७ वैशाख २०८१ शुक्रबार
कला

असनको गल्लीमा ‘भस्मे’ र वर्षाको ‘जात्रा’

सुटिङको क्रममा विपिन कार्की र बर्षा राउत। तस्बिर: प्रबिन कोइराला

काठमाडौं– मानिसको किनमेलले खचाखच रहने असनस्थित न्ह्योखा बहाल सोमबार भने जात्राको चलहपहलले भिन्न देखिन्थ्यो। ठूलाठूला घरले घेरिएको न्ह्योखा बहालमा नेवारी भेषभुषामा सजिएका कलाकारहरु नेवारी धुन निकाल्न व्यस्त थिए। अघिल्लो पंक्तिमा हाकुपटासीमा सजिएका युवतीहरु बाजाको धुनमा नृत्य देखाउँदै थिए। भीडभाड छिचोलेर नजिक जाँदा जात्रामा सहभागि भइरहेका मानिसहरुको परिचय खुल्दै गयो।
जात्रामा सहभागि मध्ये एक थिइन्,अभिनेत्री वर्षा राउत। भीडभाडको पछिल्लो पंक्तिमा रहेकी उनी युवतीहरुलाई पच्छाउँदै थिइन्। मानिसहरुको भीडभाड स्क्रिप्ट समातिरहेका निर्देशन प्रदीप भट्टराई एक्सन र टेक भनिरहेका थिए। उनीहरु फिल्म ‘जात्रा’को सुटिङ गर्दैथिए।
अभिनेत्री वर्षाले ‘जात्रा’ फिल्मका कलाकार विपिन कार्कीलाई साथ दिइरहेकी थिइन्। चर्को गर्मीमा सिनेमेट्रोग्राफर दिर्घ गुरुङ निर्देशक भट्टराईको आग्रह अनुसार सर्टहरु खिचिरहेका थिए। उनीहरु जात्रामा सहभागि हुनुभन्दा दृश्यहरु कैद गर्न व्यस्त थिए । नेवारी परम्परागत टोलमा उनीहरुले कलाकारहरु विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा र वर्षा राउतबीचको दृश्य खिचे ।
‘कलाकारको लागि सबै भूमिका उत्तिकै महत्वपूर्ण हुन्छन्। असन गल्लीमा व्यापार गर्ने तीन जना पसलेको कथामा आधारित ‘जात्रा’ मा म एक पसलेको रुपमा देखिदैंछु,’कलाकार विपिनले भने,‘मेरो भूमिकालाई लिएर उत्साहित छु।’ ‘रसोमन’, ‘बुख्याँचा’,‘अटलबहादुरको आतंक’ र ‘हेडा ग्याब्लर’लगायत नाटकमा अभिनय गरिसकेका विपिनले ‘पशुपतिप्रसाद’,‘छड्के’, ‘सुन्तली’,‘कालो पोथी’ र ‘ताण्डव’ लगायत फिल्ममा अभिनय गरिसकेका छन्।  ‘नाँई नभन्नु ल–४’बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी अभिनेत्री वर्षा राउत ‘जात्रा’मा भने विपिनकी श्रीमतीको भूमिकामा देखिदैंछिन्। विभिन्न म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनले ‘छक्का पन्जा’मा समेत काम गरिसकेकी छिन्।
मह संञ्चारमा आवद्ध रहेका निर्देशक भट्टराईको ‘जात्रा’लाई षट्कोण आर्टले निर्माण गरिरहेको छ । ‘आम मानिसको कथा र भोगाई फरक हुनसक्छ। यो फिल्म तीन व्यापारीको कथा समेटिएको छ। स–सानो खुसीमा रमाउन नसक्दा आइपर्ने समस्यामाथि फिल्म केन्द्रित छ,’निर्देशक भट्टराईले भने,‘तीन व्यापारीले हाँसीखुसी जीवन काटिरहेका बेला समस्याग्रस्त एक घटनाले उथलपुथल ल्याउने घटना फिल्ममा समेटिएको छ।’ फिल्ममा मनोज राजभण्डारीले संगीत दिएका छन्।
असन क्षेत्रमा व्यापार गरेर बस्ने तीन व्यापारीको जीवनमा आधारित ‘जात्रा’ फिल्मको सुटिङ केही दिनदेखि असन आसपास भइरहेको छ। ‘हामी आफूसँगै भएको खुसीमा रमाउन नसकेर जे चीजमा सुख दिन्छ भनेर आज त्यसको पछि दौडन्छौ। भोलि त्यही उल्टो दुःख बनेर हामीलाई लखेट्छ। त्यही भावलाई केन्द्रित गरेर असन वरपर व्यापार गरेर बसेका तीन पसलेको जीवनमा आधारित रोमान्टिक विषय फिल्ममा समेटेका छौं,’निर्माता रविन्द्र सिंह बानियाँले भने। असनको पृष्ठभूमि समेटेर निर्माण भइरहेको फिल्म आगामी कार्तिक १९ मा रिलिज हुनेछ। फिल्मको एक महिने सुटिङ राजधानीको असन र इन्द्रचोक लगायतको स्थानमा भइरहेको छ।
फिल्ममा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, प्रकाश घिमिरे, प्रवीण खतिवडा, भोलाराज सापकोटा, कमलमणि नेपाल सजन थापा मगर, निलकाजी शाक्य, प्रियंका झा, मणिराम पोखरेल, सफर पोखरेल, कृष्णभक्त महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, बालदिप राई र कुमार राई लगायतले अभिनय गर्दैछन्।

 

प्रकाशित: १३ असार २०७३ १०:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App