८ वैशाख २०८१ शनिबार
समाज

नर्स थोरै हुँदा सधैं तनाव

काठमाडौं–अस्पताल पुगेका बिरामी र नर्सबीच अत्यन्तै नजिकको सम्बन्ध हुनुपर्छ । हामीकहाँ भने बिरामीको अनुपातमा नर्स कम हुँदा आपसी पे्रमको सट्टा झगडा बढ्छ । यसै कारण नर्स र बिरामी दुवैले सास्ती भोग्नुपरेको छ ।   कान्ति बाल अस्पतालको सर्जिकल वार्डमा काम गर्छिन् नर्स वन्दना अधिकारी । यो वार्डमा एकजना नर्सले कम्तीमा १५ जना बिरामी हेर्नुपर्छ । ‘अर्की नर्स नआएको बेला एक्लै २६ जना बिरामी हेर्नुपर्छ’, अधिकारीले भनिन् ।

वार्डमा शल्यक्रिया गरेका गम्भीर दुखाइका बिरामी हुन्छन्  । यस्तो बेला नर्सको बढ्तै माग हुन्छ तर सबैतिर भनेकै बेला पुग्ने अवस्था हुँदैन । ‘शल्यक्रियामा खान नपाएका बच्चा असाध्यै रोएका हुन्छन्, सबैतिर पुग्न नसक्दा भिजिटर रिसाउँछन्’, अधिकारीले भनिन् । कान्तिकै जस्तो समस्या झेल्नुपर्छ वीर अस्पतालका नर्सले पनि । गम्भीर वार्डमा बाहेक अन्यत्र एक नर्सको भागमा १५ जना बिरामी पर्छन् । अस्पतालको अंकोलोजी वार्डमा क्यान्सरका गम्भीर बिरामी हुन्छन्, हेरचाह पनि राम्रै गर्नुपर्ने हुन्छ । वार्डमा ३०जनाजति बिरामी, नर्स दुईजना मात्र । त्यसमाथि सहकर्मी बिदामा बसेको बेला झन् कठिन हुने त्यहाँ कार्यरत नर्स शीला सुवेदीले बताइन् । ‘यति सम्म व्यस्त भइन्छ कि एक कप चिया पनि पूरा खाने समय हुँदैन’, उनले भनिन् ।

डाक्टर नभएका बेला बिरामीको अवस्था एक्कासि गम्भीर हुन्छ । त्यस्तो बेलामा नर्सले ‘जीवन बचाउ’ उपचार गर्नुपर्छ । ‘एकजना डाक्टर बोलाउन जाने अनि अर्कोले ‘ब्यागिङ’ दिनुपर्छ’, सुवेदीले भनिन् । वीर अस्पतालको पेइङ वार्डमा ३० शड्ढया छन् । यो वार्डमा पनि दुईजनामात्र नर्स छन् । एक नर्सको भागमा १५ बिरामी । सहकर्मी बिदा बस्दा भने एउटैको भागमा ३० जना पर्छन् । त्यस्तो बेला बिरामी पक्षले वास्ता नगरेको गुनासो गर्ने वार्डकी नर्स सुभद्रा रेग्मीले सुनाइन् । ‘नर्सिङ विषय पढ्दा बिरामीलाई राम्रो हेरचाह गर्ने भनेर पढेका हुन्छौं, व्यवहारमा उतार्न यही कारणले सक्दैनौं’, रेग्मीले भनिन् ।

रेग्मीका अनुसार पढेअनुसार बिरामीलाई एक घन्टा समय दिएर कुरा गर्ने, नुहाइदिनेलगायतका सेवा दिनुपथ्र्यो । बिरामीको भार धेरै भएकाले ज्ञान व्यवहारमा उतार्न नर्सले सकेका छैनन् । सबैतिर दौडिँदा उल्टै नर्स थाक्ने र बिरामीले गुणस्तरीय सेवा पाउन नसक्ने रेग्मीले बताइन् । ‘घर पुग्दा बोल्नै नसक्ने अवस्था हुन्छ’, उनले भनिन् ।
बिरामीको अनुपातमा नर्स कम हुने समस्या नेपालका करिब सबै अस्पतालमा रहेको नेपाल नर्सिङ  एसोसिएसनकी अध्यक्ष तारा पोख्रेल बताउँछिन् ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार जनरल वार्डमा प्रतिनर्स ६ बिरामी, आइसियू र लेबर रुममा प्रतिनर्स एक बिरामी, अपरेसन कक्षमा प्रतिबिरामी तीन नर्स हुनुपर्छ । यो मापदण्ड नेपालले लागू गर्न नसकेको अध्यक्ष पोख्रेल बताउँछिन् । ‘एक नर्सले ३०÷४० बिरामी हेरेको अवस्था पनि छ’, उनले भनिन् । नर्स पर्याप्त नहुँदा यसको अन्तिम असर बिरामीलाई पर्न पोख्रेल बताउँछिन् । ‘निको हुन भनेर गएका बिरामी नै पीडित हुन्छन्’, उनले भनिन् ।

संवेदनशील वार्डमा नर्स कम हुँदा ठूला घटना भएका उदाहरण पनि अध्यक्ष पोख्रेल सुनाउँछिन् । ‘अपरेसन थिएटरमा नर्सको कमीले नै हो बेलाबेलामा बिरामीको पेटभित्र कैंची छुटेको समाचार आउने’, उनले भनिन् । पोख्रेलका अनुसार नर्सले बिरामीसँग राम्रोसँग कुरा गर्ने र बिरामीलाई खुसी राख्ने, नुहाइदिने, कोल्टो फर्काइदिने, मुटुको धड्कन नाप्ने, पे्रसर नाप्ने, ठीक समयमा ठीक औषधि खुवाउने, बिरामीलाई डो¥याएर हिँडाउने, बिरामीको रगत, पिसाब परीक्षणका लागि संकलन गर्नेलगायतका थुपै्र काम हुन्छन् ।

यी काम सबै पूरा भएमा मात्र गुणस्तरीय नर्सिङ सेवा हुन्छ र बिरामी छिटो निको हुनमा सहयोग पुग्छ । ‘नर्सले भर्ना भएका बिरामीलाई देउताका रूपमा सोच्नुपर्छ, अस्पताल मन्दिर’, पोख्रेलले भनिन् । बिरामीको अवस्थाबारे बिरामी पक्षलाई राम्रोसँग जानकारी दिने जिम्मेवारी नर्स र चिकित्सक दुवैको हो ।

सरकारले मापदण्डअनुसार ५० प्रतिशत नर्स पनि भर्ती नगरेकालेसमस्या यथावत् रहेको पोखे्रल बताउँछिन् । अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न २० हजार नर्स सरकारी अस्पतालमा हुनुपर्ने उनले बताइन् । स्वास्थ्य मन्त्रालय नर्सिङ सेवा शाखाकी प्रमुख ईश्वरीदेवी श्रेष्ठका अनुसार नेपालभरका सरकारी अस्पतालमा जम्मा पाँच हजार नर्स छन् ।
अर्थ मन्त्रालय, जनप्रशासन कार्यालयसँग समन्वय हुन नसक्दा अहिलेसम्म नर्सिङ दरबन्दी पूरा हुन नसकेको श्रष्ठले बताइन् । ‘कति चाहिन्छ भनेर पटकपटक सुझाव दिएका छौं, कार्यान्वयन भने हुन सकेको छैन’, उनले भनिन् । सामान्य अवस्थामा प्रतिनर्स चार बिरामी हुनुपर्ने सरकारी मापदण्ड छ । मापदण्ड सरकार आफैंले लागू गर्न नसकेको श्रेष्ठले बताइन् ।

 

प्रकाशित: २१ कार्तिक २०७३ ०२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App