coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको हातमा महाशक्ति लगाम

काठमाडौं- ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने नारासाथ रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको चुनावी मैदानमा उत्रिएका डोनाल्ड जे. ट्रम्प प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई हराउँदै 'महाशक्ति मुलुक' अमेरिकाको लगाम हात पार्न सफल भएका छन्।

ट्रम्पले ४५ औं राष्ट्रपतिका रुपमा जनवरी १५ बाट पदको शपथ लिनेछन्। राष्ट्रपति पदका लागि मंगलबार भएको निर्वाचनको परिणाम बुधबार सार्वजनिक भएको हो।

ट्रम्पको जितमा धेरैले आश्चर्य व्यक्त गरेका छन्। उनको जितलाई लिएर सोसल मिडियामा आश्चर्य पोखिएको छ। चुनावी परिणाम सार्वजनिक भएलगत्तै उनले कसरी जिते भन्ने विविध कोणबाट विश्लेषण थालिएको छ।

विश्लेषकहरूले ट्रम्पको जितलाई ‘घृणा बिक्री भएको’ रुपमा अर्थ्याएका छन्। उनले जातिवादी घृणा, स्त्री द्वेष, कट्टरतासँगै राष्ट्रवादको घोल मिसाएर यो जित हात पारेको न्युयोर्क टाइम्सले आफ्नो सम्पादकीय टिप्पणीमा लेखेको छ। उनले अति दक्षिणपन्थी, षड्यन्त्रको सिद्धान्तमा विश्वास गर्ने र श्वेत जातिको प्रभुत्व कायम गर्न खोज्नेलाई चुनावी अभियानमा मज्जैले उपयोग गरेको देखिएको छ।

व्यापार र जीवनको सफलताबारे १६ वटा पुस्तक लेखिसकेका ट्रम्प अमेरिकाका एक मात्र यस्ता राष्ट्रपति बनेका छन्, जो जीवन चलाउन ‘लेनदेनको कला’ हुनुपर्ने र त्यसैले सफलता दिलाउने विश्वास राख्छन्। मतदाताले विगतमा प्रशासन चलाएको अनुभवभन्दा पनि अमेरिकालाई प्रभावशाली बनाउन नयाँ ढंगबाट सोच्ने र काम गर्ने व्यक्ति चाहेको सन्देश दिएका छन्।

पुस्तक लेख्नु र व्यावसायिक सफलता पाउनुजत्तिको सजिलो देश र अझ भनौं संसार चलाउनु पक्कै हुँदैन। तर उनका समर्थक के कुरामाा विश्वस्त छन् भने या त उनले निकै राम्रो राष्ट्रपतीय समय व्यतीत गर्ने छन् या सबैभन्दा खराब।

आर्थिक असुरक्षा जितको अस्त्र

पछिल्लो समयमा चीनको बढ्दो प्रभाव, उसले गरेको आर्थिक प्रगति र अमेरिकी बजारमा चिनियाँ सामग्रीको बाहुल्यताले जुन वर्गलाई चिन्तित बनाएको थियो, त्यसलाई ट्रम्पले मज्जैले उपयोग गरे। श्वेत, अश्वेत, ल्याटिनी, पुरुष, स्त्री, गाउँले, सहरिया सबै किसिमको पृष्ठभूमिका जनता चिनियाँ प्रभुत्व र खोसिँदो अवसरप्रति चिन्तित थिए। उनीहरू आफ्नो आर्थिक भविष्य सुरक्षित कसरी गर्ने  भन्ने चिन्तामा थिए। सन् २००८ देखि अमेरिका निरन्तर आर्थिक मन्दीको चपेटामा परिरह्यो। अमेरिकाले सन् १९२० को दशकमा झेलेको ‘ग्रेट डिप्रेसन’ जत्तिकै यो लामो आर्थिक मन्दीले सर्वसाधारणमा चिन्ता थपिदिएको थियो। ठूलो संख्याले आर्थिक मन्दीकै कारण गरिब हुनुपरेको ‘पीडा’ भोगिरहेको छ। अधिक अमेरिकीको यो चिन्तालाई रिपब्लिकन र डेमोक्रेटिक दुवै पार्टीले महत्वसाथ चुनावी मुद्दा बनाए।

ट्रम्पले सबै वर्ग र समूह तथा समुदायमा चिन्ताजनक अवस्थामा रहेको आर्थिक अवस्थालाई राम्रैसँग सम्बोधन गर्न खोजे। ट्रम्प आप्रवासीले अमेरिकी जनताको जागिर खोसेको र राष्ट्रपति बाराक ओबामा कारखाना खोल्नुको साटो अन्य देशसँग व्यापार सम्झौता गरी अमेरिकालाई बेफाइदा हुने काममा लागेको भन्दै सर्वसाधारणको मन तान्न सफल भए। ओबामाले गरेको व्यापार सम्झौताबाट कसरी फाइदा लिन सकिन्छ भन्ने सर्वसाधारणको चासो र चिन्ता सम्बोधन गर्नेतर्फ डेमोक्रेटिक पार्टीका नेताहरूले खासै ध्यान दिएनन्। क्लिन्टनले यसको फाइदाबारे व्यवहारवादी सोच प्रस्तुत नगरेकी होइनन् तर उनका कुरालाई मतदाता थुम्थुम्याउने असफल प्रयासका रुपमा लिइयो। चुनाव जित्न जस्तोसुकै हत्कन्डा अपनाउने महिलाका रुपमा उनको चित्रण भइदिँदा मतदातामा व्यवहारवादी सोचप्रति भरोसा जाग्न सकेन।

बिकाउ समाचारमा मिडिया

जे बिक्छ, त्यही देखाउने होडका कारण मिडियाले सुरुआती चरणमा ट्रम्पलाई बढी ठाउँ दिएको केही विज्ञको धारणा छ। भोलि उनले के गर्छन् भन्ने अनिश्चितता, त्यसको मिडिया मूल्यजस्ता कुराले विज्ञापन पाउने होडबाजीमा लागेका टेलिभिजनले सुरुआती दौडमा उनलाई नचिनेका माझ पनि चिनाउने मौका दिए। बितेका १८ महिनामा ट्रम्पलाई देखाउन, बोलाउन मिडियाले  होडबाजी नै गरे। अमेरिकी राजनीतिमा यसअघि कहिल्यै ट्रम्पजस्तो अनौठो चरित्र देखिएको थिएन। त्यसैले मिडिया उनीप्रति आकर्षित हुन पुगे। अपेक्षाअनुरुप मनोरञ्जन दिलाउन ट्रम्प पनि कहिल्यै पछि परेनन्। अर्कोतर्फ, ट्रम्पले प्रस्तुत गरेका कतिपय मिथ्यांकको समुचित चिरफार हुन सकेन। ट्रम्पका मिथ्यांकलाई मतदाताको तहसम्म पुर्‍याउन हिलारी समूह असफल रह्यो।

यसपटकको चुनावमा अर्को महŒवपूर्ण पाटो सोसल नेटवर्किङ साइट रह्यो, जहाँ पाठक वा समर्थकले जे सुन्न वा जान्न खोजेको हो, त्यही मात्र लाइक गरेर बसिरहे। गलत कुरालाई डटेर बहस गर्ने र सत्य कुरालाई छलफलको सतहमा ल्याउने कुरामा दुवै पक्ष उदासीन रहे। यसैगरी पार्टीले पनि ट्रम्पलाई पहिले नै नाथ्री लगाएर रोक्न सक्नुपर्थ्यो, सकेन। यति निरीह त रिपब्लिकन यसअघि कहिल्यै नभएको स्पष्ट देखियो। सोही कमजोरीलाई ट्रम्पले बारम्बार दोहन गरिरहे।

यो चुनावको एउटा मात्रै राम्रो पक्ष दक्षिण अमेरिकीमूलका हिस्पानिक मतदाताले बढीभन्दा बढी मतदान गरे तर अश्वेत बाराक ओबामालाई मत दिन जति सक्रिय भएका थिए, उति हिलारीप्रति भएनन्। डेमोक्रेटिकका पक्षमा हिस्पानिक लहरजत्तिकै अश्वेत जागृत भइदिएका भए परिणाम फरक देखिने थियो।

ट्रम्पका मुद्दा

ट्रम्पले निर्वाचनमा मुख्यतः पाँचवटा मुद्दालाई केन्द्रमा राखेका थिए। पहिलो मुद्दा आप्रवासी अमेरिका ओइरिएका कारण रैथाने अप्ठेरोमा परेको चिन्ता उनको थियो। उनले प्रचारक्रममा भनेका थिए, ‘मेरो मुख्य रुचि भनेको अमेरिका र अमेरिकीलाई प्राथमिकता दिने हो।' उनले सुरुमै दक्षिण सीमातर्फ ठूलो पर्खाल उभ्याउने र शरणथलो निमिट्यान्न पार्ने बताएका थिए। अपराध गरी अमेरिका लुक्नेलाई देश फर्काउने उनको कुराले निकै ठूलो हलचल मच्याएको थियो। यस्तै गर्भपतनविरोधी टिप्पणी उनको थियो। उनको भनाइ थियो, ‘बलात्कारजन्य गर्भबाहेकलाई सरकारले आफ्नै गोजीबाट गर्भपतन गराउने काम बन्द गर्नुपर्छ।’ यसैगरी बन्दुक राख्न पाउने अधिकारको पैरवी गरेका थिए उनले। आतंकवादी आक्रमण हुने वा गराउने मुलुक वा समूहप्रति उनी अनुदार देखिएका थिए। कर दरमा १५ प्रतिशतले कटौती गर्ने र कतिपय समुदायलाई त शून्य प्रतिशत करमा झार्ने मुद्दा उनले उठाएका थिए।

स्वास्थ्यनीतिलाई अमेरिकामा सबैभन्दा चासोपूर्वक हेरिन्छ। उनले ओबामाले ल्याएको ‘ओबामा केयर’ लाई असफल भन्दै आलोचना गरेका थिए। रोगीकेन्द्रित स्वास्थ्य सेवा प्रणाली हुनुपर्ने उनको भनाइ छ। यस्तै अर्थतन्त्र र रोजगार वृद्धिका लागि उनले व्यापार नीति, कर नीति सरल बनाउनेदेखि अमेरिकामा नै लगानी गर्ने, कारखाना निर्माण गर्नेलगायत नीति उनले लिएका छन्।

ट्रम्पका कीर्तिमान

जनवरी २० मा ४५ औं राष्ट्रपतिका रुपमा शपथ लिँदा ट्रम्प ७० वर्षका हुनेछन्। १९४६ जुन १४ मा जन्मिएका उनले तीन विवाह गरेका छन्। उनी पछिल्लोपटक मेलेनियासँग २००५ मा वैवाहिक सम्बन्धमा गाँसिएका हुन्। उनी बहुविवाह गर्ने पहिलो राष्ट्रपति भएका छन्। मेलेनिया स्लोभेनियामा जन्मिएकी हुन्। अमेरिकी इतिहासमा यसअघि राष्ट्रपति जोन एडम्सकी पत्नी लुजिया बेलायतकी थिइन्।

चुनावमा कम चन्दा उठाएर राष्ट्रपति हुने श्रेय ट्रम्पलाई नै गएको छ। ब्लुमवर्ग म्यागेजिनको आंकलन अनुसार ट्रम्पले ८३.९ मिलियन डलर चुनावी खर्च देखाएका छन्। उनले निजी खाताबाट ५० मिलियन डलर खर्च गरेको बताएका छन्। उनले जम्माजम्मी ४१ मिलियन चन्दा जम्मा गरेका थिए। क्लिन्टनले भने करिब एक सय ७१.६ मिलियन डलर चन्दा उठाएकी थिइन्। ओबामाले पाँच सय ५६ मिलियन र अल गोरले एक सय २५ मिलियन डलर चुनावमा खर्च गरेका थिए।

अन्य तहका कुनै पनि चुनाव नलडी सीधै राष्ट्रपति हुने कीर्तिमान पनि ट्रम्पको भागमा परेको छ। यसअघि उनी कुनै राज्यमा गभर्नर भएनन्, कुनै सरकारी उच्च पदमा पुगेनन्। राजनीतिक र प्रशासनिक अनुभवबिना पनि राष्ट्रपति हुन सकिने नजिर ट्रम्पको विजयबाट बनेको छ।

सर्भे गर्ने चित खाए

ट्रम्प र क्लिन्टनबीच चुनावी प्रतिस्पर्धा हुने निश्चित भएलगत्तै ६७ वटा विभिन्न सञ्चार माध्यमले देशभरि नै लगातार सर्भे गरिरहे। अधिकांश सर्भेले क्लिन्टनले थोरै अन्तरले जित्ने देखाएका थिए। लस एन्जल्स टाइम्स पत्रिकाले मात्र ट्रम्पले जित्ने सम्भावना देखाएको थियो।

इन्टरनेट सर्भेका कारण यस्तो नतिजा आएको हो। लस एन्जल्स टाइम्सले भने मान्छे–मान्छेबीच सर्भे गराएको थियो। कतिपय सर्भेमा ट्रम्पका समर्थकले क्लिन्टनको समर्थन गरेको समेत देखिएको थियो। यस्तै क्लिन्टनको इमेल एफबिआईले जाँच गर्ने र तत्काल सफाइ दिनेजस्ता निर्णयले पनि चुनाव नतिजालाई असर पारेको अनुमान छ।

नेपाललाई असर पर्ला?

नेपालस्थित अमेरिकी दूतावासमा गरिएको एउटा नमुना मतदानले नेपालीलाई ट्रम्पविरोधी देखायो। यो नमुना मतदानमा ट्रम्पले हारे पनि उनले लिने नेपाल नीतिमा खासै फरक पर्दैन। यसअघिका अमेरिकी राष्ट्रपतिले लिएको नेपालनीति नै ट्रम्पको हुनेछ। उनले कडा नीति लिए भने अमेरिकामा अनधिकृत  बसोबास गरिरहेका नेपालीलाई असर पर्नेछ। त्यस्तो अवस्था आए उनीहरूसामु फर्कनेबाहेक अन्य उपाय बाँकी रहनेछैन।

(एजेन्सी सहयोगमा)

प्रकाशित: २५ कार्तिक २०७३ ०१:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App