८ वैशाख २०८१ शनिबार
अन्य

सौर्य बत्तीले सडक झिलिमिली

नेपालगन्ज- विद्युत लोडसेडिङले सम्साँझै अन्धकार हुने नेपालगन्जका सडक यतिखेर झिलिमिली बनेका छन्। चारलेन सडकको पुष्पलाल चोकदेखि गणेशमान चोकको बीच भागमा सडक बत्तीले अचेल स्वरूप फेरिएको छ। विद्युत प्राधिकरणले वितरण गरेको विद्युतबाट नभई सौर्य ऊर्जाबाट यो काम सम्भव भएको हो। ‘लोड सेडिङ भए पनि अब टेन्सन छैन,’ बीपी चोकका एक व्यापारीले भने, ‘सौर्य सडक बत्ती जडान भएपछि हिँडडुल गर्न सजिलो भएको छ।’ 
 पछिल्लो समयमा नेपालगन्जमा अत्यधिक मात्रामा विद्युत लोडसेडिङ हुने गरेको छ। विद्युत लोड सेडिङले गर्दा नेपालगन्ज उपमहानगर क्षेत्रका सडक सुनसान हुन्छन्। लोड सेडिङको मौका छोपेर रातको समयमा सडकमा हिँड्ने महिला चोरी र लुटपाटको घटनामा समेत पर्ने गरेका छन्। विद्युतको विकल्प स्वरूप उपमहानगरपालिका कार्यालयले सौर्य सडक बत्तीको परिकल्पना गरेको हो। 
 पहिलो चरणमा पुष्पलाल चौकदेखि गणेशमान चौकबीच भागमा ७० सेट (पोल, सोलार प्यानल, ब्याट्री र बत्ती) सडक बत्ती जडान गर्न लागिएको उपमहानगरपालिकाका कार्यकारी अधिकृत हेमराज भुसालले जानकारी दिए। पहिलो चरणमा ७३ लाख रूपैयाँको लागतमा चालू वर्षको लागि ७० वटा बत्ती जडान गर्ने योजना रहेको उनले बताए। यस पटक उपमहानगरपालिकाको १६ लाख रूपैयाँ लगानी छ। आगामी वर्षबाट अत्यावश्यक ठाउँमा थप्दै जाने भुसालले सुनाए। 
 वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ८० प्रतिशत र उपमहानगरपालिकाको २० प्रतिशत लगानीमा  सडक बत्ती जडान गर्न लागिएको हो। यही असार मसान्त भित्रमा बत्ती जडानको काम सम्पन्न गरिसक्ने लक्ष्य रहेको छ। बत्ती जडान गर्ने जिम्मा सौर्य ऊर्जा प्रालिले लिएको छ। ‘सडक बत्तीका लागि सौर्य ऊर्जा प्रालिले एक वर्षको ग्यारेन्टी दिएको छ, कुनै समस्या आउने वित्तिकै मर्मत उसैले गर्ने हो,’ कार्यकारी अधिकृत भुसालले भने। जडान कार्य सम्पन्न भइसकेका बत्ती बाल्न सुरु गरिएको छ। यसबाट सडकमा हिँड्ने सर्वसाधारणदेखि यातायात साधनलाई समेत सहज भएको उपमहानगरपालिकाको दाबी छ। ‘लोडसेडिङ समस्या बढ्न थालेपछि एकातिर विद्युतको विकल्प खोजिएको हो, अर्कोतिर सौर्य ऊर्जाको प्रवर्द्धन गर्ने सरकारको उद्देश्य पनि हो,’ भुसालले भने। नेपालगन्ज मध्यपश्चिमाञ्चल विकास क्षेत्रको प्रमुख व्यापारिक केन्द्र हो। पछिल्लो समयमा विस्तार भएका सडकले यहाँको स्वरूप परिर्वतन गरेको छ। तर, सडक बत्तीको विस्तार भने पर्याप्त मात्रामा हुन नसकेको व्यवसायीको गुनासो छ। 
 नेपालगन्ज उद्योग वाणिज्य संघ अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले लोड सेडिङ समस्याले बजार क्षेत्र पूरै अन्धकार भइरहेको अवस्थामा उपमहानगरपालिकाले सुरुवात गरेको सौर्य सडक बत्ती जडान कार्य सकारात्मक भएको प्रतिक्रिया दिए। ‘यसले शान्ति सुरक्षामा ठूलो राहत पुगेको छ, सीमित ठाउँमा मात्र नभएर बजारका विभिन्न भागमा पनि जडान गरियो भने थप राहत मिल्थ्यो,’ उनले भने। थप स्थानमा सौर्य सडक बत्ती जडान गर्न उद्योग वाणिज्य संघले पनि सहकार्य गर्न सक्ने अध्यक्ष श्रेष्ठले बताए।

प्रकाशित: १४ असार २०७३ ०४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App