coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

'तरकारीवाली'द्वारा लम्फु रिजेक्ट

गोरखा- तरकारीवाली कुसुम श्रेष्ठले फेसबुक र अनलाइनमा आएका समाचारहरुमा पाठकले दिएको सुझावअनुसार तत्काल फिल्म नखेल्ने बताएकी छन्। तरकारी बोकेको तस्विरबाट सामाजिक सञ्जाल हुँदै एकाएक सञ्चारमाध्यामबाट चर्चाको शिखरमा पुगेकी उनले सबैको अपेक्षा र चाहनाअनुसार फिल्म सुरु गर्ने योजना नबनाएको बताइन्।

उनको चर्चा एकाएक चुलिएपछि 'लम्फु' फिल्मको प्रस्ताब उनलाई गएको थियो। फिल्मको प्रस्ताबपछि उनले इच्छा भएको र घरमा सल्लाह गरेपछि मात्रै निर्णय दिने बताएकी थिईन। 'मलाई समाजिक संञ्जालमा तत्काल फिल्म नखेल्न सुझाब दिएकाले अहिले योजना बनाएकी छैन' कुशुमले भनिन्। उनले उच्च शिक्षा सकेपछि त्यसतर्फ सोच्ने बताईन। 'करियर' बनाउने बेला हो पहिले पढ्छु अनि फिल्मको कुरा सोच्छु भन्दै श्रेष्ठले तत्काल कुनैपनि फिल्म नखेल्ने बताईन। मनमा फिल्मी क्षेत्रप्रतिको इच्छा भने रहेको उनले सुनाईन।  

उनलाई भेट्न फिस्लिङ पुगेका निर्माता शक्तिबल्दव घोरासैनीले सुझाव दिने पाठकले नै चर्चाको शिखरमा पुर्‍याएकाले दिएको सुझावलाई ध्यान दिनु जायज भएको बताए। उनले भने- 'हामीले फिल्मका लागि प्रस्ताव गरेका हौं, उहाँले सामाजिक सञ्जाल प्रयोगकर्ताको सुझावअनुसार पहिले पढाइ सक्ने भन्नुभो, हामी कक्षा १२ मा पढाउन र बीबीएस पनि पढाउन सहयोग गर्छौं, त्यसका लागि उहाँले फिल्म खेल्नु पर्दैन।'

उनलाई कक्षा १२ र मेघा कलेजमा बीबीएस पढेको खण्डमा सबै शुल्क तिर्ने निर्माण घोरासैनीले बताए। उनीसँगै निर्देशक गोपालचन्द्र लामिछाने पनि कुसुमलाई भेट्न पुगेका थिए। उनले फिल्म खेल्नुपर्छ भनेर भेट्न नआएको बताउँदै उहाँलाई फिल्मबाहेक पठनपाठनमा सहयोग गर्न आफ्नो टिम फिस्लिङ आएको बताए।

'फिल्म खेल्नुपर्छ भन्ने होइन, तपाईँलाई सहयोग गर्नु हाम्रो धर्म हो, हामीले प्रस्ताव गरेका हौँ,' उनले भने। फिल्म निर्माण गर्ने मात्र नभई सामाजिक काममा पनि सहयोग गर्दै आएको उनले सुनाए। यसअघि पनि निर्माता निर्देशक घोरासैनी र लामिछानेले निर्माण गरेको फिल्मबाट बचेको पैसाले पढाईमा सहयोग गर्ने, च्यारिटी सोबाट आएको पैसा विद्यालय निर्माणमा खर्च गर्नेजस्ता सामाजिक काममा पनि सहयोग गर्दै आएका छन्।

फिल्ममा नरहेपनि कसुमलाई लम्फु टिमले कक्षा १२ मा पढ्नका लागि भने सहयोग गर्ने भएको छ। चितवनमा कक्षा ११ मा पढ्दै गरेकी उनलाई कक्षा १२ मा पढ्दा लाग्ने सम्पूर्ण खर्च सहयोग गर्ने निर्माता घोरासैनीले बताए। कुसुमले निस्वार्थ भावना राखेर गरिएको उक्त सहयोगप्रति लम्फु टिमलाई धन्यवाद भनेकी छन्।

प्रकाशित: २६ कार्तिक २०७३ ०५:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App