coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

चायवाला

नेपालकी एक किशोरी एकाएक दक्षिण एशियाकै 'साइबर सुन्दरी' बन्न पुगेको घटनाले सामाजिक सञ्जाल तातिरहेको छ। तरकारी बोकेर पुल तरिरहेकी उक्त किशोरीको तस्बिर 'तरकारीवाली' भन्ने नामले विश्व प्रशिद्ध भएको रहेछ। नेपालको तरकारी विश्व प्रशिद्ध नभए पनि 'तरकारीवाली' विश्व प्रशिद्ध हुनु हाम्रा लागि गौरवकै विषय हो। योभन्दा केही समयअघि पाकिस्तानका एक युवकको तस्बिर पनि 'चायवाला' नामले यसरी नै विश्व प्रशिद्ध भएको थियो। अब केही केही बुद्धिजीवीको अनुमान के छ भने पाकिस्तानको त्यही 'चायवाला' लाई प्रतिउत्तर दिन भारतले हाम्रो 'तरकारीवाली' लाई मैदानमा उतारेको हो। अहिले दक्षिण एशियाको साइबर संसारमा यही 'चायवाला' र 'तरकारीवाली' को सञ्जाल युद्ध चलिरहेको छ।

नेपालका प्रधान मन्त्रीहरूलाई बालुवाटारको भन्दा दिल्लीकै चिया मीठो लाग्छ। नलाग्नु पनि कसरी, आखिर त्यो बनाउने अरु कोही नभएर चायवाला श्री नरेन्द्र मोदी जो हुनुहुन्छ।

बुद्धिजीवीहरूको यो अनुमान सुनेर मेरो मनमा प्रश्न उठिरहेको छ, आखिर पाकिस्तानको उक्त 'चायवाला' सँग भारतको किन यत्रो दुश्मनी? भारतको दुश्मनी त पाकिस्तानको राज्यसँग हुनुपर्ने हो। विचरा एउटा सामान्य चायवालासँग केको दुश्मनी? भारतको यो दुश्मनीबारे मैले धेरैबेर सोचेँ। के होला यो दुश्मनीको सार? के भारतले अब पाकिस्तानी सरकारसँग दुश्मनी गर्न नसकेर एउटा चायवालासँग दुश्मनी गर्न पुगेको हो? सोच्दा सोच्दा म झल्याँस्स भएँ। ठ्याक्कै केही भेटिएजस्तो भयो। वास्तवमा हो नि, पाकिस्तानी 'चायवाला'सँग भारतको दुश्मनी हुनु त स्वाभाविकै हो। त्यो किनभने भारतका वर्तमान प्रधान मन्त्री नरेन्द्र मोदी जो हुनुहुन्छ, कुनै बेला उहाँ आफै पनि एक चायवाला नै हुनुहुन्थ्यो। उहाँ आफँैले भन्नुभएको छ, म पनि कुनै बेला ठेलामा राखेर 'चाय' बेच्ने गर्थेँ। उहाँ आफैँले भनेपछि हामीले कसरी नपत्याउने? त्यतिबेला केही भारतीय पत्रिकाले लेखेका पनि याद भयो। कुनै बेला उहाँ भारतको एक नम्बरी चायवाला हुनुहुन्थ्यो। शायद 'चाय' बनाउन उहाँलाई कसैले पनि सक्दैनथ्यो।

मलाई त के लाग्छ भने प्रधान मन्त्री नरेन्द्र मोदी पहिलेमात्र होइन अहिले पनि उत्तिकै तगडा 'चायवाला' हुनुहुन्छ। उहाँको 'चाय' प्रति अझै पनि धेरै मानिस आकर्षित भएको हुनुपर्छ। अरुको त भन्न सक्दिन, हाम्रो नेपालका नेताहरूचाहिँ अहिले पनि उहाँको 'चाय' को अत्यन्त ठूलो फ्यान हुनुहुन्छ। त्यसैले उहाँले बनाएको एक कप चाय खान हाम्रा नेताहरू काठमाडौंदेखि दिल्लीसम्म दौडिरहेका हुन्छन्। एक कप चियाका लागि काठमाडौंदेखि दिल्लीसम्म दौडिनु सानो कुरा हो? नेपालमा जोसुकै नेता आओस्, प्रधान मन्त्री हुनेबित्तिकै सबैभन्दा पहिले उहाँकै 'चाय' खान दिल्ली पुग्छन्। नेपालका प्रधान मन्त्रीहरूलाई बालुवाटारको भन्दा दिल्लीकै चिया मीठो लाग्छ। नलाग्नु पनि कसरी, आखिर त्यो बनाउने अरु कोही नभएर चायवाला श्री नरेन्द्र मोदी जो हुनुहुन्छ।

अरुको के कुरा, बिरामी परेर औषधि गर्न गएका नेताहरूसमेत उहाँको एक कप चाय खान नपाउन्जेल अस्पतालबाटै डिस्चार्ज हुन मान्दैनन्। शायद उहाँहरूलाई यस्तो लाग्दो हो, अस्पतालको औषधिले भन्दा पनि मोदीजीको चायले रोग निको पार्न सक्छ। दिल्लीसम्म गएर चाय खानुपर्छ र भन्ने आलोचना होला भनेर होला, नेताहरू कोही उपचार गर्ने, कोही बजार जाने, कोही ससुराली जाने, कोही भोज खाने, कोही सेमिनारमा भाग लिने त कोही कुतुब मिनार हेर्ने बहानामा सुटुक्क दिल्ली पुगेर उहाँको चिया खाएर खुरुक्क फर्कने गर्छन्। नमीठो चिया भए त्यसरी लुकीलुकी भए पनि सुटुक्क सुटुक्क दिल्ली गएर पिउँछन् होला त? अहिले भर्खरै पनि गोवाको सेमिनारमा भाग लिन गएका कांग्रेस सभापति शेरबहादुर देउवाले पनि फर्कँदा दिल्ली गएरै मोदीजीको चाय खानुभयो। अहिले त भारतमा पतञ्जली चाय पनि आएको छ। मोदीजीले प्रयोग गर्ने पत्ति पनि शायद पतञ्जली चायकै हुनुपर्छ। त्यसैले अब नेताहरू योगा गर्ने बहानामा पनि एकाबिहानै दिल्ली पुगेर चाय खान बेर छैन।

यसबाट प्रस्टै थाहा हुन्छ, प्रधान मन्त्री नरेन्द्र मोदी अहिले पनि उत्तिकै मीठो चिया पकाउनुहुन्छ। उहाँको चियामा के त्यस्तो शक्ति छ थाहा छैन जसले हाम्रा नेतालाई सधँै त्यही चिया खाउँखाउँ बनाइदिएको छ। चिया त नेपालमा बगानै बगान छ नि। तैपनि नेताहरूलाई मोदीकै हातको चिया चाहिने। मोदीजी राजनीतिकरूपले भलै भारतको प्रधान मन्त्री नै हुनुभए पनि पेशागतरूपले अझै पनि एक पक्का 'चायवाला' नै हुुनुहुन्छ। उहाँको चायवाला क्षमतामा अझै कुनै कमी आएको छैन। हाम्रा नेताहरू नै यसका प्रमाण हुन्। पाकिस्तानी 'चायवाला' सँग भारतको दुश्मनी परेको पनि शायद यही कारणले हुनुपर्छ। आखिर एउटा 'चायवाला' को दुश्मनी अर्को 'चायवाला' सँग नै हुने हो। भारतीय 'चायवाला' को सामु पाकिस्तानले अर्को 'चायवाला' खडा गरेपछि दुश्मनी पर्नु स्वाभाविकै भयो। बरु यी दुई 'चायवाला' हरूको युद्धमा हाम्री 'तरकारीवाली' लाई प्रयोग गरेको पो डरलाग्दो भो।

प्रकाशित: २६ कार्तिक २०७३ ०४:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App