१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भूपू गोर्खा सैनिक समस्या समाधानको लागि वार्तामा बस्न बेलायत तयार

 लन्डन- भूपू गोर्खा समस्याको समाधानका लागि त्रिपक्षीय वार्तामा बस्न बेलायत सरकार राजी भएको छ। करिब २ सय बर्षदेखिको भूपू गोर्खा सम्बन्धी समस्यालाई वार्ताको माध्यमबाट टुंगोमा पुर्‍याउने नेपाल सरकारको प्रस्तावमा बेलायत सकरात्मक भएको हो।

  नेपाली दूतावास लन्डनका अनुसार बेलायत सरकारले त्रिपक्षीय वार्ताको सहजीकरणका लागि बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीलाई आग्रह गरेको छ। नेपाली दूतावास लन्डनद्वारा शुक्रवार जारी विज्ञप्तिअनुसार बेलायतको   भूतपूर्व सैनिक तथा जगेडा सम्बन्धी मामिला हेर्ने राज्यमन्त्री मार्क ल्यान्क्यास्टरद्वाराले शुक्रवार एक पत्रमार्फत उक्त आग्रह गरेका हुन्।

यस अघि भूपू ब्रिटिश गोर्खाको समस्या र समाधानका लागि परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बेलायत सरकारलाई औपचारिक पत्राचार गरेको दूतावासका प्रवक्ता शरदराज अरनद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा नेपाली दूतावासले बेलायत सरकार र गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति एवं सम्बद्ध संघसंस्थाका प्रतिनिधि सहितको सहभागितमा यथाशीघ्र वार्ता गर्न र गराउनको लागि आवश्यक समन्वय तथा सहजीकरण गर्ने दूतावास तयार रहेको उल्लेख छ।

दूतावासले गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिलाई वार्ताको वातावरण तयार गर्न समेत आग्रह गरेको छ।

यसअघि बेलायतको रक्षा मन्त्रालयले एक छुट्टै विज्ञप्ति मार्फत सोमबारदेखि आमरण अनसन बस्ने तयारी गरिरहेका भूपू गोर्खाहरुलाई  अनसन नवस्न आग्रह गरेको थियो। रक्षा मन्त्रालयको विज्ञप्तिमा भूपू गोर्खाहरुका गुनासाबारे वार्ता गर्न बेलायत सरकार तयार भएको र नेपाली दूतावाससंग वार्ता मिति तय गर्न आफ्ना कर्मचारीलाई भनिसकेको  उल्लेख छ।

भूपू गोर्खालाई बेलायती सैनिक सरह समान पेन्सन र अधिकार हुनुपर्ने, पेन्सनपछि स्वास्थ्य उपचारको व्यवस्था हुनुपर्ने, भूपू गोर्खाका विधुवालाई बेलायती सैनिकसरह पेन्सन हुनुपर्ने, बेलायती सेनामा कार्यरत हुँदा बीचैमा छोडेकालाई उपदानको ब्यवस्था हुनुपर्ने, भूपू गोर्खाका सन्तानलाई बेलायत सरकारले आवासीय भीसाको व्यवस्था गर्नुपर्नेजस्ता मागहरुका लागि भूपू गोर्खा आन्दोलनरत छन्।

 

प्रकाशित: २० कार्तिक २०७३ १३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App