coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

२४८ वर्ष पुरानो जाजरकोट दरबार अति जिर्ण

संरक्षण अभावमा २४८ वर्ष पुरानो जाजरकोट दरबार। तस्बिरः जनक केसी

जाजरकोट– ऐतिहासिक एवम् पुरातत्विक रुपमा  निकै महत्व बोकेको जाजरकोट दरबार अति जिर्ण अवस्थामा पुगेको छ।

स्थानीय सरोकारवाला निकाय र सरकारको बेवास्ताका कारण २४८ वर्ष पुरानो दरबार जिर्ण अवस्थामा पुगेको हो। दक्षिणतिर भेरी नदी र चौरजहारीको सुन्दर दृस्य अनि अर्काेतिर होलु जिउला अनि हरिया पहाडहरुको बीचमा रहेको खलंगाको पिपलडाँडा टाकुरोमा रहेको जाजरकोट दरबार सुन्दर प्रकृतिको सुन्दरताको बीचमा कुरुप वन्दै गएको छ ।

गोरखाका राजा पृथ्वीनारायण शाहका मित अर्थात जाजरकोट राज्यका छैटौं राजा हरि शाहले १८२५ सालमा निर्माण गरेको  यो दरवार संरक्षण अभावमा  जिर्ण अवस्थामा पुगेको हो।

सरोकारवाला निकायको बेवास्ताका कारण दरवारको  ऐतिहासिक महत्व र कलात्मकता समेत हराउँदै गएको  स्थानीय केशवजंग शाहले बताए।  दरबार चारैतिरबाट भत्किने अवस्थामा पुगेको यसको संरक्षण एवम् सम्वद्र्धनका लागि राज्य र अन्य सरोकारवालाले केही नगरेका कारण समस्या परेको उनले बताए। जिल्लाको प्रमुख प्रशासनिक केन्द्रको रुपमा रहेको जिल्ला प्रशासन कार्यालय रहेको दरबार जिर्ण अवस्थामा पुगेर कुरुपता बढ्दै गए पनि कसैको चासो देखिएको छैन।

जाजरकोट, रुकुम र सल्यानका जनताले  रुकुमको चौरजहारीबाट इँटा बोकेर निर्माण गरेको यो दरबार अहिले निकै जिर्ण अवस्थामा पुगेको  भए पनि  कसैले  चासो र सरोकार नराख्नु दुःखको कुरा भएको  स्थानीय जेष्ठ नागरिक मानबहादुर सिंहले बताए। ‘पहिले दरबार प्रवेशद्वारहरुमा निर्माण गरिएका कलात्मक गेट एवम बगैंचाहरु पनि भत्काए, अहिले  पुरै दरबारको भवन नै जिर्ण बन्दा पनि संरक्षणको चिन्ता कसैलाइ छैन,’ सिंहले भने ।

सुरुमा ७ तले यो दरबार  १९९० सालको महाभूकम्पपछि  चार तलामा झरेको थियो।  सरकारले २०१७ सालमा राजारजौटाहरु उन्मुलन गरेपछि राजाले बस्न छोडेको  यो दरबारका सबै महत्वपूर्ण एवम ऐतिहासिक वस्तुहरु अहिले हराइसकेको  जाजरकोटको इतिहास  र संस्कृतिका खोजकर्ता राजुराजा सिंहले बताए ।

उनले इतिहासमा नेपाल एकीकरणका बेला जाजरकोट राज्यले पु¥याएको योगदानको सम्झना गराउने सबै  वस्तुहरु राजाका सन्तान भाइभारदार  र अन्यले  वेपत्ता बनाएका कारण आज दरबारको शोभा हराएको  उनले बताए। दरबारको सातौं तलामा रहेको नारायण थानको मन्दिरका तीन वटा अति प्राचीन मूर्तिहरु मध्ये एउटा हनुमानको मूर्ति द्वन्द्वकालमा हराएको थियो। अन्य दुइवटा मात्र  रानागाउँको कालिका मन्दिर र पिपलडाँडाको गणेश मन्दिरमा सुरक्षित  रहेको उनले बताए ।
 सिंहले हुम्ला र चीनको बीचमा रहेको ताक्लाकोट  अक्रमण गरी जाजरकोटी सेनाले जितेका छालाको तोप र केही अन्य हतियारहरु राष्ट्रिय संग्राहलय छाउनीमा रहेको  बताए।

नेपाल बाइसी र चौबीसी राज्यमा विभाजित भएका बेला बाइसी राज्य अन्तरगत निकै शक्तिशाली मानिएको  जाजरकोट राज्यका  संस्थापक राजा जगतिसिंह मेदिनीवर्मा पछिका  राजा विजय सिंहको घोडाले मन पराएको  जाजरकोट खलंगाको पिपलडाँडामा अवस्थित यो दरबारको निर्माण भक्तपुरका चर्चित कालीगढ नाक्चेको डिजाइन अनुसार  भएको  थियो ।  हाल जिल्ला प्रशासन कार्यालय रहेको उक्त दरबार जाजरकोटी राजा प्रकाश विक्रम शाहले २०४२ सालमा  तत्कालीन जिल्ला पन्चायतलाई ६० हजार रुपैयाँमा बिक्री गरेका थिए ।

राजा रजौटा उन्मुलन र दरबार बिक्रीपछि पनि गणतन्त्र स्थापना नहुने बेलासम्म जाजरकोटका राजाले राजाको मान्यता पाइरहे पनि दरबारको संरक्षण एवम सम्वद्र्धनमा कुनै चासो  दिएनन्।  दरबारमा रहेका निकै मूल्यवान एवम् महत्वपूर्ण वस्तुहरु राजाकै सन्तानहरुले अहिले पनि आफ्ना घरमा राखेको  सरोकारवालाहरु बताउँछन् ।  

निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले  दरबार पुननिर्माणका लागि आफूहरुले पटकपटक पुरातत्व विभागमा पत्र लेखेर अनुरोध गरेको भए पनि अर्थ मन्त्रालयले बजेट निकासा नगरेका कारण  योजना अघि नबढेको बताए । उनले  झन्डै १३ करोडको लागतमा दरबार पुननिर्माण गर्न  लगाई तयार भए पनि अर्थको स्वीकृति नभएका कारण  काम रोकिएको बताए ।

         
 

प्रकाशित: १० कार्तिक २०७३ ०८:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App