१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

टेकु-थापाथली बाग्मती किनार सम्पदा मार्ग

काठमाडौं- काठमाडौं महानगरपालिकाले टेकुको बाग्मती–विष्णुमती दोभानदेखि थापाथली, कालमोचन घाटसम्म करिब साढे २ किलोमिटर सडकखण्डलाई 'सम्पदा मार्ग' (हेरिटेज वाकवे) बनाउन थालेको छ। पुराना सम्पदा संरक्षण गरी पर्यटन प्रवर्द्धन तथा स्वच्छ र सुन्दर नमुना क्षेत्र बनाउने भन्दै काठमाडौं महानगरपालिकाले सम्पदा मार्ग निर्माण थालेको हो।

आउँदो सेप्टेम्बरमा सक्ने गरी ठेकेदार कम्पनी लुम्बिनी रमन कन्स्ट्रक्सनले ढुंगा ओच्छ्याउनेलगायत काम गरिरहेको छ। महानगरका अनुसार मार्गमा पैदल, साइकल र ह्विलचेयर गुडाउन मिल्ने बाटो तथा चौतारी, व्यायामस्थल, फुटबल मैदान बनाइने छ। घाट व्यवस्थित गर्दै त्यस क्षेत्रमा अहिले भएका ग्यास डिपो, कार्पेट सोरुम, मोटरसाइकल वर्कसपजस्ता पसल पनि अन्यत्र सारिने योजना बनाएर महानगरले काम गरिरहेको छ। ढल व्यवस्थित र सौर्य बत्तीको व्यवस्था गरिरहेको छ।

ऐतिहासिक सम्पदा संरक्षण, प्रर्वद्धन गर्न र राजधानीवासीलाई फूर्सदको समय बिताउन वातावरणमैत्री ठाउँ उपलब्ध गराउन सम्पदा मार्ग निर्माण गर्न थालेको महानगरले जनाएको छ। मार्गले धार्मिक पर्यटक, सम्पदा पारखी, पर्यटक र ऐतिहासिक अध्ययनमा चासो राख्नेको ध्यान तान्ने महानगरले विश्वास गरेको छ। त्यसैगरी स्वच्छ र शान्त वातावरणमा बिहान बेलुकीको समय बिताउन चाहनेका लागि पनि मार्ग उत्तम विकल्प बन्ने महानगरले जनाएको छ।

'पुराना सम्पदा संरक्षण र बागमती आसपास पैदल यात्रायोग्य बनाउन सम्पदा मार्ग निर्माण सुरु गरेका हौं,' महानगरका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भने, 'टेकुबाट ५ सय मिटर भित्रको बागमती किनारमा पुरातात्विक र सांस्कृतिक सम्पदालगायत मन्दिर छन्।' निर्माणपछि मार्ग सहरको कोलाहलबाट मुक्त भएर समय बिताउने उपयुक्त विकल्प बन्ने अधिकृत तामाङको दाबी छ।

महानगरले जनाएअनुसार त्यस क्षेत्रमा शताब्दीयौंदेखि प्रयोग हुँदै आएका पुराना घाट, मन्दिर, पाटी, देवल, सत्तल तथा हिन्दु र बौद्धका मठमन्दिर र घाट छन्। तिनको संरक्षण गरेर सर्वसाधारण हिँडडुल र आराम गर्न तथा सम्पदाको अध्ययन गर्न मार्ग महत्वपूर्ण हुनुका साथै पाटन–काठमाडौं दुवै जोड्ने माध्यमसमेत बन्ने महानगरको विश्वास छ। स्थानीय समुदायले पनि मार्गलाई पदमार्गका रुपमा विकास गर्न ठूला सवारीसाधन निषेध गर्ने प्रतिबद्धता जनाएको महानगरले बतायो।

मार्गमा सन् १८६८ मा तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाले दुई पत्नी हेम र हिरण्यको नाममा बनाउन लगाएको मुगल शैलीको हेमहिरण्यजंग नारायण मन्दिर समेत पर्छ। जंगबहादुरले कोतपर्वको प्रायश्चित गर्न यो मन्दिर बनाएको र कोतपर्वमा चलाएका हतियार मन्दिरमै गाडिएको इतिहासकार बताउँछन्। इतिहासकारका अनुसार मार्गमा जंगबहादुरले बनाएका तीन वटा आश्रम पनि छन्। महानगरका अनुसार दाजु जंगबहादुर यूरोप भ्रमणमा जाँदा राजकाज सम्हालेका बमबहादुरले बनाएको शिव मन्दिर, पचली भैरवको मन्दिर पनि मार्गमा पर्छ।

सम्पदा संरक्षण र वातावरणमैत्री सम्पदा मार्ग निर्माणका लागि महानगरले टेकुदोभान–कालमोचनघाट संरक्षण तथा प्रर्वद्धन समिति पनि गठन गरेको छ। महानगरको अभियानमा सघाउन स्थानीय युवाले सामाजिक सञ्जाल फेसबुकमा 'बागमती ह्याङआउट' पेज बनाइ संरक्षणसम्बन्धी सन्देश प्रवाह गर्दै आएका छन्।

महानगरले भने मार्गलाई नमुनाको रुपमा बनाउन लागिएको जनाएको छ। महानगरले एसियाली विकास बैंकको साझेदारीमा सञ्चालित काठमाडौंमा दीगो सहरी यातायात परियोजनाको सहायतामा सम्पदा मार्ग निर्माण थालेको हो। परामर्शदाता पुनममान प्रधानका अनुसार ७ करोड रुपैयाँको लागतमा पदमार्ग बन्न लागेको हो।

प्रकाशित: १४ असार २०७३ ०२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App