७ वैशाख २०८१ शुक्रबार
अन्य

सडकले ल्याएको समृद्धि

झापा-  'अभावले निराशा र आयस्ताले उत्साह बढाउँछ' भन्ने भनाइ बाहुनडाँगी–९ बाँसेका नेत्रप्रसाद भट्टराईको जीवनमा ठ्याक्कै मेल खान्छ।  जतिबेला आम्दानीका नाममा मंसिरमा थन्क्याइने धान र जेठ असारमा भित्र्याउने मकै मात्रै थियो, त्यसबेलाको अधिकांश समय  निराशा उनको  पेवाजत्तिकै थियो। त्यसैले परिवारका अनगिन्ती आवश्यकता टुमटुम गर्दै टार्नुपर्थ्यो। तर, उनका लागि पाँच वर्षयताको जीवन 'रहरलाग्दो'  बन्दै गएको छ।

 यही गाउँमा उनले यस्तो दिन पनि गुजारे, जहाँ छोराछोरीका लागि कपडा किन्नेबेलामा गोठको गाई बेच्नुपर्‍यो। उनीहरूको स्कुलको शुल्क तिर्ने बेलामा वर्षभरी खान भनी भकारीमा भण्डार गरेको धान झिक्नुपर्‍यो। कुनैबेला २–४ पैसाका लागि छिमेकीका ७–१० घर चहार्नुपर्ने बाध्यतामा फसेका उनलाई अचेल ८–१० हजार रुपैयाँले कहिल्यै हर्जा हुँदैन।

 उनलाई यत्तिको आत्मविश्वासी तुल्याएर जीवनप्रति उत्साही पार्न प्रेरित गरेको चाहिँ उनकै घरअघि बनेको सडकले हो। सडकले घर–गाउँमा समृद्धि भिœयाउँछ भन्ने प्रमाण उनी र उनका छिमेकी बनेका छन््, जसले आफ्नो पाखाभित्ताका हरेक उत्पादनलाई अचेल यही सडकको सहायताले बजार पुर्‍याउँछन्। 'हाम्रा लागि बाँसे–गाडागल्ली–काँकडभिट्टा सडक वरदा नबनेर उदायो,' भट्टराईले सुनाए, 'यो सडक नहुँदा हामी बारीमा फल्ने काँक्रा–फर्सी गाईलाई खोले दिन्थ्यौं। अहिले बारीमै बिक्छ।'

 उनका अनुसार हिउँद होस् या बर्खा, अचेल तरकारी लिन जाने गाडी गाउँलेका खेतखेतै पुग्छन्। पैसा हातहातै दिन्छन्। 'सडकले सजिलो बनायो,' उनले थपे, 'हामीले पनि धान छाडेर तरकारी फलाउन थाल्यौं, यसले विस्तारै सबैको आर्थिक अवस्था माथि लाँदैछ।'

 गाउँ–गाउँसम्म विस्तार हुँदै गएको सडक सञ्जालले सर्वसाधारणको जीवनशैलीमा लगातार सकारात्मक परिवर्तन ल्याइरहेको छ। केही वर्षअघिसम्म पनि हातमा रुपैयाँ–पैसा पार्न टाढाको बजार धाएर अन्नपात नै बेच्नुपर्ने बाध्यताका गाउँलेको अहिले बारीमै तरकारी बिक्छ, जसले किसानको क्रयशक्ति पनि बढाएको छ।

 केही वर्षअघिसम्म गाउँका अधिकतर स्थानीको बारीमा फल्ने फर्सी घरमा पालिएका चौपायाका आहारा मात्रै बन्थे। जताततै प्रसस्त फल्ने फर्सी खाएर सकिन्न थियो, बजारमा लगेर बेच्ने सजिलो उपाय थिएन। तर, आधा दशकभन्दा यताको समय यसरी फेरियो कि ग्रामीणक्षेत्रमा सडक सञ्जालको पहँुच बढ्यो। अधिकतर किसान व्यावसायिक तरकारी खेतीमा लागे।  सडक सञ्जालको पहुँच बढेकै कारण यतिखेर झापा जिल्ल्ााका विभिन्न ग्रामीण क्षेत्रका किसान  व्यावसायिक बन्न सफल भएका छन्। यसले उनीहरूको आर्थिक हैसियत बलियो पार्दै लगेको छ।

 अहिले झापाको उत्तर–दक्षिण सबैतिर कृषि सडक वा कुनै न कुनै सडकले एक ठाउँबाट अर्को ठाउँलाई जोड्दै गएको छ। जताततै जोडिएको सडक सञ्जालले आम मानिसलाई करेसाबारीमा फलेका तरकारी होस् या खेतबारीमा फलेको अन्न, बजार पुर्‍याउन सहज बनाइदिएको छ। 'पहिले गाईलाई खोले दिने तरकारी अहिले  राम्रो दाममा बेच्छौं,' बाहुनडाँगी पाटापुरका स्थानीय याम भुजेलले भने, 'अहिले हामी सहजै बिर्तामोड पुर्‍याउन सक्ने भएका छौं।' यसबाट खेतबारी बाँझो नरहने र किसानको गर्जो पनि टर्ने गरेको उनको भनाइ छ।

 जिल्लामा सडक  सञ्जाल थपिएपछि किसान सक्रिय रूपमा व्यावसायिक तरकारी खेती तथा पशुपालनतर्फ आकर्षित भएको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ। जिल्ला विकास समिति झापाका अनुसार सबैतिर पक्की र कालोपत्रे सडक पुग्न सकेको छैन। तर,  कच्ची नै  भए पनि सडकले जिल्लाका सबै गाविस र नगरका अधिकतर ठाउँलाई छोएको छ। यसले किसानको सम्बन्ध  सोझै बजारसँग स्थापित गरेको छ। किसानले उत्पादन गरेका कृषि उपजहरू बजारसम्म लग्न सहज भएपछि देशका विभिन्न ठूला तथा साना सहरदेखि छिमेकी भारतका बजारसम्म पुग्ने गरेको कार्यालयका बाली संरक्षण अधिकृत राजेन्द्रप्रसाद खरेल बताउँछन्।

 बाटोघाटो एवम् सवारी साधनको पहँुच भए धेरै कुराको सुविधा हुने तथा कृषकले अनावश्यक सास्ती र क्षति बेहोर्नु नपर्ने खरेलको भनाइ छ। सवैतिर सडकको पहुँच पुगेकै कारण किसानले आफ्ना बारीमा उत्पादन गरेका कृषि उपजलाई सजिलै बजारसम्म पुर्‍याउन सक्ने, बजार पुर्‍याउन सकेपछि मेहनतअनुसारको मूल्य पाउने गरेका छन्। कृषकले आफ्ना बस्तु सजिलै बजार पुर्‍याउन सके बीचमा बिचौलियाले खान नपाउने खरेलको तर्क छ।

 उनका अनुसार जिल्लाको दक्षिणी पाँचगाछी, राजगढ, चकचकी, घेराबारी, शरणामती, पूर्वाेत्तर बाहुनडाँगी, शान्तिनगर, बुधबारे, खुदुनाबारीलगायतका गाविसहरूमा धेरैले व्यावसायिक रूपमा तरकारी खेती गरेका छन्। व्यक्तिगत तथा समूहगत रूपमा त्यहाँ करिब डेढदेखि २ सय हेक्टर जमिनमा व्यावसायिक तरकारी गरिएको  छ। यहाँ उत्पादन भएका ८० प्रतिशत तरकारी बिर्तामोडस्थित कृषि थोक बजारसम्म पुग्ने र त्यहाँबाट भारतका विभिन्न बजारसम्म लैजाने गरिएको छ। सडक बनेर गाडी समेत कुद्न थालेपछि धेरै किसानले समूहगत रूपमा तरकारी ढुवानीका लागि गाडीसमेत खरिद गरेका छन्।

 'सडकको पहुँच पुगेपछि व्यावसायिक रूपमा राम्रो आम्दानी हुन थालेको छ,’ पूर्वाेत्तर बाहुनडाँगी ५ का कृषक बचन राईले भने, 'पहिले कुहिएर जाने तरकारीसमेत बाटोघाटो बनेर गाडी कुद्न थालेपछि राम्रो मूल्यमा गाउँमै बिक्री हुन थालेको छ।' उनका अनुसार सुरुमा मान्छेलाई बोकाएर वा राँगागाडीमा हालेर बजार लैजानुपर्थ्याे। अहिले  ग्रामीण क्षेत्रमा सडक सञ्जालको पहँुच बढेसँगै ढुवानीका साधन पनि बारीबारीमै पुग्न थालेका छन्। 'सडकले मानछेको जीवनमा समृद्धि ल्याउँदोरहेछ,' बाहुनडाँगीस्थित पवित्र निमाविका प्रधानाध्यापक लीलाप्रसाद न्यौपाने भन्छन्, 'राज्यले सडकमा पर्याप्त लगानी गर्ने हो भने सर्वसाधारणले त्यसको प्रत्यक्ष फाइदा लिनेरहेछन्।'

प्रकाशित: १४ असार २०७३ ०४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App