coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

नयाँ शक्ति : बहसको वैचारिक रेखा

नयाँ शक्ति नेपाल गत २०७३ जेठ ३० गतेको पार्टी घोषणापछि नेपालमा वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको छ। नयाँ शक्तिले प्रारभ्भ गरेको राजनीतिक अभियानदेखि पार्टी घोषणाको दिनसम्म यसबारे धेरै टीकाटिप्पणी र प्रतिक्रिया नेपालको राजनीतिक वृत्तमा देखा परे। पार्टी घोषणापछि ती टिप्पणी र प्रतिक्रियाको सतह झन्पछि झन् बाक्लिँदै गएको छ। यो सकारात्मक पक्ष हो। राष्ट्रिय भेलाको उद्घाटन समारोह, छलफल सत्रबारे पनि धेरै चासो, आलोचना र समर्थनका लहर चल्दैछन्। यसको निरन्तरता नयाँ शक्तिको राजनीतिक यात्रा कायम रहेसम्म चलि नै रहनेछ। यो सकारात्मक पक्ष हो। नयाँ शक्तिले प्रत्येक प्रश्न र टिप्पणीको सकारात्मक जवाफ दिनुपर्छ। प्रत्येक सवालको जवाफ व्यवहार र आचरणले दिनुपर्छ। ठाडो प्रतिक्रिया र आवेगले होइन। विवेक र बुद्धिमतापूर्वक आफ्नो गन्तव्य पछ्याउन जरुरी छ। व्यक्तिगत लहड होइन, संस्थागत र जिम्मेवारीपूर्ण हुन पनि उत्तिकै जरुरी छ।

 राष्ट्रिय भेला सम्पन्नपछिका दिनहरुमा मुख्यतः नयाँ शक्ति पार्टीलाई नेपाली जनताको तहबाट सकारात्मकरूपमा केही स्पष्टोक्ति खोजिरहेका छन्। विचार, राजनीति, कार्यदिशा र संगठनात्मक पाटो मुख्य विषय भएका छन्। नयाँ शक्ति नेपालको आन्तरिक पंक्ति र बाह्य शुभचिन्तकहरु विषेशतः वैचारिक कार्यदिशामा स्पष्ट हुन अभ्यासरत् छन् भने गैरनयाँ शक्ति पार्टीका नेता, कार्यकर्ताहरु नयाँ शक्तिलाई आकलन गरेजस्तो छाम्न सकेका छैनन्। संस्थागतरूपमा विरोधमा उत्रने अवस्था, वातावरण र एजेन्डा छैन। मन त्यतै भए पनि तत्काल समर्थन जनाउन पनि सकेका छैनन्। नयाँ शक्ति नेपाल, मुलुकमा राजनीतिक पार्टी जन्मने विगतको परम्पराभन्दा भिन्न र पृथक विधि र प्रक्रियाबाट प्रारम्भ, घोषणा र स्थापना भएको छ। माओवादीबाट फुटेको दोषारोपण लगाउन डा.बाबुराम एक्लै पार्टीबाट निक्लेको सबैका अगाडि जगजाहेर छ। त्यसपछि मुलुकभरि नै किस्ता किस्तामा माओवादीहरु नयाँ शक्तिमा समायोजन हँुदै आए, अन्य पार्टी र पार्टीका नेता/कार्यकर्ता समायोजन हँुदैछन्। जेठ ३० गते सबैतिरका नदी, नाला र खहरे एकै ठाउँ थुप्रिँदा जसरी एउटा ताल बन्छ त्यस्तै परिदृष्यमा काठमाडांैको मुटुमा रहेको त्रिपुरेश्वरस्थित रंगशालामा मानव तालको बनोट विश्वबाटै प्रत्यक्ष देख्दा नेपालमा एउटा सशक्त वैकल्पिक राजनीतिक शक्तिको शुभारम्भ भएको कसैले नकार्न सक्ने अवस्था छैन। 

पार्टी घोषणाको त्यो दिनले कतिको मानसपटलमा जबर्जस्त पसिना र कतिको जीवनमा गौरवको अनुभूति प्रादुर्भाव भएको छ। अतिथिका रूपमा आमन्त्रित प्रमुख दलका नेताहरु क्रमशः शेरबहादुर देउवा, एमाले अध्यक्ष तथा प्रधान मन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका प्रतिनिधि पूर्वउपप्रधान मन्त्री कृष्णबहादुर महराले उद्घाटन समारोहको मर्यादा राख्दै शुभकामना मन्तव्यबाट नयाँ शक्ति नेपाल पार्टीलाई समकक्षीको संस्थागत मान्यता प्रदान गरे। यसै समारोहमा प्रधान मन्त्री केपी शर्मा ओलीले त्यो कार्यक्रमको जमघटबाट 'एमालेबाहेक अरुलाई धक्का पुग्ने' कूटनीतिक अभिव्यक्ति दिएबाट आयोजकहरुलाई राजनीतिकरूपमा उत्साह मिलेको थियो। यो पार्टी घोषणा कार्यक्रमले मुलुकको उत्थानको पक्षमा प्रतिबद्ध विश्वमै छरिएका नेपाली, स्वदेशी तथा विदेशी मित्रहरुलाई शिशुरूपी गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक/समावेशीसहितको लोकतन्त्रको रक्षा र संस्थागत विकासका लागि नयाँ शक्ति घोषणा र स्थापना भएको आत्मसात गर्न करै लाग्छ। नयाँ संविधान जारी र नयाँ शक्ति पार्टी स्थापना र घोषणा मुलुकलाई प्रतिगमनतिर फर्काउन खोज्ने प्रवृत्तिहरुलाई निरुत्साहित गर्ने सशक्त कदम सावित भएको छ।

 नयाँ शक्ति नेपालको राजनीतिक यात्रा जुन प्रस्थान विन्दुबाट जसरी सुरु भएको छ, यो निकै चुनौतीपूर्ण भएको यसको नेतृत्व पंक्तिलाई राम्ररी अवगत छ। चुनौती र उपलब्धि आपसमा अन्योन्याश्रित विषय हुन्। उपलब्धि प्राप्तिका लागि चुनौती सामना गर्न प्रतिबद्ध हुनैपर्छ। तर त्यसको वैचारिक गन्तव्यलाई ठीकसँग पक्रन पनि सक्नुपर्छ। त्यो गन्तव्य पक्रन समाज विकासको लामो चरणको अनुभव र चेतना अपरिहार्य हुन्छ। नयाँ शक्ति नेतृत्व पंक्तिमा विभिन्न पृष्ठभूमि र अनुभव हासिल गरेका व्यक्तित्व समाहित छन्। यस विषयमा निकै बाक्लो चर्चा पनि छ। कतिपयले यसलाई असम्भव यात्राका रूपमा चित्रण गरिरहेका छन्। सरकारी सेवा, सुरक्षा सेवा, कलाकारिता, व्यापार व्यवसायमा जीवन बिताइ निवृत्त समय व्यतीत गर्न नयाँ शक्तिमा समाहित भएको खरो टिप्पणी गर्छन्। यी टिप्पणीलाई अस्वाभाविक मान्नुहुन्न। यो असत्य होइन। तर नेपालको कुल जनसंख्यामा कति राजनीतिमा प्रवेश गरेका छन्, कति जनता बाँकी छन्, त्यो हेक्का राख्न जरुरी छ।  सकारात्मक सोच भएका प्रत्येक नेपालीले आफ्नो मुलुक निर्माण गर्न एक मुठी स्वास र एक थोपा रगत भएसम्म आफ्नो प्रतिबद्धता जनाउन पाउनु उसको नैसर्गिक हक हो। तर उसको प्रतिबद्धता जीवनको निरन्तर कर्मबाट मात्र पुष्टि हुन्छ। नेतृत्वको जीउहजुरी, नाता साइनो, शैक्षिक योग्यता वा आर्थिक पहुँच वा स्वघोषित दम्भले नयाँ शक्तिको मर्म पूर्ति गर्न सक्तैन। नयाँ शक्तिमा संलग्नताका कारण भोलिका दिनमा कोही सांसद, मन्त्री, राजदूत र राज्यका पहँुचवाला राजनीतिक नियुक्तिका पात्र बन्लान् तर नेपाली जनताको जीवन परिवर्तन गर्न सक्तैन। विगतका चक्र घुमाउन जति सजिलो छ तर त्यो चक्रको विकल्पमा नयाँ व्यवस्था निर्माण गर्न गाह्रो छ। नयाँ शक्ति साँच्चिकै नयाँ हुन यो परीक्षाको घडीमा उत्तीर्ण हुन जरुरी र अनिवार्य छ।

आफ्ना नातागोतालाई कुर्सीमा वसाल्न, छोटो समयमा पार्टीमा हालीमुली चलाउन र हामा हा मिलाएर नेतृत्वलाई कुनै घटनाविशेषमा खुसी पारेर आफ्नो स्वार्थ पूर्ति गर्ने व्यक्तिहरुको उदाहरण यो मुलुकमा औंलामा गनेर पुग्दैन, क्याल्कुलेटर नै चाहिन्छ। नयाँ शक्ति कसैको लहडबाजी र सौदाबाजीको अभियान नभएर अबको शताब्दीमा नेपाली जनता समृद्ध हुने नेपालको नयाँ राजनीतिक विचारसहितको आर्थिक समृद्धिको अभियान हो। यसको वैचारिक सूत्र पाँच 'स' लाई प्रस्थान विन्दु मानेका छौँ। राष्ट्रिय स्वाधीनता, आर्थिक समृद्धि, सदाचार, सुशासन र समानुपातिक/समावेशी अन्तरनिहित वाम–लोकतान्त्रिक मोडलको वैचारिक कार्यदिशा नै नयाँ शक्ति नेपालको गन्तव्यको प्रारम्भिक वैचारिक रेखा हो। आगामी महाधिवेशनसम्म वैचारिक विषयमा व्यापक छलफल गर्दै नयाँ वैचारिक शृंखला निर्माण गर्ने र भेलाबाट पारित अन्तरिम एवं संक्रमणकालीन पार्टीको विधानको व्यवस्थालाई प्रयोग र अभ्यास गर्दै प्रत्यक तहको नेतृत्व वडा स्तरदेखि निर्वाचनद्वारा परीक्षण हँुदै महाधिवेशनबाट केन्द्रीय नेतृत्वको निर्वाचनको अभिभारा सम्मेलन आयेाजक समितिका रूपमा भेलाबाट अनुमोदित केन्द्रीय सचिवालयलाई तोकिएको छ।

 नयाँ शक्ति नेपालको मुख्य चुनौती वैचारिक पक्ष नै हो। यो निकै वेग र तरल छ। यो जम्न र व्यवहारमा अभ्यास हुन धेरथोर समय लाग्छ। विश्वमा अठारौं शताव्दीसम्म आइपुग्दा धेरै विचारक जन्मे, वैज्ञानिक जन्मे तर सबैको विचार परिवर्नतको पक्षमा लागु हँुदोरहेनछ। विश्व व्रह्माण्ड उत्पत्तिदेखि अहिलेसम्मको स्थितिले भौतिक जगत परिवर्तनशील छ। महान् साम्यवादी विचारक कार्लमार्क्सले निर्देशित गर्नुभएका विचारमध्ये ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद विश्व समाजलाई बदल्ने एउटा अपराजय वैचारिक हतियारका रूपमा स्थापित हुँदै आएको छ। त्यसलाई सबै कोणबाट व्याख्या गर्न सजिलो छ तर त्यसको विकास र प्रयोग गर्न निकै कठिन छ। नयाँ शक्ति नेपालले तिनै कठिन बाटो रोजेको छ। कुनै वाद वा सिद्धान्तको हजार पटक व्याख्या गर्न सकिन्छ तर त्यसको प्रयोग र विकास एकै पटकले सम्पन्न हुँदैन। पटकपटकको परीक्षण र प्रयोगबाट मात्र विकास हुन्छ। विज्ञानले आविष्कारमात्र गर्दैन, आविष्कारलाई पुनः विकास पनि गर्छ, प्रत्येक विकास आविष्कार हो।  विज्ञान आविष्कार र विकास दुवैको स्रोत हो।

वर्तमान भौतिक जगतलाई तिनै विज्ञान आज प्रविधिको क्षेत्रमा, विकासको क्षेत्रमा, समृद्धिको क्षेत्रमा निर्णायक सूत्रका रूपमा चमत्कारित बनेको छ। त्यो विज्ञानका पुरानो पक्षलाई छाडेर नयाँ पक्ष पक्रिँदा मार्क्सवाद पक्रेको वा छाडेको भन्ने विवादमा नयाँ शक्तिलाई जबर्जस्तरूपमा मुछ्ने काम जुन भइरहेको छ, यो नेपाली समाज रूपान्तरणका लागि गम्भीर बाधक विषय बनेको छ। नयाँ शक्तिले भौतिक वस्तुको विकास र प्रयोगको नियमलाई आत्मसात गर्नु मार्क्सवाद पक्रेर राख्नु वा छाड्नुसँग कुनै साइनो राख्दैन। त्यसैले नयाँ शक्तिलाई विगतका आवश्यकताले निर्माण भएका पार्टीहरुसँग दाँजेर हेर्ने होइन, नेपाली जनताको वैकल्पिक राजनीतिक आवश्यकतासँग दाँजेर हेर्नु उचित हुन्छ। कुनै अमुक देशको वैकल्पिक राजनीतिको जडौरी कोट नयाँ शक्तिले लगाउँदैन, नेपालकै विशिष्ठतामा निर्माण हुने नयाँ कोट लगाउनेछ। नेपालको राजनीतिक आन्दोलनमा खारिएका, नयाँ भएर परिवर्तन हुन मन्जुर गरेका तागतले ६ महिनाको बीचमा देशभरि आफ्नो संगठन निर्माण गरी पहिलो भेला जनताको अगाडि प्रदर्शन गर्न सफल भएको छ। दिन कस्तो हुन्छ बिहानले देखाउँछ भन्ने सूत्रलाई व्यवहारबाट पुष्टि गर्न नयाँ शक्ति नयाँ भएर नेपालमा उदाउने सुनिश्चित छ। नयाँ शक्तिले के छाड्यो के पक्य्रो भन्नुभन्दा यसको वैचारिक रेखा के हो? महाधिवेशनसम्म व्यापक वैचारिक छलफल गरौं। यसको विचार र संगठन निर्माण गरौँ। यथाशक्य मुलुकलाई आर्थिक समृद्धिको थलो बनाऔँ। नयाँ शक्ति नेपालको राष्ट्रिय भेलाको मूल सन्देश यही हो।

केन्द्रीय सचिवालय सदस्य, नयाँ शक्ति नेपाल

प्रकाशित: १४ असार २०७३ ०४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App