। अपराह्नसम्म बैंकमा रक्तदाता नआएपछि उनले रगत पाएनन्।

'४ पोका रातो र ४ पोका सेतो रगत ठिक गर्न डाक्टरले भनेका छन्,' धीरेन्द्रले भने, 'बिहानै आएको रगतै पाइएन। बैंकले रगत छैन, दाता बोलाउनु भन्छ तर मैले चिनेको कोही छैन।'

'चिकित्सकले मंगलबार शल्यक्रिया गनुपर्छ भनेका छन्, अब रगत्त नपाएपछि कसरी गर्ने होला?' भन्दै धीरेन्द्रले गुनासो गरे। धीरेन्द्रको मामा रामएकवाल असोज ३० गतेदेखि वीर अस्पतालमा उपचाररत छन्।

बुबा जय लामाको मुटुको अप्रेसनका लागि रगत खोज्दै गंगालाल हृदय केन्द्र, बाँसबारीबाट बैंक आइपुगेका सुब्बा लामा पनि रगत नपाएपछि बैंक प्रांगणमा टोलाइरहेका थिए। कतैबाट दाता आउलान् कि भन्ने आसमा कुरिरहेका सुब्बाले भने, 'फ्रेस रगत तीन पोका चाहिन्छ भनेर तीन जना तयार गरेँ, बाँकी ५ पोका रगत खोज्न बैंक आएको तर पाइनँ,' उनले थपे, 'कतैबाट दाता आउलान् कि भनेर कुरिरहेका छौं।'

उपत्यकामा अहिले दैनिक करिब ४ सय पोका रगत आवश्यक पर्ने नेपाल रेडक्रस सोसाइटी तथा रक्तसञ्चार केन्द्रका उपनिर्देशक डा. प्रकाशकुमार यादवले जनाए। 'संकलन भने त्यसको तुलनामा निकै कम छ,' उनले भने, 'सहजै उपलब्ध गराउन  सकिरहेका छैनौं।'

उनका अनुसार रेडक्रसले दैनिकजसो ३/४ वटा रगत संकलन कार्यक्रम गरे पनि संकलन निकै कम हुँदा समयमै उपलब्ध गराउन नसकिएको बताए। 'हामीले पहिलेको जसरी नै रक्तदान कार्यक्रम चलाइरहेका छौं,' उनले भने, 'अघिपछि ३/४ वटा कार्यक्रम चलाउँदा ४ देखि ५० सय पोका रगत संकलन हुन्छ तर हिजोआज भने ५० पोकाको हाराहारी मात्र संकलन हुने गरेको छ।'

नियमित रगतदान गरिरहने रक्तदाता उपत्यकाबाहिर गएकाले संकलनमा कमी आएको ब्लड बैंकको भनाइ छ। ब्लड बैंकले उपत्यकामा रहेका रक्तदातालाई समय पुगेको छ भने रक्तदान गरिदिन पनि अनुरोध गरेको छ।

ब्लड बैंकका अनुसार दसैं र तिहारको बीचमा रगत अभाव हुँदै आएको छ। रगत संकलनपछि बढीमा ३५ दिन मात्र राख्न मिल्छ। दसैंअघि संकलन भएको रगतले दसैंभरि धान्ने तर दसैंका बेला रक्तदाता कम हुने हुँदा दसैं सकिएलगत्तै अभाव हुने गरेको छ। छठ पर्वसम्म रगतको अभाव हुने भन्दै केन्द्रले रक्तदान गर्न अनुरोध गरेको हो।

रगतको उपलब्ध गराउँदै आएको 'युथ फर ब्लड' ले रक्तदाता नै आवश्यक अस्पताल पठाएर उपलब्ध गराइरहेको छ। युथ फर ब्लडसँग पनि चाडपर्वले गर्दा प्राप्त रक्तदाता नभएको हुँदा उपलब्ध गराउन नसकेको स्विकारेको छ।

'रगतको माग अत्यधिक आउने गरेको छ,' युथ फर ब्लडका सदस्य प्रवीण धमलाले भने, 'हामीसँग भएका रक्तदाता सकिइसकेका छन्। तैपनि जटिल अवस्थामा भने हामीले सम्पर्कमा राखेका केही रक्तदाताबाट उपलब्ध गराउँदै आएका छौं।'

प्रकाशित: ९ कार्तिक २०७३ ०२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App