१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

बाढी आउँदा ढुंगा टिप्नेको लर्को

सर्दुमा बाढी आउँदा ढुंगा संकलन गर्दै स्थानीय । तस्बिर:रोहित

धरान–ठूलो वर्षा हुन थालेपछि धरानको सर्दु खोला उर्लिएर आउँछ । त्यतिबेला धरान–११ सगरमाथा बस्तीका ६६ वर्षे चन्द्रबहादुर बिकको बेचैनी बढ्छ । वर्षा बिस्तारै कम भएपछि उनी सर्दु खोलातिर दौडिन्छन् ।

चन्द्रबहादुर बेचैन हुनु र हत्तारिँदै दौडनु सर्दु खोलाले घर र बस्तीलाई क्षति गर्छ भन्ने चिन्ताले भने होइन । ठूलो वर्षासँगै सर्दुको बाढीले मझौला खालका ढुंगा बगाएर ल्याएको हुन्छ । उनी त तिनै ढुंगा संकलन गर्न हत्तारिँदै खोलातिर दौडिएका हुन् । बर्खायाम लागेपछि जब वर्षा हुन्छ, उनी त्यसरी नै सर्दुमा जान्छन् । अनि, ज्यानले सकेसम्म किनारमा ढुंगा संकलन गर्छन् । संकलन गरेको ढुंगा एक ट्र्याक्टर बनाएर बिक्री गर्छन् ।

सर्दु उर्लेर आउँदा मनमा ढुंगा टिप्ने लालसा बोकेर छटपटिने चन्द्रबहादुर एक्ला भने होइनन् । वर्षा कम भएपछि सर्दुमा ढुंगा टिप्नेहरूको लस्कर हुन्छ । आसपासका बस्तीबाट सयौं स्थानीय बाढीले बगाएर ल्याएको ढुंगा संकलन गर्न पुग्छन् । त्यसरी ढुंगा संकलन गर्नु गैरकानुनी हो । धरानको सर्दु खोला चुरे क्षेत्रमा पर्छ । चुरे क्षेत्रमा ढुंगा, मिसगिट्टी संकलन तथा उत्खनन गर्न प्रतिबन्ध छ । असार १ देखि भदौसम्म सबै खोलाबाट ढुंगा, मिसगिट्टी संकलनमा रोक छ । तर, स्थानीयलाई कानुनले छेक्दैन । ढुंगा टिप्न पाइँदैन भनेर स्थानीयलाई रोक्न पहल गर्ने सरकारी निकाय त्यहाँसम्म पुग्दैनन् । ‘हामीलाई त बाढी आउँदा राम्रो पो हुन्छ, बाढीले ढुंगा बगाएर ल्याउँछ, त्यो टिप्छौं र बेच्छांै । बिक्री नभएको गिट्टी कुट्छौं,’ चन्द्रबहादुरले भने ।

ठूलो पानी पर्दा सर्दुले भौतिक निर्माणमा सोलिङ गर्न मिल्ने साइजका ढुंगा बगाएर ल्याएको हुन्छ । त्यही भएर ती ढुंगा चान्डै बिक्री पनि भइहाल्छ । एक ट्र्याक्टरको १ हजार २ सयदेखि १ हजार ६ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । वर्षामा सर्दुले बगाउँछ भन्ने पिरभन्दा पनि कतिपयलाई ढुंगा टिप्न पाइने भो भनेर खुसी लाग्ने गरेको स्थानीय गोपाल भुजेल बताउँछन् । ‘हाम्रो पेसा नै ढुंगा, गिट्टी कुटेर खाने हो । बाढीले राम्रा ढुंगा बगाएर ल्याउँछ, त्यसैले कति त रमाउँछन्,’ उनले भने । उनका अनुसार वर्षा भएर रोकिँदा खोलामा ४–५ सयको संख्यामा ढुंगा टिप्ने हुन्छन् । युवा, वृद्धा, महिला र केटाकेटी  पनि डोको बोकेर ढुंगा संकलन गर्न जाने गरेका छन् ।

खोलाको ढुंगा टिपेर तत्काल स्थानीयलाई आर्थिकरुपमा लाभ पुग्छ । तर, त्यसले खोला गहिरिने, दायाँ–बायाँ कटान गरेर क्षति पु¥याउनेजस्ता जोखिम बढ्छ । ‘ढुंगा ननिकाल्ने हो भने बाढीले बालुवा, गिट्टी बगाएर लैजाँदैन र जथाभावी कटान गर्ने जोखिम पनि हँुदैन । बर्सेनि तारजाली लगाइरहनुपर्ने बाध्यता पनि हुँदैन,’ किरातेश्वर कृषि सहकारी संस्थाका अध्यक्ष एवं पूर्वगोर्खा लाहुरे पुण्यबहादुर राई भन्छन्, ‘ढुंगा टिप्न रोक्नका लागि सम्बन्धित निकायले चासो दिएको देखिँदैन ।’

 

प्रकाशित: १५ असार २०७३ ०४:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App