coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

देउसी भैलोमा मौलिकता हराउँदै

रेकर्ड गरिएको गीतमा देउसी भैलो खेल्दै स्थानीय किशोरकिशोरी। तस्बिरः जनक केसी

जाजरकोट– जाजरकोट सदरमुकाम खलंगामा दैनिक एक दर्जन बढी देउसी भैलो समुहहरु आइरहेका छन्। खलंगामा आउने सबैजसो देउसी भैलोहरुले भट्याउने र गीत गाउन मेमोरीमा रेकर्ड गरिएका गीतहरुको सहयोग लिइरहेका  छन् ।

उनीहरुमा कुनै पनि मोलिकता देखिँदैन । अधिकांश भैली समुहहरुले  हिन्दी र नेपाली चलचित्रका गीत एवम एल्वममा राखिएका देउसी भैलो गीतहरुमा नाच्ने गरेका छन् । न उनीहरुले मादल बोकेका हुन्छन न मुरली र खैजडी नै । ठुलाठुला  साउन्डवक्सहरुमा गीतहरु घन्काउदै  हल्ला गर्दै देउसी भैलो समुहरु हिँडेका हुन्छन्।

देउसीभैलोहरुले ठुलो स्वरमा बज्ने साउन्डवक्समा गीत घन्काउँदा मनोरन्जन भन्दा वढी  हल्ला मात्रै हुने गरेको  स्थानीयहरु बताउँछन् । ठुलो ठुलो स्वरमा  गीत बजाउँदै चिच्याउँदै  देउसी भैलो खेल्नेहरु हिँडेको देख्दा  आफुहरुलाई रमाइलो भन्दा बढी डर लाग्ने गरेको  उनीहरु बताउछन् ।

स्थानीय निर्माण व्यावसायी तेजविक्रम शाह  पहिलेका भैलीहरु आउँदा स्थानीय लोकबाजाहरु र गीतहरु  देख्न सुन्न पाइन्थ्यो तर आज भोलि आयतित गीतहरु सुनेर वाक्क  लाग्ने गरेको  बताउँछन् ।  ‘पहिले  आफै भट्याएर  देउसी खेल्दा छुट्टै मजा आउँथ्यो  अनि  हेर्नेलाई पनि रमाइलो लाग्थ्यो तर आज भोलिका  भैली खेल्नेहरु  उफ्रिने र कराउने मात्र गर्छन्,’ उनले भने ।
यस्तै हो भने केहि वर्षपछि लोकवाजा र भैलीको मोलिकता हराउने निश्चित भएको उनले बताए। त्यस्तै भेरी मालिका नगरपालिका ३ का  जेष्ठ नागरिक मानबहादुर सिंह पहिले देउसी भैलो खेल्दा सबैले लोकगीत आफैले गाउने, मुरली, मादल, खैजडी, झयाली, टयाम्कोलगायतका मौलिक वाजाहरु वजाउने  गरेको वताउछन् ।

तर आज भोलि कसैको हातमा  पनि ती वाजाहरु  देखिदैनन,  उनले भने  ।  सिंहले  हाम्रो मौलिक पहिचान वोकेका देउसी भैलो गीतमा विकृति भित्रिन लागेको भन्दै  चिन्ता व्यक्त गरे ।

पहिलेका भैलीहरु विशुद्ध मनोरन्जल र सस्कृति जोगाउनका लागि हुन्थे तर   आज भोलिका देउसी भैलोहरु हेर्न पनि हप्ठेरो लाग्छ उनले  भने ।

१० वर्ष  अघि सम्म जाजरकोट सदरमुकाम खलंगा लगाएतका गाउँहरुमा  देउसी भैलो  खेल्नेहरुको पोषाकमा नेपाली पन देखिन्थ्यो भने उनीहरुले भटटयाउने भैलो गीत र अन्य गीतहरुमा स्थानीय मौलिक्ता झल्किन्थ्यो,  खलंगाको ठाँटीवजारकी पदमा पुनले भनिन् ।

उनले पहिले पहिले  वालवालिका देखि युवायुवती र प्रौढ एवम वृद्धवृद्धाहरुले देउसी भैलो स्थानीय गीत संगीतका साथ खेल्ने  गरेको वताइन्  ।  अहिलेका देउसी भैलो खेल्नेहरु भने  सवै  वनावटी गीतहरुको भर पर्छन्  उनले भनिन् ।
 पछिल्लो पुस्ताका युवाहरुले  स्थानीय लोकसस्कृति छोड्दै गएका कारण जिल्लाका सिंगारु, पैसेरी, ख्याली, देउडा, फाक, हिउदाले भाका, ठाडो भाका, झयाउरे गीत र नाँच लगाएतका सस्कृतिहरु अहिले पुर्ण रुपमा हराउदै गएकोमा  स्थानीय वुढापाखाहरु  चिन्तित देखिन्छन् । पहिले मेला पर्व देखि देउसी भैलो  लगाएतका समाजिक एवम  अन्य कार्यक्रममा स्थानीय लोकवाजा र  स्थानीय नाचहरु  निकै रमझमका साथ  हेर्न पाइने गरे पनि अहिले भने  विस्तारै सवै हराउदै गएको  उनीहरुको भनाइ छ ।

जिल्लाका स्थानीय वाजा संरक्षणका लागि  जिल्ला विकास समिति लगाएतका सस्थाहरुले वजेटको व्यवस्था गर्ने गरेपनि  ती वाजाहरुको प्रयोग नहुदा  ती वाजाको प्रचल देखिँदैन ।  नयाँ पुस्तामा  स्थानीय या मौलिक सस्कृति मोह घट्दै गएका कारण समस्या परेको हो ।

 

प्रकाशित: १३ कार्तिक २०७३ ११:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App