coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

हाजार्डको प्रदर्शनलाई फुलमार्क

बेल्जियम युरोपियन च्याम्पियनसिपमा भएका सर्वोत्कृष्ट टिममध्ये एक हो। फिफा विश्व वरियताक्रमको दोस्रो स्थानमा रहेर टोलीले फ्रान्सयात्रा थालेको थियो। बेल्जियमका प्रशिक्षक मार्क विल्मोट्ससँग सबै पोजिसनमा विश्वका एकसेएक स्टार खेलाडीको साथ छ। इडेन हाजार्ड, केभिन डी ब्रुयेने, रोमेलु लुकाकुजस्ता सुपरस्टार खेलाडीको साथ पाएका विल्मोट्ससँग मारोउने फेलानीलाई बेन्चमा राख्ने फाइदा छ।

क्लब फुटबलमा बेल्जियमका खेलाडीहरु सबै सफल छन्। क्लब फुटबलको सफलता बेल्जियन स्टारबाट राष्ट्रिय टोलीका लागि युरोपियन च्याम्पियनसिपमा पनि रुपानान्तरण हुने अपेक्षा थियो। सबै खेलाडी व्यक्तिगत क्षमताका आधारमा आ–आफ्नो पोसिजनमा उत्कृष्ट भए पनि एउटा टिमका रुपमा बेल्जियम विश्व फुटबलमा परिपक्व टोली होइन। ठूला प्रतियोगितामा सफल नतिजा निकालेको धेरै अनुभव बेल्जियमसँग छैन। यस्तो महत्वपूर्ण प्रतियोगितामा एकखालको जित्ने वानीको ठूलो अर्थ रहने गर्छ। जर्मनी, इटाली, फ्रान्स र स्पेनजस्ता टोलीहरु कमजोर अवस्थामा पनि नतिजा ल्याउन सक्षम भइरहेका हुन्छन्। त्यो त्यही जित्ने वानीका कारण हो। बेल्जियमलाई यस्तो बानी लाग्न अझै केही वर्ष निरन्तर राम्रो प्रदर्शन गरिरहन सक्नुपर्छ।

ठूला प्रतियोगितामा सफलताको अनुभव भएन भने जति राम्रो टिम भए पनि लयमा आउन समय लाग्छ। बेल्जियमलाई युरोपियन च्याम्पियनसिपमा भएको त्यस्तै हो। समुह चरणको पहिलो खेलमा इटालीसँग हार्दा बेल्जियमको वरियता झुठोजस्तो लाग्ने अवस्था थियो। ठूलो प्रतियोगिता खेल्न लागेको मानसिक दबाबको बोझले उनीहरुलाई त्योबेला थिचेको थियो। लगत्तैको खेलमा उनीहरुले आफूलाई धेरै सुधारे। आयरल्यान्डमाथि ३–० को जित दर्ता गरेर बेल्जियमले केही हदसम्म वार्मअप गर्‍यो। समुहको अन्तिम खेलमा स्विडेनलाई १–० ले हराएर जारी युरोपियन च्याम्पियनसिपमा बेल्जियमले जित्ने वानी बसाल्यो। राम्रो टोली भएकाले पहिलो खेलमा पराजय भोगे पनि बेल्जियम तत्काल सम्हालिन सफल भयो। समुह चरणमै टोलीले लय समाइसकेको थियो।

आइतबार राती अन्तिम १६ को खेमला हंगेरीमाथि बेल्जियमबाट फराकिलो जित अपेक्षा गरिएको थियो। ४–० को नतिजा बेल्जियम स्वभाविक लयमा भएको संकेत हो। हंगेरीसँगको प्रदर्शनमार्फत बेल्जियमले आगामी चरणका लागि अन्य प्रतिद्वन्द्वीलाई चेतावनी दिएको छ।

बेल्जियमजस्तै पछिल्लो समय हंगेरीलाई पनि ठूलो प्रतियोगिताको खास अनुभव छैन। लामो समयपछि युरोपियन च्याम्पियनसिप खेलेको हंगेरी काउन्टर अट्याक र सुटिङमा खतरनाक टोली हो। समुह चरणमा पोर्चुगलसँग ३–३ को बराबरी खेल्दा उनीहरुले त्यो क्षमता प्रमाणित गरेका थिए। पोर्चुगलविरुद्ध दुई गोल गरेका कप्तान बालाज्स डुडजास्कले बेल्जियमसँगको खेलमा पनि त्यस्तो प्रयास गरेका थिए। तर पोर्चुगलसँगको खेल हेरेपछि बेल्जियम हंगेरीको त्यो क्षमताबाट सचेत देखियो। खतरनाक जोनमा बेल्जियन रक्षकहरुले विपक्षीलाई खुलेर सट हान्ने मौका सकेसम्म दिएनन्।

फुटबल आफैमा टिम खेल हो। टिम तालमेलमामात्र सफलता सम्भव हुन्छ। तर कहिलेकाँही एउटा व्यक्तिको उपस्थिती टोलीमा अपरिहार्य हुने गर्छ। एउटा खेलाडीको प्रदर्शन र प्रेरणा टोलीका लागि महत्वपूर्ण हुन्छ। आइतबारको खेलमा बेल्जियमका कप्तान इडेन हाजार्ड त्यस्तै प्रेरणादायी रहे। यो खेलको प्रदर्शनमा हाजार्डलाई फुलमार्क दिन सकिन्छ। हाजार्ड अन्तर्राष्ट्रिय खेलमा खेलाडी र कप्तानको रुपमा परिपक्व हुँदै गएका छन्। प्रत्येक खेलमा उनको परिपक्वता बढ्दै गएको छ। हंगेरीसँग उनले पहिलो दुई गोलमा अवसर मिलाएका छन् भने पछि आफैले एकल प्रयासमा उत्कृष्ट गोल गरेका छन्। हाजार्ड र टिम सँगसँगै परिपक्व हुँदै गएका छन्।

युरोपेलीहरु फुटबलमा व्यक्तिगत स्किलमा त्यतिधेरै विश्वास गर्दैनन्। उनीहरु सकेसम्म वान टचमा खेल्न रुचाउछन्। आँखालाई प्रिय लाग्ने व्यक्तिगत स्किल प्रदर्शन दक्षिण अमेरिकी फुटबलमा हुने गर्छ। तर आइतबार मैदानको पूरै भागमा छाएका हाजार्डले व्यक्तिगत स्किल पनि भरपुर प्रदर्शन गरेर युरोपेली फुटबलमा दक्षिण अमेरिकी 'फ्लेभर' मिसाए। जुन बेल्जियमका लागि थप प्रभावकारी भयो।

बेल्जियमको अहिलेको पुश्ता अन्तर्राष्ट्रिय फुटबलमा केही वर्ष छाउनेछ। उनीहरुलाई थोरैवहुत भाग्यले पनि साथ दिएको छ। जसले गर्दा उनीहरु ठूला प्रतियोगितामा स्थापित शक्ति बन्ने बाटोमा अघि बढेका छन्। अहिले धेरै टिम ४–२–३–१ को स्वरुपमा खेल्छन्। तर बेल्जियमले हंगेरीसँग ४–२–१–३ को स्वरुप अंगालेर आक्रामक रणनीति लियो। सकारात्मक सोचका साथ आक्रामक रणनीति बनाएको बेल्जियम सफल पनि भयो। केभिन डी ब्रुयेनेमात्र तीन फरवार्डको पछि थिए। तर उनी पनि आक्रमणमा जाँदा बेल्जियम धेरैजसो अवस्थामा चार फरवार्डको अवस्थामा हुन्थ्यो। क्रसहरु आउँदा एउटाले मिस गरे पनि अर्को फरवार्ड त्यहाँ हुने अवस्था थियो। जवकि उनीहरुलाई मर्किङ गर्नेमा हंगेरीले खास ध्यान दिएजस्तो देखिएन। पहिलो हाफमै एउटा प्रहार क्रसबारमा नलागेको भए बेल्जियम मध्यान्तरअघि नै २–० ले अघि हुन्थ्यो। त्यसो भएको भए अझ धेरै गोल हुन सक्थ्यो। विपक्षी धेरै आक्रामक हुँदा रक्षात्मक मिडफिल्डमा ध्यान दिनुपर्छ। तर हंगेरीले त्यसो गर्न सकेन्।

बेल्जियमका लागि आइतबार अर्को महत्वपूर्ण पक्ष भनेको फरक खेलाडीले गोल गर्नु हो। बेन्चबाट आएको खेलाडीले पनि गोल गर्न सक्दा टिमको तालमेल राम्रो भएको प्रमाण मिल्यो। यसरी फरक खेलाडीले गोल गर्न सक्दा पूरा टिमको मनोबल उच्च हुन्छ।

आइतबारै यसअघि भएको खेलमा जर्मनीले अपेक्षाअनुसारको प्रदर्शन गर्‍यो। प्रतिस्पर्धात्मक फुटबलमा कुनै पनि टोलीले एउटै खेलाडीमा भर गर्नुहुँदैन भन्ने जर्मनीका प्रशिक्षक जोचिम लोउले राम्ररी बुझेका छन्। त्यसैले उनले आइतबार मारियो गोइट्जेलाई आराम दिएर जुलियन ड्रयाक्जलरलाई पहिलो रोजाईमा राखे। मारियो गोमेज र थोमस मुलरलाई स्लोभाकियाका रक्षकले कडा मार्किङ गरेका थिए। त्यसको फाइदा ड्रयाक्जलरले मजासँग उठाए। त्यही कारण जर्मनी चाढै गोल गर्न सफल भयो। पहिलो हाफमै २–० को अग्रता लिएपछि जर्मनीलाई हराउन गाह्रो हुन्छ। ठिक विपरित स्लोभाकियाका मारेक हाम्सिक र मार्टिन स्कर्टेलजस्ता खेलाडीले पनि आफ्नो स्वभाविक खेल नखेली जर्मनीलाई बढि सम्मान दिए। जसका कारण विश्व च्याम्पियन जर्मनी ३–० को जित निकाल्न सफल भयो।

प्रकाशित: १४ असार २०७३ ०३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App